काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । शहरलाई कुरूप बनाई राखिएका विज्ञापन होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।
गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । सो निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा निकाल्ने कार्य गरिरहेको छ । गत मङ्गलबारदेखि कामपाले उक्त कार्य शुरु गरेको हो । अब कलङ्की, सीतापाइला, बालाजु, कालीमाटीलगायतका स्थानमा राखिएका होर्डिङ बोर्ड हटाइने कामपाले जनाएको छ । अहिले पुतलीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राखिएको कामपाले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।
कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि अघिल्लो सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ । तोकिएको समयभित्र नहटाए कामपाले नै हटाउने र कारवाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ । नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानसम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ ।