काठमाडौंमा बढ्यो चहलपहल, के खुले के अझै बन्द नै छन् ?

काठमाडौंमा बढ्यो चहलपहल, के खुले के अझै बन्द नै छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । यससँगै काठमाडौंमा चहलपहल बढेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र गृह मन्त्रालयबाट जारी विज्ञप्ती अनुसार सुरक्षा मापदण्ड तथा भौतिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था गरेका हुन् ।

जनजीवन सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार गरी उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरिएको हो । आजदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी चलाउन पाइनेछ । आज बिजोर सबारीसाधन गुडिरहेका छन् । 

१६ सिटभन्दा बढी क्षमताका सार्वजनिक गाडीमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीमा चालकसहित बढीमा तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म राख्न पाइनेछ । अत्यावश्यक बस्तु तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका गाडीलाई जोर बिजोर प्रणाली लागू हुनेछैन । त्यस्ता गाडीले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउने छैनन् ।

उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासुलगायतका पसल बिहान ५ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसायलगायतका ढुवानीका गाडी दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवामार्फत वस्तु, परिकार तथा अन्य सेवाका लागि मध्यान्ह १२ देखि साँझ ७ बजेको समय छुट्याईएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न बिहान ११ देखि ३ बजेसम्मको समय तोकिएको छ । विभिन्न सेवामा आवद्ध कर्मचारीका लागि बिहान ९ देखि १०।३० बजे सम्म कार्यालय र दिउँसो ३।३० देखि बेलुकी ५ बजेसम्म घर फर्किसक्नुपर्ने समय तोकिएको छ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने र बस्ने व्यवस्था अनिवार्य रूपमा उद्योग परिसरमै गर्नुपर्ने छ । घर तथा भवन निर्माण कम्पनीले मजदुरका सबै व्यवस्था निर्माणस्थल परिसरमै मिलाउनुपर्ने छ।

गाडी, पसल, व्यवसाय आलोपालो गरेर सञ्चालन गर्न पाइने भए पनि भीडभाड हुने ठाउँ अझै बन्द हुनेछन् । चलचित्र भवन, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका गाडी, सामूहिक भोज, पार्टी, जात्रा, मेला, सभा, जुलुस तथा भेलालगायतका कार्यक्रम निषेध गरिएको छ ।

खेलकुद, जिमखाना, स्विमिङ पुल, मसाज पार्लर, सैलुन, स्पा, प्रदर्शनी स्थल, चिडियाखानालगायत भिडभाड हुने स्थानहरु पनि बन्द रहनछन । शिक्षण संस्था पनि बन्द रहनेछन ।