राजराजेश्वरी र ललितत्रिपुरसुन्दरी दुई रानी हुँदाहुँदै रणबहादुर शाहले बिहा गरेको सुन्दरी मैथिली ब्राह्मणी बालविधवा कान्तिमति झा अचानक ईशाब्द १७९९ मा बितिन् । सबैभन्दा मन परेकी तेस्री रानीको मृत्युले विक्षिप्त बनेका रणबहादुर शाह कान्छीपट्टिकै १ वर्षे छोरो गीर्वाणयुद्धविक्रम शाहलाई राजा बनाइराखेर निर्वाणानन्द स्वामी बनेर काशी लागे । १८००-देखि १८०४-सम्म काशी प्रवासमा पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह (निर्वाणानन्द स्वामी)-ले बाजेका ससुराली काशी नरेशबाट भूमि प्राप्त गरी पशुपतिनाथ मन्दिरको प्रतिकृति बनाउने निर्णय लिए। १७९७-मा मर्ने काका बहादुर शाहले जितिदिएको त्यस बेला ठूलो नेपाल थियो । सुकेनास लागेर नेपाल फर्केपछि यिनलाई १८०६-मा सौतेलो भाइ शेरबहादुर शाहले भण्डारखाल पर्वमा टाउको छिनाएर मारे।
त्यहाँ उनका पुत्र गीर्वाण युद्धविक्रम शाहले नेपाली मन्दिर, धर्मशाला अनि आमा राजराजेश्वरी र ललित त्रिपुर सुन्दरीका नाममा राजराजेश्वरी घाट र ललिता घाट बनाए भन्छन् तर यसै भन्न सकिन्न किनभने यिनी १९ वर्ष मात्र बाँचे । बिफर (स्मलपक्स) ले २० नवम्बर १९१६-मा मरे । यिनकै पालामा नेपाल र इस्ट इण्डिया कम्पनीको युद्ध भएर २ दिसम्बर १८१५-मा सुगौली सन्धि हस्ताक्षर गरीकन ४ मार्च १८१६-मा विशोधन भएको। १८१६-देखि ४७-सम्म राजा हुने राजेन्द्रविक्रम शाहले १९४३-मा काशी नरेशबाट औपचारिक ढङ्गले भूमि ग्रहण गरे । तब नेपाली शैलीको मन्दिर बनियो । १४ सितम्बर १८४६-मा कोत पर्वबाट राणा शासन थालनी भयो, राजसत्ता नामको लागि मात्र रह्यो। १२ मई १८४७-मा राजेन्द्र मरेपछि सुरेन्द्रविक्रम राजा भए । राणाको पालामा सुरेन्द्र राजाले नेपाली मन्दिरलाई ध्यान दिन पाए कि पाएनन् कुन्नि। अङ्ग्रेज फोटोग्राफरले १८६०-मा खिचेको फोटो हेर्दा त मन्दिरको स्याहार पटक्कै पुगेको छैन। पछिल्ला राणाहरूले ध्यान दिए होलान् अथवा विक्रमाब्दे २००७ (ई.१९५०)-को क्रान्तिपछि राजाहरूले काशीमा मन दिए होला । राजा महेन्द्रले थालेको परराष्ट्र नीतिले नेपाली मन्दिरलाई पनि लाभ भयो होला । मन्दिरको देखरेख र संरक्षण दायित्व अझ नेपाल सरकारसित छ।
श्रीकाशी विश्वनाथ मन्दिर विस्तारीकरण एवं सुन्दरीकरण परियोजनाअन्तर्गत ललिता घाटदेखि मणिकर्णिका घाटको गङ्गा तटसम्म सम्पथ (गतिलो गल्ली) (कोरिडोर) बनाइँदैछ । गङ्गाजीको तटदेखि काशी विश्वनाथसम्म पुग्ने संपथको प्रमुख प्रवेशद्वार राजराजेश्वरी घाटमा हुनेछ । द्वारको अघिल्तिर गङ्गाजीमाथि १५ मीटर परसम्म मचान हालेर सांस्कृतिक गतिविधिका लागि वेदिका (प्लेटफार्म) पनि बनिनेछ । भविष्यमा ऐतिहासिक घाट अझ भव्य-दिव्य देखिनेछ।
अहिले गङ्गाजीबाट पानी उघाएर पशुपतिनाथलाई अर्पण गरेजस्तै पछि संपथ हुँदै लगेर विश्वनाथजीलाई पनि चढाए हुन्छ, विश्वनाथजी जानुपरे गोधुले र चोकका साँघुरा बाटा भएर नजाँदा पनि हुन्छ।
संपथ बनिने क्रममा नेपाली मन्दिर परिसर प्रशासनले जोगाइदिने भयो। नेपाल सरकारको पशुपतिनाथ परिसर पहिले दशाश्वमेध घाटदेखि मणिकर्णिका घाटसम्मै थियो भन्ने कुरा त अतीत भइगयो। अरू उम्के पनि अहिले ४ बिस्सा (१३५० वर्गफीट x ४ = ५४०० वर्गफीट) भूमि त छ। छेउतिर र मास्तिर संपथ क्षेत्र बनाउँदा पशुपतिनाथ परिसरका वृद्धाश्रम भवन र भान्साघर पछिल्तिरबाट प्रभावित भएका छन्। भित्ता र तल्लैपिच्छेका भित्री छाना सिलिङ चर्केका छन्। चुना र ईँटाका धुलाले बनाइएका पुराना देवाल उसै पनि थोत्रा नै भइसकेका छन्। कति खपून्! पल्लोपट्टि संपथ हुनाले यताको भवन भत्किहाले कसैले मिच्ने आशङ्का नभए पनि नेपाल सरकारले छिटै नव भवन निर्माण गरिदिनुपर्ने देखिन्छ। अर्बौँ रुपिञा खर्चेर भारत सरकारले संपथ बनाउँदा नेपाल सरकारले नेपाली शैलीमा एउटा खपालु भवन बनाइदिए हुने। पशुपतिनाथ मन्दिर छेलिराखेको ललिता घाटको विद्यार्थीबिनाको पाठशाला भवन भने संपथ परियोजनाले नै भत्काइदिएर दृश्य छ्याङ्ग देखिने भएको छ।
वृद्धाश्रम भवन संशयग्रस्त, विपत्ति-आपत्तिजनक, परित्यक हुनाले भयातुर वृद्धा आमाहरूलाई तल धर्मशालामै सारेर राखिएको छ। कोरोनाकालमा वय विचारेर वरिष्ठ नागरिकको नाताले उहाँहरूलाई प्रशासनले गङ्गास्नान गर्न, घाट घुम्न, मन्दिर जान पनि दिएको छैन। उहाँहरूसित नाचगान गरिदिन बेलाबेला पुगिदिने काहिविवि.-का विद्यार्थीहरू पनि छैनन्। धर्मशालामा तीर्थयात्रीहरू नआएका हुनाले मन्दिर व्यवस्थापनसित उति आय पनि छैन। असुविधा झेलेरै पनि यी आमाहरू नञा भवन बनिनेछ भन्ने आशामा प्रसन्न छन्।