सौगातबाट समाइरा, समाइराबाट सत्याग्राही

सौगातबाट समाइरा, समाइराबाट सत्याग्राही

एकाबिहानै मोबाइलमा बजेको राशिफल नोटिफ़िकेसनले मलाई ब्युँझायो। आँखा मिच्दै मोबाइलको स्क्रिनतर्फ लागेँ। राशिफल सँगसँगै नेपालका समाचारहरुको लाम लाग्न थालिहाल्यो। त्यही लामहरुको कुनापट्टि रहेको एउटा भिडियो न्युजतर्फ मेरो आँखा गयो। पहेँलो कुर्ता र आँखाभरि आँसु भएकी एउटी युवतीलाई दुई जना सहयोगी मिलेर एम्बुलेन्सभित्र लाँदै थिए। त्यो दृश्य हेर्न थुप्रै मान्छेहरुको भिड देखिन्थ्यो। ती युवतीले गरेको राम्रो कार्यले खुसी देखिएको भिडले उनको हौसला बढाउनका लागि ताली बजाए। उनी भने भावुक हुँदै एम्बुलेन्सभित्र पसिन्। भिडियोमा देखाइएकी ती युवतीको अनुहारसँग केही वर्षदेखि नै म परिचित थिएँ।

खासमा उनी 'इनफ इज इनफ' अभियान अन्तर्गत १० दिनदेखि खाना र पानीबिना सत्याग्रहमा बसेकी समाइरा प्रधान श्रेष्ठ थिइन्। मोड्लिङमा धेरै नै रुचि भएकी समाइरासँग मेरो भेट करिब ४ वर्षअघि नेक्स्ट टप मोडल अफ नेपाल- २०१६ मा भएको थियो। उनी प्रतिस्पर्धीका रुपमा त्यस कार्यक्रममा भाग लिइरहेकी थिइन् भने म चाहिँ मेरो मित्र प्रमोद वंसल, जो त्यस कार्यक्रमका कोरियोग्राफर थिए, उनैलाई भेट्न लाजिम्पाटस्थित वर्कसपमा पुगेका बेला संयोगबस उनीसँग पनि चिनापर्ची भयो तर परिचय आदानप्रदान आज उनलाई देखेको भन्दा धेरै नै भिन्न थियो। त्यो बेला समाइरा, समाइरा नभईकन सौगातका रुपमा थिए। उनी नेक्स्ट टप मोडल अफ नेपालका पुरुष प्रतिस्पर्धीमध्येका एकका रुपमा आफूलाई चिनाउँथे।

नेपाली मोड्लिङमा केही गर्ने र बन्ने सोचले उनलाई प्रतिस्पर्धा सकिएपछि पनि छोडेन र उनी हाउस अफ फेसन नेपाल नामक संस्थासँग जोडिएर र फ़्रिलाइन्सर कोरियोग्राफर भएर काम गर्न थाले। उनी आफ्नो सपना साकार गर्दै, आफ्नो लक्ष्यमा पुग्दै थिए। तर आफूभित्र गुम्सिएर बसेको महिलारुपी चाहना र पहिचान समाजसामु ल्याउन नसक्दा उनलाई दिनदिनै मरेर बाँचेको जस्तो हुन थाल्यो।

समाजको डरले थुप्रै समलिंगी तथा तेस्रोलिंगीहरू आफ्नो पहिचान खुलाउन चाहिरहेका छैनन् तर एलजीबीटीआई समलिंगी वा तेस्रोलिंगी पनि समाजकै हिस्सा हुन् र उनीहरू लैंगिक रूपले फरक भए पनि अरूजस्तै जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने देखाउनका लागि परिवारको प्रेरणा अनि साथीभाइको सहयोगले सौगात, समाइरामा परिणत भइन्।

उनलाई यो निर्णय लिएर अघि बढ्न भने हामीले सोचेजस्तो सजिलोचाहिँ बिल्कुलै भएन। कतिले कुरा काटे, प्रेरणाका स्रोत बनेका परिवारको खिल्ली उडाए, उनलाई हतोत्साहित गर्न धेरैले खोजे तर उनी हारिनन्। झनै आत्मबल दह्रो पारिन्। आफ्नो सपना र पहिचान जोगाउन संघर्ष गर्दै अघि बढिन्। उनले पहिचान परिवर्तनपछि खोलेको आफ्नो युट्युब च्यानलबाट धेरै सन्देशमूलक र मोटिभेस्नल सामग्रीहरु दर्शकसामु ल्याइरहेकी छन्।

त्यो सँगसँगै वसन्तपुरमा इनफ इज इनफ नामक अभियानमार्फत सामाजिक अभियन्ताका रुपमा दस दिनसम्म बिना पानी र खाना खाएर, सरकारलाई झकझकाउन उनले सत्याग्रह गरेकी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने अहिले उनको स्वास्थ्य स्थिति ठिक रहेको छ। उनी जस्तै अरुले पनि आफ्नो पहिचान लुकाएर भन्दा पनि समाजसामु आएर देखाउने हो भने लैंगिक मतभेदको अन्त्य गर्न सकिन्छ। समाइरा एउटा इन्स्पिरेसनका रुपमा हामीमाझ खडा भएकी छन्, अझै बढी हौसला र साथ दिने हो भने हामी नेपालीको शिर अझै उच्च राख्न उनको प्रतिभाले पनि मद्दत गर्नेछ।

समाइरा मैले पहिले देख्दा जस्तो थिइन्, त्यस्तै छिन्, बरु पहिलेभन्दा अहिले झनै राम्री र प्रतिभाशाली देख्छु। फरक यति मात्र भएको छ कि पहिले उनलाई म भाइ भनेर सम्बोधन गर्थें भने आज म बहिनी भन्छु। तर यसले मलाई खुसी मात्र होइन गौरवान्वित पनि बनाएको छ।