कोरोना प्रभाव : आन्तरिक र अन्तर्राष्ट्रिय उडान अनिश्चित, पर्यटन क्षेत्र चिन्तित

कोरोना प्रभाव : आन्तरिक र अन्तर्राष्ट्रिय उडान अनिश्चित, पर्यटन क्षेत्र चिन्तित

काठमाडौं । कोरोना संक्रमित २२ हजार र मृतकको संख्या सय छुन लागेपछि 'नेपाल विश्वका लागि खुलै छ' भन्ने नारामात्र होइन, भदौ १ देखि सुरु हुने भनिएको आन्तरिक र अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित भएको छ ।

कोरोना संक्रमणका कारण लाखौं पर्यटक भित्र्याउने महत्त्वाकांक्षी नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्नुपरेको स्थितिमा संक्रमण र मृत्युदरले हवाई उडान समेत खोल्न नसक्ने अप्ठ्यारो मोडमा धकेलिदिएको छ । नेपालमा शरद ऋतुसँगै पर्यटकीय सिजन सुरु हुन्छ । त्यसका लागि अग्रिम बुकिङ हुने समयमै कोरोनाभाइरस संक्रमितको बढ्दो संख्याले चिन्ता थपिएको छ । 

गृह, परराष्ट्र, पर्यटन र स्वास्थ्य मन्त्रालयका सचिव र मन्त्रीहरूले नयाँ आपतकालीन चरणहरूको बारेमा निर्णय लिन तीन दिनदेखि म्याराथन छलफल गरिरहे पनि कुनै निष्कर्ष आएको छैन । परराष्ट्र मन्त्रालयले आगमन भिसा दिनेबारे निर्णय लिएको छैन । पर्यटक आवागमन नियमनबारे स्वास्थ्य मन्त्रालय पनि अनिर्णित छ । 

पर्यटन कोरोना महामारीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ८ प्रतिशत योगदान पुर्याउँछ । गत वर्ष चैत ११ मा लकडाउन सुरु भएपछि हवाई उडान नभएको ५ महिना भइसकेको छ । 

पर्यटकहरू नभएपछि रेष्टुरेन्ट, होटेल र पर्यटकीय सेवा क्षेत्र चर्को मारमा परेका छन् । तर संक्रमित बढ्दै जाँदा सरकारी अधिकारीहरू नै दुबिधामा फसेका छन् । वर्षमा १२ लाख पर्यटक आउने अनुमान गर्दा शरद ऋतुमा मात्रै कुल पर्यटकको एक तिहाइको आगमन हुने गरेको थियो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले साप्ताहिक प्रेस भेटघाटमा सरकार चाँडै केही आपतकालीन उपाय ल्याउने भने पनि त्यसबारे खुलाएका छैनन् । पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखा नपरेको मन्त्री खतिवडाले बताएका छन्  ।

सरकारी अधिकारीहरूका अनुसार संक्रमणको स्थिति बढ्दै जाँदा सम्भवतः पर्यटक आगमनलाई निरुत्साहित नगरी धरै छैन । लामो दूरीका यातायात र स्कूल तथा कलेज खोल्ने अवस्था आउने छैन ।

दुई साता अगाडि मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुनस्सञ्चालन गर्ने निर्णय गरेको थियो । केही सातायता विभिन्न देशमा अलपत्र परेका करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको छ ।

असहज स्थिति हेरेर दुई दर्जनजति स्थानीय तहमा अहिले पनि विभिन्न किसिमको लकडाउन जारी छ ।