सरकार कोरोना भाइरस नियन्त्रणमा असफल, चाडपर्वमा संक्रमण झनै बढ्ने जोखिम

सरकार कोरोना भाइरस नियन्त्रणमा असफल, चाडपर्वमा संक्रमण झनै बढ्ने जोखिम

काठमाडौं । सार्वजनिक यातायात निर्बाध चलेको छ । रेष्टुरेन्टहरू खुलै छन् । मानिसहरू स्वतन्त्र रूपमा घुमफिर गरिरहेका छन् । धार्मिक स्थलमा बाक्लो भीडभाड छ ।

मानौं, राजधानी काठमाडौंमा कोरोना महामारी प्रवेश गरेकै छैन । दिनहुँ ५० को हाराहारीमा नयाँ संक्रमित भेटिएको पनि यता होइन । प्रायः लाई शारीरिक दूरी लगायत निर्धारित सुरक्षा सावधानीको वास्तै छैन ।

यो हिन्दू चाडपर्वहरूको मौसम हो । सोमबार जनै पूर्णिमा मनाइयो, मंगलबार गाईजात्रा छ । लगत्तै तीज, इन्द्रजात्रा, दशैं, तिहार, छठ जस्ता अन्य चाडपर्व लस्करै छन् ।

ठूला भीडभाड हुने चाडपर्व नजिकिएसँगै जनस्वास्थ्यविज्ञहरूले मानिसहरूमा संक्रमण व्यापक हुने चेतावनी दिएका छन् । विश्वभरि नै चाडपर्वहरूको मौसम भाइरस फैलाउने जोखिमपूर्ण समय मानिएको छ ।

मानिसहरुलाई के ख्याल छैन भने लकडाउन मात्र खोलिएको हो, कोरोना संक्रमण झन् बढिरहेको छ । तर मानिसहरूले भने कोरोना भुसको आगो जसरी फैलिरहेको चटक्कै बिर्सेका छन् ।

"धेरैजसो कोरोना धार्मिक केन्द्रहरू र राजनीतिक जमघटमै प्रसारित हुन्छन्,"  संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी भन्छन् । उनका अनुसार महामारीको बावजुद धार्मिक चाडहरूको कुरा आउँदा व्यक्तिको भावना प्रबल हुन्छ । र, त्यहाँ भाइरस फैलिने जोखिम छ ।

चार महिनापछि लकडाउन खोल्दा सरकार कोरोना भाइरसको खतरा अझै उच्च रहेको सन्देश दिन असफल भएको संकेत मिलेको छ । लकडाउन हटाएसँगै संक्रमितको संख्या लगातार वृद्धि भएको छ ।

अवस्था कति विकराल भएको छ भने सरकारले अब उचित सुरक्षा प्रोटोकलको अनुसरण गर्न असफल भएका रेस्टुरेन्ट र सडक किनारका भोजनालय बन्द गरिरहेको छ । सरकारी अधिकारीहरूले अझै अर्को लकडाउन हुने चेतावनी दिइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको दिशा निर्देशन अनुसार सरकारले तोकेका आधारभूत सुरक्षा प्रोटोकलहरू हुन्- मास्क लगाउनु, साबुनले हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नु वा भीड नगर्नु र कम्तीमा तीन मिटर शारीरिक दूरी कायम गर्नु ।

वास्तवमा सावधानी अपनाउनु पर्ने जनताले नै हो । "सरकार यस रोगको जोखिमबारे सचेत छ । गर्नुपर्ने र गर्न नहुने साथ नयाँ निर्देशिका ल्याउँदै छौं," स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्छन्, “हाम्रो दृष्टिकोण के हो भने मानिसहरू मन्दिरमा जान नपरोस्। चाडबाडहरू अर्को वर्ष पनि आउँछन्। अहिले बाँच्यौं भने चाडबाड मनाउन सक्छौं ।”