अज्ञात समूहद्धारा संखुवासभामा वडा कार्यालय र स्काभेटरमा आगजनी

अज्ञात समूहद्धारा संखुवासभामा वडा कार्यालय र स्काभेटरमा आगजनी

संखुवासभा : संखुवासभा जिल्लाको मादी नगरपालिका–५ को बडा कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राति १२ः०० बजेतिर आगजनी गरेको हो । आगजनीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान नष्ट भएको नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने आशंक गरीएको छ । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएका छन् । आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामाले बताए । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरीएको थियो ।