'स्पुतनिक' खोपको लाभ नेपालले पाउला ?

'स्पुतनिक' खोपको लाभ नेपालले पाउला ?

काठमाडौं । चीन, अमेरिका, युरोपलाई छक्क पार्दै रुसले प्राणघातक कोरोना महामारीविरुद्धको खोप विकास गरेको छ । रुसमा विकसित उक्त पहिलो कोरोना खोपको नाम 'स्पुतनिक भी' दिइएको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो खोप दर्ता गरेको घोषणा मात्रै गरेनन्, खोपको प्रभावकारिता, सुरक्षा र विश्वसनीयता पेस गर्दै केही महिनाभित्रै सर्वसाधारणको प्रयोगमा ल्याउने दाबी पनि गरे ।

अमेरिकालगायत पश्चिमा मुलुकले कोरोना खोप विकासमा रुसले हतार गरेको र रुसी खोपको प्रभावकारिता र सुरक्षा तय नभएको बताउँदै त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएपछि पुटिनले खोपको परीक्षण आफ्नै छोरीलाई गरेको समेत दाबी गरेका छन् ।

स्पुतनिक पहिलो कृत्रिम उपग्रह हो जसको अर्थ हुन्छ, 'सहयात्री' । शरीरमा 'केरियर' र 'स्टेसन' दुवैका विरुद्ध प्रतिक्रिया विकसित हुन्छ तर केही समयका लागि हुन्छ र तीन हप्तापछि अर्को खोपको आवश्यक हुन्छ । रुसका विज्ञहरुले भनेका छन्, 'जसरी स्पुतनिक स्याटलाइट लन्चले विश्व आश्चर्य चकित भएका थिए, त्यसरी नै यो पटक पनि भएका छन् ।'

रुसको दाबी अनुसार स्पुतनिक भीले दुई चरणमा काम गर्छ । पहिलो एडेनोभाइरस हो, जसले रकेट केरियरका रुपमा अर्को हिस्सा अर्बिटल स्टेसन नाम दिइएको काभिड-१९ जिनोमलाई शरीरमा पुर्याउने काम गर्छ । त्यसैले यसलाई स्पुतनिक नाम दिइएको हो ।

इबोला र मर्स जस्ता संक्रामक रोगको खोपका लागि यसको प्रयोग भइसकेको हो । सन् १९८० को दशकदेखि काम गरिरहेकाले कोरोना भाइरस विरुद्ध छिट्टै खोप तयार गर्न सकेको रुसको दाबी छ । खोप बनाउने प्रविधि आफूबाट चोरेको आरोप लगाइरहेका पश्चिमी देशले रुस खोप विकसित गर्ने होडमा विज्ञान र सुरक्षालाई जोखिममा पारेको आरोप पनि लगाएका छन् । ब्रसेल्सका राजनीतिज्ञ अनेलिस्ट गिलबर्टले डक्ट्रोले भनेका छन्, 'यी प्रतिक्रिया अंगुर अमिलो छ भन्ने जस्तो हो । उनीहरुलाई नराम्रो लागिरहेको छ र लाज लागिरहेको छ कि रुस आफूलाई अमेरिका र युरोपियन युनियनभन्दा राम्रो प्रमाणित गरेको छ ।'

रुसी खोप प्रतिवर्ष केही करोडमात्र उत्पादन गर्न सक्ने क्षमताको छ । त्यसैले पहिले रुसी जनतामा प्रयोग गर्नेछ । सुरुमा स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ । 

कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर साढे ७ लाख मानिसको मृत्यु भइसकेको छ । त्यस्तै २ करोड ८ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ । विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ ।  अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

त्यो खोप नेपाल कहिले आइपुग्ला त ? जनता जनार्दन आशामुखी नजरले हेरिरहेका छन् । छिमेकी भारत र चीनले खोप छिटो उत्पादन नगरेको स्थिति अनि विश्वभर बढ्दो माग र आपूर्तिको अवस्था हेर्दा नेपालसँग कम्तीमा वर्षदिन पर्खनुको विकल्प हुने छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२१ को अन्त्यसम्म आर्थिक रुपमा विपन्न देश र मध्यमस्तरका देशका लागि कोभ्याक्स कार्यक्रम अन्तरगत कोरोना खोपको प्रयोग गर्ने योजना बनाएको छ । कोरोना खोपमा सबैलाई पहुँच निर्माण गर्न कम्तीमा दुई अर्ब डोज र एक खर्ब अमेरिकी डलर आवश्यक पर्ने आकलन गरिएको छ । तर त्यसमध्ये १० प्रतिशत रकम पनि नउठेको डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरसको खोप विकास गरिरहेको कम्पनीमध्येको सेरम इन्स्टिच्युट अफ इन्डियाले प्रतिडोज तीन डलर मात्र पर्ने जनाइएको छ । सेरमले एकैपटक १० करोड डोज उत्पादन गर्ने योजना बनाएको छ । जसको मूल्य तीन डलर अर्थात् नेपाली रुपैयाँ ३६० पर्न जान्छ ।

सेरमले बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनमार्फत् खोप विकासका लागि १५ करोड डलर फन्डिङ प्राप्त गरेको छ । सेरमले अक्सफोर्ड युनिभर्सिटी आस्ट्राजेनेका र नोभाभाक्ससँग खोप विकासका लागि सम्झौता गरेको छ ।