डोल्पामा भारी हिमपात, वार्षिक परीक्षा स्थगित

डोल्पामा भारी हिमपात, वार्षिक परीक्षा स्थगित

डोल्पा : हिमपातका कारण डोल्पाका विद्यालयहरुमा वार्षिक परीक्षा स्थगित भएको छ। ठूलीभेरी नगरपालिकाका एक आधारभुत र चार माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगित भएको हो।

शुक्रबार बिहानैदेखि लगातार भइरहेको हिमपातसँगै बढेको अत्याधिक चिसोका कारण थरगाउँस्थित लक्ष्मी मावि, माझफालस्थित विद्यामन्दिर मावि, दुनैको सरस्वती मावि, जुफालको आदर्श मावि र शुभकामना आधारभुत विद्यालयको नेपाली विषयको परीक्षा स्थिगत भएको ठूलीभेरी नगरपालिका कार्यालयले जनाएको छ।

हिमपातका कारण नगरपालिकाभित्र पर्ने केही विद्यालयहरुमा परीक्षानै स्थगित गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षा समेत स्थगित गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । सबै विद्यालयको प्रश्नपत्र एउटै भएकाले केहीमा परीक्षा सञ्चालन गर्ने र केहीमा स्थगित गर्नु प्राविधिक समस्या रहेको बताइएको छ। स्थगित परीक्षा मौसममा सुधार आएपछि सञ्चालन गरिने प्रमुख रोकायले बताए। ठूलीभेरी नगरपालिकाका विद्यालयमा बिहीबार देखि वार्षिक परीक्षा सुरु भएको हो। पुस र माघमा भारी हिमपातहुने भएकाले यस क्षेत्रमा छिटो वार्षिक परीक्षा गरिन्छ।