समाज

महिलाको सहयोगबिना बाँच्न सक्छन् पुरुष ?

महिलाको सहयोगबिना बाँच्न सक्छन् पुरुष ?

एक दिन मलाई रत्नपार्कबाट भोटाहिटीतिर जाने विचार आयो । किनकि त्यहाँ दुईतीनवटा पुस्तक पसलमा निस्केर जाने काम थियो । पहिला बज्रबाराहीमा गएँ । त्यसपछि एमके बुक्स पब्लिसर्स एन्ड डिष्ट्रिब्युटर्समा पसेको मुकुन्दजी बसेकै रहेछन् । धेरै दिन भएको थियो भेट हुन नसकेको । लामो कुरा गरें ।

  • तपाईंसँग भेट नभएको धेरै भयो किन हो । मैले फ्रेन्ड–रिक्वेस्ट पठाएको थिएँ किन नस्विकारेको ?

उनका कुरा सुन्दा मलाई अचम्म लाग्यो- दुनियाँ साथी भए, तपाईं त आफ्नै साथी भनेर रिक्वेस्ट पठाएको छक्क पर्छु किन नस्विकारेको भनेर । उनको यो कुराले मलाई अलि हाँस उठ्यो ।

फेसबुकमा साथी बन्न अनुरोध पठाएर वा साथी बनाएर यस्तो प्रतिक्रिया दिएको सायदै पहिलो घटना हो । फेसबुकबारे र अन्य व्यावसायिक विषयमा छलफल भयो । ठीकै छ अस्ति के भो अब कन्फर्म गरौंला नि त भनें । अनि तपार्इँ फेसबुक खुब चलाउनु हुन्छ हगि ! मैले भनेँ, होइन यसो अल्छी लागेका बेला खोल्यो, रमाइलो ग¥यो ।

  • ए अरु के के हेर्नुहुन्छ त ?
  • त्यस्तो खास केही होइन कहिलेकाहीं राति २–३ बजेतिर निद्रा लाग्दैन अनि मोबाइलमा फेसबुक चलायो बस्यो, कहिले गीत सुन्यो, त्यस्तै हो, आफूले चिनेजानेकालाई रिक्वेस्ट पठायो ।

समयको गति कसरी अघि बढ्छ ? कतिपय व्यक्ति ६०–७० वर्षको उमेरमा घरमा छन्,  छोराछोरी, नातिनातिना भइसकेर पनि विवाह गरेका छन् । तर, अहिले प्रविधिले केही फरक बनायो र त्यो समय बिताउने साधन भयो । 

त्यति बेला मैले एउटा कुरा झट्ट सम्झें– ०४६ माघतिरको घटना हो, त्यसबेला देशको राजनीतिक अवस्था केही तरल थियो । राजनीतिक पार्टीहरु आन्दोलनको तयारीमा थिए । त्यसैक्रममा प्रतिबन्धित नेपाली कांग्रेसले गणेशमान सिंहको घर चाक्सीबारीमा माघ ५, ६ र ७ गते बृहत् राजनीतिक सम्मेलनको आयोजना गरेको थियो । उक्त अवसरमा देशका विभिन्न भागबाट कार्यकर्ता नेता भेला भएका थिए । त्यही सम्मेलनमा भेला भएर फर्केका एकजना नेपाली कांग्रेसका कार्यकर्तासँग मेरो भेट हुन गयो ।

ती व्यक्तिको घर मोरङको वारङ्गी गाउँमा थियो । उनी मेरा पूर्व परिचित हुन् । त्यसबेला म पनि त्यहीँ वारङ्गीको महेन्द्र मा.वि.मा पढाउने गर्थें । लामो बाटो हिँड्नु पर्ने करिब चार घण्टा जति हो । बिहान ६ बजे लेटाङबाट हिँड्दा १० देखि १०ः३० सम्ममा विद्यालय पुगिन्थ्यो । यसरी बाटामा अनेक किसिमका मानिस भेटिन्थे । बाटो काट्ने क्रममा केही राजनीतिक कुरा तिनै काठमाडौं सम्मेलनबाट आउने व्यक्तिसँग । उनी उमेरमा झण्डै ७५ वर्ष पुगेका होलान् । उनकी श्रीमती बितेको पनि त्यस्तै ५÷६ महिना भएको रहेछ । हामीले उनलाई बाबै भने पनि सबैले बुढौली भन्थे । उनका छोरालाई पनि बुढौली माइलो, बुढौली कान्छो भन्थे गाउँघरमा । बाबै जोसँग पनि गफ गर्न रुचाउँथे । त्यसैले उनीसँग गफ गर्न बडा मजा लाग्थ्यो मलाई । मैले बाजेलाई सोधेँ तपाईले त पुनः यो उमेरमा आएर बिहे पो गर्नु भएछ नि, मात्र के भनेको थिएँ । उनी त अचानक निक्कै हौसेर अलि फरक किसिमले आफ्ना कुरा भन्न थाले, 'पख है मास्टर एकछिन् यहाँ बिसाउँ है त यो भारी अनि मजाले गफ गरौं तिमेरु केटासँग । केटाहरुलाई के पो थाहा हुन्छ र हाव आरे नि गाँठे, उनले यसो भन्दा, मलाई अलिअलि डरडर पनि लाग्यो, तर त्यो चौतारीमा झोला राखेपछि उनी भन्न थाले, हेर मास्टर तिमी त भरखरको केटाकेटी छस् अहिले बूढी के हो ? श्रीमती के हो ? किन चाहियो ? केही थाहा छैन, उहिल्यै हाम्रो उमेरमा त तरुनी जत्ति पाइन्थ्यो, कति धान नाच्न हिँडियो, के कुरा गर्नु हगि तिमेरुसँग । अनि छोरीहरु ज्वाइँको घर गइहाल्छ, छोरा पनि कहाँ छ, देश परदेशमा भाको छ अनि कल्लाई पो कराउनु हाव यो मध्यरातमा, यो कुरा नसोच अब बूढी भनेको बुढेसकालको सहारा हो, उसले त आमाको जस्तै सरसहयोग गर्छु छोराछोरी त पखेटा लागेपछि उड्छ गुडमा बस्तैन, संसार घुमी खान्छ, तर आपूm त हात गोडा पनि चल्दैन राति बाहिरफेर जान पनि साथी चाहिन्छ, राति चिसो हुन्छ निद्रा लाग्दैन, अनि उठेर आगो बाल्यो चिया पकायो नभए तातो पानी खायो जीउ तातो हुन्छ अनि सुत्यो, यस्तो सहयोग कल्ले पो गर्छ र म बूढोलाई । अनि ओछ्यान पनि कहिल्यै तात्दैन एक्लै सुत्यो भने, त्यसैले आफूलाई सहयोग गर्ने साथी ल्याएँ हाव मास्टर । तिमेरु के के भनी पठाउँछस् है ? आफ्नो दुःखसुखको कुरा मिल्ने एकजना दुःख पाएको मुन्छे भेटें मेरो कुरा सप्पै भनी पठाको, ऊ त मानी पो हाल्यो, अनि ल्याएँ नि हाव मास्टर, नरिसा है बुढौलीले यसो भनो भनेर ।'

अनि मलाई लाग्यो, बुढ्यौली उमेरमा मानिसलाई प्रायः अनिद्राको समस्या छ । त्यसमा पनि अझ एकल जीवन बिताउनेका लागि छेउमा बसेर उनीहरुको कुरा सुनिदिने कोही हुँदैन हाम्रो समाजमा । अहिलेको समयमा समाज खुम्चिँदै गयो, घर परिवारका सदस्य अति व्यस्त हुँदै गए, कसैका कुरा सुन्ने फुर्सद छैन । पहिले त अलि सामान्य थियो परिवार । यी बूढा बाबैका कुराले मलाई भित्रदेखि सताइरहेको थियो । अनि मैले यी एकल जीवन बिताउने बूढाबूढीको विषयमा केही अध्ययन गरुँजस्तो लागेर केही त्यस्ता व्यक्तिसँग भेट गर्ने योजना बनाएँ । त्यही क्रममा नगेन्द्र शर्मासँग पनि भेट भयो ।

नगेन्द्र शर्माकी श्रीमती पनि त्यस्तै २०६६ सालमा बितेकी थिइन् । उनी विगत आठ वर्षदेखि एकल जीवन बिताइरहेका थिए । यस विषयमा उनलाई सोधेँ, आफ्नो एकल जीवनबारे शर्मा (८८) भन्छन्, 'आज म नितान्त एक्लो भएको छु, आफ्नै मनको घना जङ्गलमा, तर हराएको भने छैन हराउनु त बेवकूफी, अज्ञानता, दुख, कष्ट र पीडा पनि हो । एक दिन त म पनि जानु नै छ । अनि सम्झन्छु दुनियाँमा कसका श्रीमान् र श्रीमतीसँगै गएका होलान् र ! अपवाद बाहेक । अघि पछि त अवश्य होइन्छ नै, यो कुनै अनौठो र ठूलो कुरा पनि होइन, तर जसको सवालमा पनि बुढेसकालको एक्लो जीवन नमिठो चाहिँ हुँदो रहेछ नै । चल्दै गरेका दिनमा भोगेका सुखदुखका अनुभव र अनुभूति बाँढ्न अघिका दिनमा भन्दा पछिल्ला दिनमा साथीको अभाव झन् खड्किँदो रहेछ । अहिले मलाई त्यही लागिरहेछ, जीवनको उत्तरार्धमा त झन् बढी सहाराको आवश्यकता पर्दो रहेछ ।'

मानिस भन्छन्— भौतिक सम्पन्नताले जीवन सुखी हुन्छ । तर यो भ्रमजस्तै लाग्यो मलाई । किनकि कुनै वस्तु आफैँ कुदेर आउँदैन, त्यो पनि ल्याइदिने साथी चाहियो, आफ्नो भनेको कुरा बुझिदिने, चिसो–तातो समय अनुसारका बनाइदिने सहयोगी हुँदा बेग्लै आनन्द हुन्छ । फेरि रोग लागेको छ भने अझ आफ्नो जीवनसाथीको अभाव खट्किँदो रहेछ । यस्तो दुःख त कसैले भोग्नु नपरोस् । जीवनको आनन्द ता भावना मिल्ने साथी पो रहेछ । अझ उनी भन्छन्, जुन घरमा महिला सदस्य छैनन्, त्यो त बत्ती नबलेको घरजस्तै लाग्छ ।

वास्तवमा नगेन्द्रका घरमा पनि महिला सदस्य छैनन् । एउटी भएकी छोरी पनि दूरदेशमा छिन् । छोराको नाम सफल भए पनि जीवन असफलजस्तै भयो, बुहारी देख्न पाएनन् । साँच्चै भन्ने हो भने उनका घरमा बाबुछोरा मात्र छन् । अरु आउने जाने क्रम त यथावत् छँदैछ । यी कुराले मलाई कता कता अतीतमा पु¥यायो । जसले जति ठूला कुरा गरे पनि जति नै ठूलाबडा भए पनि नियति भन्दा ठूलो शक्तिशाली के होला र ! यी सारा जगत्मा प्रकृति र पुरुषको साम्राज्य चलेको छ, यिनलाई जसले संयोजित किसिमले परिचालन गरेको छ त्यसको जीवन सफल होला, तर त्यो भनेजस्तो नहुँदो हो त उसले दुःख खोज्न कहीँ जानै पर्दैन, ऊभित्रै दुःखको भण्डार छ ।

कुनै परिवारमा श्रीमान्–श्रीमती हुँदाको अवस्थामा जुन किसिमको सहजता हुन्छ, पारिवारिक जिम्मेवारी पनि त्यति नै बाँडिएको हुन्छ, तर श्रीमान् वा श्रीमती बितेपछि घरको वातावरणमा केही असहज भइहाल्छ ।

यस्ता घटना हाम्रो समाजमा प्रशस्त छन् । कतिपयका घर परिवारमा सन्तान जन्मनुभन्दा ६ महिना पहिले नै श्रीमान्को देहावसान भएको छ । त्यसपछि ती महिलाको अवस्था श्रीविहीन हुन पुग्यो, कपाल काटियो, चुरा, पोते, सिन्दूर, टीका, नाक कानमा लगाएको सारा कुरा खोसेर उनलाई नाङ्गो बनाउने काम भयो । तर त्यही ठाउँमा श्रीमतीको देहावसान भएको भए उनका श्रीमान्को अवस्था त्यस्तो हुन्थ्यो होला त ? मुख्य कुरा यहाँ छ । हाम्रो सामाजिक संरचनाको मूल प्रश्न यहीँ छ । एउटी १२ वर्षकी बालविधवाले त्यो अपरिचित पुरुषका नाम कपाल काट्नुपर्ने, आजीवन वैधव्य जीवन बिताउनुपर्ने अनि प्रत्येक वर्ष उसका नाममा श्राद्ध पनि गर्नुपर्ने, तर यदि त्यही पुरुषकी श्रीमतीको देहावसान भएका खण्डमा उसले वर्ष दिन नपुगी विवाह गथ्र्यो र कहिल्यै पनि त्यो स्वर्गीय श्रीमतीका नाम एक छाक पनि बस्दैनथ्यो ।

त्यस्तै अर्को कुरा त्यही घरमा १०–१२ वर्षमा विधवा भएका दिदी बहिनी छन् तर आफ्ना दाजु वा भाइले भने दुई वा तीनवटीसम्म विवाह गरेर ठाँटसँग बस्छ । त्यतिबेला समाज मुकदर्शक हुन्छ । हामी पनि त्यही समाजमा बसेका छौं । एक शब्द बोल्ने शक्ति छैन । अनि समानताका कुरा गर्छौं । के समानता भनेको सम्पत्तिमा, पदमा अथवा शिक्षामा भएर हुन्छ ? समानता भनेको जीवनमा हुनुपर्छ। जीवनको मर्म बुझ्नुपर्छ र मात्र समाज रुपान्तरणको बाटामा लाग्छ । समाजमा अहिलेसम्म यही विभेद छ ।

त्यस्तै अर्को घटना अरु पाँचजना छोराछोरी भएकी विधवा महिलाका बारेमा अध्ययन गरियो । ती महिलाको उमेर २५ वर्षको थियो । तिनको रेखदेख पालनपोषण गर्न एकल महिलालाई कति समस्या प¥यो होला । ती छोराछोरीले आफ्ना बाको काजकिरिया कसरी गरे होलान् । आमालाई आफ्नो जीवनको सङ्घर्ष त छँदै छ, अर्कातिर ती अबोध बालबालिकाको भविष्यमा ध्यान दिन कति कठिन भयो होला । तर पनि त्यो विधवा भएका बेला अधिकांश महिलाले यी समस्या बेहोरेर आफूलाई एउटी आदर्श आमाको रुपमा उभ्याएका थिए ।

कतिपयले त श्रीमान् बितेको ३–४ महीनापछि बच्चा जन्माएका घटना थिए । उनको भावना अटल र धैर्यताका साथ आफ्नो जीवन बिताए, तर कहिल्यै एक्लै भएको महसूस गरेनन् । हाम्रो समाजमा 'बाबु मरे आधा टुहुरो, आमा मरे सिङ्गै' भन्ने आहान छ । तर ती आधा टुहुरा छोराछोरीको अवस्था व्यवस्थित गर्न ती एकल आमा (महिला) लाई कति कठिन भयो होला त्यो समयमा ? उनलाई सहयोग गर्न कतिको ध्यान गयो ? आज ती घटना सम्झिँदा पनि कहाली लाग्छ ।

तर एकल जीवन बाँच्न के महिला, के पुरुष सबैलाई त्यत्तिकै कठिन हुन्न र ? तर पुरुषहरु आफ्ना छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना हुँदाहुँदै पनि श्रीमती बितेको एक महिना नबित्तै विवाह गर्ने सुर कस्छन्, केटी खोज्छन् । उमेरसँगको कुरै हुन्न । ५०–६० त के, ७५–७५ वर्षका पुरुषले पनि आफूभन्दा २५ वर्ष कान्छी कन्यासँग विवाह गरेका प्रशस्त उदाहरण छन् । तर यही हाम्रो समाज हो, बिहे गरेको महिना दिन नबित्तै श्रीमान्को मृत्यु भयो भने कुनै पनि अभिभावक (बाबु–दाजु) ले त्यो छोरी वा बुहारीको जीवनप्रति र उसको भविष्यप्रति एक शब्द बोल्दैनन्, त्यो बालविधवा दिदीबहिनी, भाउजु, बुहारीकाबारे कसैले केही बोल्दैनन् । के उनीहरुको चाहिँ जीवन हुँदैन ? उनमा रहर हुन्न । यस विषयमा केही यस्ता उदाहरण छन् जुन कुराले कतिलाई पत्यारिलो नलाग्न सक्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सिलसिलामा कतिका श्रीमान् मारिए त कतिले वैधव्य जीवन बिताउनु पर्यो ? कतिका श्रीमान् खराब आचरणका कारण घर परिवारप्रति गैरजिम्मेवार भएका छन् । त्यसकारणले उनीहरुको जीवन पनि सङ्घर्षपूर्ण हुँदै गयो ।

यहाँ एकजना एकल महिलाको सङ्घर्ष गाथाको कस्तो रहेछ उदाहरणको रुपमा राखिएको छ । विवाह हुँदा शारदा झा १३ वर्षकी थिइन् भने भरत १५ वर्षका । २०१६ मा आमा बितेपछि ८ महिनाको भाइको हेरविचार गर्ने जिम्मा पनि शारदामा नै आयो । त्यसैले उनीहरुसँगै बस्न पाएका थिएनन् । २०१८ सालमा भरतगोपाल जेलमा थिए, कैयौंपटक भेट गर्न शारदा (श्रीमती) गइन् तर भेट्न दिएनन् । २०२० साल चैत्र २६ गते शारदा आफ्ना श्रीमान् बितेकोजस्तो आभास भएर वीर अस्पताल जाँदा भरतले ओढ्ने गरेका कम्बल र तन्ना गुट्मुट्याएर राखेको देखेपछि शंका लागेर मूर्दाघर गएर हेरिन् । त्यहाँ श्रीमान्को लास देखेर उनी मूर्छा परिन् । शारदाका श्रीमान् भरतगोपाल झाको पञ्चायती सरकारले हत्या गरेको कुरा खुल्न आयो ।

त्यसका अनेक कथा छन् तर यहाँ उनले लेखेको कथाको सानो अंश छ, श्रीमान्को देहावसानपछि उनले त्यो पीडा खप्न नसकेर अनेक विकल्प सोचिन्, आखिरमा जसरी भए पनि जीवन धान्नु नै प¥यो, संसार सम्झेर उनी भन्छिन्, म चाँहि अब विधवा भएर बाँच्नुभन्दा मर्नु जाति भनेर चारदिनसम्म अन्न खाइनँ । प्यास लाग्थ्यो, पानी एक घुँट पिउँथे । मर्नु त छ नै, यही निश्चय गरेकी थिएँ । चौथो दिनमा देवर भरतपुरबाट आइपुगे । उनले हामी छैनौं र ? हामी तपाईलाई हेर्छौं भने । यहाँ त हामीले लासको सद्गतिसम्म गर्न पायौं । त्यहाँ खाल्डो खनेर मानिसलाई तिमीहरु माफी माग्छौ कि गाडौं भनेर पुर्ने काम भयो । यस्तो अत्याचार भएको छ सन्तोष गर्नुस् । हामी हेर्छौं भनेर सान्त्वना दिए । उनको करमा परेर त्यो दिन मैले दूध रोटी निलेँ तर १३ दिनको काम सकेपछि झुण्डिएर मर्छु भन्ने कुरामा अडिग थिएँ ।

१३ दिन बित्यो, झुण्डिएर मर्छु भन्ने अठोट थियो । कोठामा एक्लै पल्टिबस्थेँ कि पढिबस्थेँ । साथी मन्दिराले किताब ल्याई दिन्थिन् । राति पनि अबेलासम्म टुकी बालेर पढिबस्थेँ । भोलिपल्ट यसको लोग्नेले कमाएको होइन, तैपनि मट्टितेल खर्च गर्छे भनेर सासुससुरा कुरा काट्थे । मलाई गाह्रो थियो । पानी लिन गएँ भने टोलछिमेकका आइमाईहरु तपाई नआउनुहोस् बज्यै, बरु सासूनन्दहरु पठाउनुस् भन्थे । तिनीहरु मेरो अनुहार हेर्न चाहँदैनथे । सासूससूरा चाहिँ के तेल्लाई काम नगराइकन, अर्घासनमा राखेर खान दिऊँ त भन्थे । उदास भएँ भने यस्तो अलच्छिनको अनुहार हेरिबस्नु परेको छ भन्थे । उज्यालो अनुहार लायो, यसलाई के नपुगेको छ र, बाउको कमाई छँदैछ, लोग्ने मरेर के भयो त भन्थे । जे गर्दा पनि मैले सुन्नुपथ्र्यो सहनु पथ्र्यो । यो एउटा सन्दर्भ घटना हो ।

त्यस्तै अर्को कथा हो, भोजपुरकी सुशीला चापागाईँको बिहे भएको ४–५ वर्ष त माइतमै बसिन्थ्यो त्यो बेला । त्यसपछि मैतालु पठाउने चलन थियो । यो कुरा भोजपुरकी सुशीला चापागाईंलाई पनि यस्तै गरियो । उनको विवाह ११ वर्षको उमेरमा भएको थियो । चार पाँच वर्षपछि मैतालु पठाउँथे । उनी भन्छिन्— मैतालु पठाएको ६÷७ वर्षसम्म संगोल परिवारमा बित्यो । दुलाहाको माया कस्तो हुन्छ भन्ने कहिल्यै अनुभूति भएन । आपूmले माया दर्शाउने अवसर पनि मिलेन । कलिलो उमेरमा पिरैपिरको जीवन भोग्नुपर्यो ।  ४–५ वर्षपछि निरन्तर हिंसाको प्रताडना भोग्नुप¥यो । श्रीमान् जाँड, रक्सी खाएर मातेर बदमासी गर्दै हिँड्ने आदतले ब्राम्हणको छोराले गति फालेको भन्ने सामाजिक अवगाल मैले सुन्नु, भोग्नु पथ्र्यो । मातेर घरमा आएपछि हातमा जे फेला पर्छ त्यही वस्तुले श्रीमती छोराछोरीलाई मारपिट गर्ने दैनिकी थियो । आपूmभन्दा काखको छोरालाई जोगाउन मुस्किल पथ्र्यो। पथभ्रष्ट लोग्नेद्वारा सौताले जन्माएको बच्चाको न्वारान गर्नसमेत जानुप¥यो । कति जना सौता थपिए थाहै भएन । यस्तो भए पनि आफ्नो लोग्नेलाई पतिपरमेश्वर मानेर बस्नुपर्ने समय थियो । शरीरभरि नीलडाम बनाइदिने लोग्नेको खुट्टाको पानी खानुपर्ने, श्रीमतीले सञ्चोबिसञ्चो, खाए नखाएको, दुःखपीर कुनै कुराको ख्याल हुँदैनथ्यो । जे गरे पनि सहनुपर्ने त्यो बेलाको सामाजिक मान्यता पुरुषलाई कुनै कानून थिएन भन्दा पनि हुन्छ ।

महिलाले कठिन जीवन भोग्नुपथ्र्यो । उल्टै महिलामाथि दोष थुपरिन्थ्यो । आपूmले जस्तोसुकै प्रताडना भोग्नु परे पनि कुनै छोरीले आँसु झारेको देख्नु नपरोस् भन्ने लाग्थ्यो बाबुआमालाई जुन समयमा मैले हिंसा भोगिरहेकी थिएँ त्यो बेला हिंसाको विरुद्धमा उत्रिन सक्ने सामाजिक वातावरण थिएन । माइतीमा आमाबुबालाई वेदना पोख्दा पनि छोरीको कर्म घर रिझाएर खाने हो भन्थे । आफ्ना कुरा सुनिदिने कोही नभएपछि भीर वा नदीमा हाम फालेर, झुण्डिएर, विष खाएर मर्नु सिवाय अर्को उपाय थिएन । जस्तोसुकै कठोर पीडा भए पनि सहेर, व्यथा लुकाएर बस्नुपथ्र्यो । घर गरेर खान नसक्ने कुलकी भनेर माइतीलाई समेत मुछिन्थ्यो । घरको प्रताडना अति भएपछि हामीले दर्शने भन्ने वनस्पतिको फल खाँदा मरिन्छ भनेर जेठानी र मैले सल्लाह गरेर खायौं । अनुहार सुन्निएर डम्म फुल्यो । मर्न सकिएन, झन् कुटाइ खानुप¥यो । एक दशकसम्म चरम हिंसा भोगेपछि अलग बस्ने निर्णय गरेर लोग्ने त्याग गरें । तर पनि सुविस्ता भएन । त्यसपछि पनि जीवन सङ्घर्षपूर्ण नै रह्यो ।

यी विषय हाम्रो समाजका जीवन्त समस्या हुन् । हाम्रो समाज बाहिरी हेर्दा केही परिवर्तन भएजस्तो देखिन्छ, तर सारमा अहिले पनि समाजको अवस्था सत्ययुगजस्तै छ । अहिले पनि महिला हिंसाका समाचार सञ्चार माध्यममा सुनिन्छन् । दाइजो प्रथा, छाउपडी, बलात्कार र बहुविवाहका घटना नभएका दिन छैनन् । यी कर्मले हाम्रो समाज कहिले सभ्य होला भन्ने लाग्छ ।

त्यस्तै अर्को कथा छ, कल्पना योङहाङको । कल्पनाको विवाह १५ वर्षको उमेरमा भएको हो । उनी पाँचथरकी एक महिला हुन् । उनका दुईजना सन्तान छन् । उनका पति आफू २२ वर्षकी हुँदा परदेशिएका रहेछन्, अहिलेसम्म फर्किएनन्, कुनै सम्पर्क छैन । पुख्र्यौली सम्पत्ति खासै नभए पनि दुःख जिउलो गर्दै छोराछोरी पढाउँदै आएँ भन्छिन् । उनको जीवन कहानी कहालीलाग्दो देखिन्छ । कुनै आधारविहीन अवस्थाबाट जीवनलाई धानेकी एकल महिलाले, करिब २० वर्षको सङ्घर्षका क्रममा कहिले चिया पसल खोलिन् त कहिले किराना पसल खोलेर जीविका चलाइन् । सङ्घर्षकै क्रममा विदेशबाट सामान ओसार्ने काम पनि गरेको सुनाउँछिन् । दुःखका अनेक पत्र छन् । जुन दुःख सुन्यो उस्तै कहाली लाग्ने । आफूसँग सम्पत्तिको स्रोत नभएपछि त दुःख खोज्न अन्यत्र जानै पर्दैन नि उनी भन्छिन् । तर पनि उनको साहस गज्जबको छ । गरेर खाने र केही सामाजिक सेवा गर्ने । उनी भन्छिन्— गरी खान त पाखुरी हुँदै हुन् नि । त्यसैले उनले सहकारीबाट १५०००।– ऋण लिएर नेपाली घरबुना कपडा बुन्ने काम थालिन् । यो उनको आफ्नो पहिचान पनि थियो । एउटी लिम्बूनी छोरी जो हिजो पनि पहाडी भेगमा तान बुनेरै खान्थे । हिजोको दुखको पहाड सम्झिँदा कहाली लाग्छ भन्छिन् उनी । तर हिजो आफू कसरी बाँँच्ने चिन्तामा रहेकी कल्पना आज आएर दुई सय जनालाई बाँच्ने आधार दिएकी छिन् यो उनको साहस र धैर्यता देख्दा संसारमा निराशा र कुण्ठा मात्र छैन यहाँ त साहस, धैर्य र अठोट पनि छ भन्ने कुरा उनको साहसले देखाउँछ ।

यी घटना हेर्दा के देखिन्छ भने हाम्रो समाज पितृसत्तात्मक भनिए पनि पुरुषको अवस्था निरीहजस्तो छ । यहाँ हामीले एकल महिला र एकल पुरुषबारे मात्र अध्ययन गर्न खोजिएको होइन, समाजको अवस्थालाई नियाल्न खोजिएको हो । एकल पुरुषहरु महिला बेगर केही गर्नै नसक्ने जस्ता देखिन्छन् । तर महिलाको अवस्था साहसिक छ । केही अपवादलाई छाडेर महिलाले आफ्नो धैर्य छोडेका छैनन् । कति महिलालाई मारिएका, खोलामा बगाइएका, आगो लगाइएका घरबाट खेदिएका घटना नभएका होइनन् तर अधिकांश पुरुषको अवस्था महिलाबिना कमजोर नै छ, यो प्राकृतिक रुपले होस् वा सामाजिक कारणले होस् । तर जीवनमा संघर्ष गर्ने कुरामा महिलामा दृढता र साहस बढी देखिन्छ । पुरुषमा त्यो छैन, पुरुष त गरिखान सकेनन् भने जोगी भएर भिख मागेर हिँडेका छन् । पुरुषको तुलनामा महिला जोगी हुने भिक्षा, मागेरै जीविकोपार्जन गर्ने कम छन् । पुरुषको सहयोगबिना महिला बाँच्न सक्छन् तर महिलाको सहयोगबिना पुरुषलाई बाँच्न कठिन छ, चुनौती छ ।

यहाँनेर के भन्नुपर्छ भने श्रीमती बितेपछि तत्कालीन अवस्थामा अधिकांश पुरुष विक्षिप्त भएर नै श्रीमतीका नाममा अथवा प्रेमीकाका नाममा अनेक कृतिको रचना गरेका छन् । पूर्वीय साहित्यमा नै हेर्ने हो भने कालीदासले मेघदूत लेखे, मोतीरामले पिकदूत लेखे, माधव घिमिरेले गौरी लेखे भने लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्यमा मुनाको देहावसान हुँदा मदनले ठूलो घात गरेका छन् । तर महिलाले यसरी आफ्नो श्रीमान् बितेका विषयमा कुनै त्यस्तो काव्य लेखेको थाहा छैन । अझ यस विषयमा अध्ययन गर्दा कतिपयका श्रीमान्ले सामान्य साक्षर महिलालाई विवाह गरेर ल्याएपछि उनलाई पढाइलेखाइ गरी स्नातकोत्तरसम्म पढाउने काम गरे पनि मैले श्रीमान्का कारणले उच्च शिक्षा हासिल गर्न पाएँ, मेरा श्रीमान्प्रति आभारी छु भन्न मन नलाग्ने महिला भेटियो । यो समाजमा देखिएको खाल्डो नै मान्नुपर्छ । चाहे श्रीमान् बितेर जाऊन् वा अरु नै कारणले सम्बन्ध विछोड होओस्ले कुनै पनि महिलाको सहानुभूतिपूर्ण लेखाई भेटिएन । यस अध्ययनले के देखायो भने श्रीमान्–श्रीमतीको सम्बन्ध त अत्यन्त रहस्यभित्र गुजुल्टिएको फर्सीको लहरोजस्तो रहेछ, कहिल्यै जरो भेट्न नसकिने, जति तान्यो बीचमै चुँडिने ।

महिला–पुरुषकाबीचको सम्बन्ध फर्सीका लहराले भुइँमा अलिअलि जरा लगाएजस्तो हुन्छ तर त्यो नै उसको मूल जरो होइन । जरो त कहाँ छ कहाँ ? यो सम्बन्ध पनि त्यस्तै हो । कहीँ कतै सुख–शान्ति छैन । फेरि नभई पनि भएको छैन ।

सानातिना मतभेद ठाक्कठुक्क जहाँतहाँ छन् । उहिले उहिले त रातदिन झगडा कुटाकुट नै हुन्थे । भनाइ नै लोग्ने–स्वास्नीको झगडा परालको आगो । तर आज त्यो अवस्था रहेन, किनकि एउटा सानो कुरामा विमति भयो कि पारपाचुकेतिर लाग्छन् । यही हो त समस्याको समाधान र अर्को कुरा पारपाचुके गरेर बसेका महिलाको पनि जीवन कहाँ सुखी छ र ! उनीहरु त प्रायः कुण्ठा बोकेर बसेका छन्, हिजोका दिनलाई धारे हात लाउनुबाहेक अरु केही सिर्जना गरेका छैनन् । गरे त त्यही पारपाचुके गरेका श्रीमान्लाई सरापेर आफ्नो समय खेर फालेका छन् । 

यहाँ भन्न खोजिएको कुरा के हो भने पुरुष पात्र किन त्यो अवस्थामा पुगेका हुन् त ! महिलाभित्र जुन साहस छ, त्यो साहस पुरुषमा किन छैन ? यो प्रश्न मैले साहित्यकार माया ठकुरीलाई सोधेको थिएँ । यसमा उनका भनाइ छन्— नेपाली समाजले नै पुरुषलाई निरीह बनाएको हो, घरभित्र छोरालाई कुनै जिम्मेवारी छैन, छोरामान्छेले घरभित्रको केही काम गर्नुहुन्न भन्ने धारणा सानैदेखि उसको दिमागमा हालिन्छ । घर बढार्नेदेखि आफ्ना कपडा धुने आफूले खाएका थाल सफा गर्न पनि छोरालाई लगाइन्न, त्यसैले पुरुषलाई सांस्कृतिक रुपमै अपाङ्ग बनाइएको छ । यी र यस्तै कारणले जीवनको उत्तरार्धमा एकल जीवन बेहोर्नुपर्दा पुरुषका लागि भयानक अन्धकारजस्तो हुन्छ । र नै विधुरहरु विवाह गर्न अथवा साथ सहयोगका लागि कुनै न कुनै आधार खोज्छन् । यस विषयमा पनि हामीले बहस चलाउनुपर्छ । यसको आशय पनि यही हो ।