अतिक्रमणबाट जोगाउन टुँडिखेलको खुलामञ्चमा चल्यो ‘जनताको डोजर’

अतिक्रमणबाट जोगाउन टुँडिखेलको खुलामञ्चमा चल्यो ‘जनताको डोजर’

काठमाडौं : टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च सफाइ गरिएको छ ।

महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएपछि जनताले नै डोजर लगाएर सम्माएका छन् । टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु भएको अभियानका अभियान्ताहरु शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ समेत गरेका छन् । फोहोर र माटो थुपारिएर अस्तव्यस्त देखिएको खुलामञ्च डो जर लगाईएपछि सफा देखिएको छ ।

खुलामञ्चलाई मानव साङ्लोले घेरेर शुरु गरिए अभियानको छैठौं कार्यक्रमअन्तर्गत शनिबार बिहान खुलामञ्च परिसर सफा गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता साथै सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । अतिक्रमणका कारण टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो । यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान मानिए पनि अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा रहेको छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेका छन् । अतिक्रमणबाट जोगाउन माग गर्दै यसअघि अभियन्ताहरुले साहित्यिक रचना बाचन, खेलकुद लगायतका कार्यक्रम पनि गरेका थिए ।