झापा : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब ११ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल ग्यारेज, फर्निचर उद्योग र धानको परालमा बुधबार राति ३ घण्टाको अन्तरालमा आगलागीको घटना भएको हो।
तीनवटै आगलागीका घटना नियोजित भएको प्रहरीको आशंका छ। प्रहरीका अनुसार बुधबार ९ बजे भद्रपुर ८ स्थित सगरमाथा चोक पश्चिममा रहेको मोहम्मद हुसेन अन्सारीको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ४ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार काठ र टिनले बनाएको उद्योगमा लागेको आगोले प्लाइउड, पलङ, टिभी सोकेस, कटर मेसिन, डायल मेसिन र नगद ७० हजार रुपैयाँ जलेर नष्ट भएको छ।
त्यस्तै, बुधबार राती भद्रपुर ८ स्थित अस्पताल चोकनजिकै रहेको भूपेन्द्र यादवको जनता ग्यारेजमा आगलागी हुँदा करिब ६ लाख ३९ हजार बराबरको क्षति भएको छ। टिन, बाँस र काठले बनाएको ग्यारेजमा आगो लाग्दा मोटर पार्टस, कम प्रेसर मेसिन, एक थान पुरानो मोटरसाइकल, धुने मेसिन, दराज, मेसिनरी औजार र आवश्यक कागजात जलेर खरानी भएको छ। त्यसैगरी, बुधबार राति १० बजे भद्रपुर ८ स्थित फूलबारी टोल बस्ने गंगाबहादुर खड्काको १५ मन धानको कुन्युमा आगलागी भएको छ।
आगलागीबाट करिब १५ हजार क्षति भएको प्रहरीले जनाएको छ तीनै ठाउँमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । यस घट्नाको विषयमा वडा प्रहरी कार्यालय भद्रपुरले अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।