उच्च पहाडी र हिमाली भागमा हिमपात, ठाउँ-ठाउँमा वर्षा

उच्च पहाडी र हिमाली भागमा हिमपात,  ठाउँ-ठाउँमा वर्षा

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ, उनले भने ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।