हुम्लामा भारी हिमपातका कारण जनजीवन कष्टकर, हवाई उडान बन्द

हुम्लामा भारी हिमपातका कारण जनजीवन कष्टकर, हवाई उडान बन्द

हुम्ला : हुम्लामा हिमपात सुरु भएको छ । आज बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । आज दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । हिउँ परेसँगै चिसो बढेको छ ।

हिमपातका कारण हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयर लाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । हुम्लामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि मंसिर १२ गते पनि हिमपात भएको थियो । हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।