डोटी : डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो ।
पछिल्लो समय नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको बताइएको छ । विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए नभएका बारेमा नगरपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्न थालेका छन् ।
नगरपालिकाका उपप्रमुख शिवराज खड्काको नेतृत्वको अनुगमन समितिसमेत गठन गरी नगरपालिकाले दिनहुँ अनुगमन गर्न थालेको हो । विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न नगरपालिकाले सबैमा आग्रह गरेको छ । नगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर उपप्रमुख खड्काले बताएका छन्।