‘स्‍नातकोत्तर तहमा नापनक्सा सम्बन्धी पढाइ’हुने : मन्त्री अर्याल

‘स्‍नातकोत्तर तहमा नापनक्सा सम्बन्धी पढाइ’हुने : मन्त्री अर्याल

काभ्रेपलाञ्चोक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले नाप, नक्सा सम्बन्धी स्‍नातकोत्तर तहमा पनि पढाइ सुरू गर्ने बताएकी छन् ।

धुलिखेलमा मंगलबार आयोजित नापनक्सा सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी पाठ्यक्रममा स्नातकोत्तर तहमा समावेश गरिने बताएकी हुन् । नापनक्सा सम्बन्धी प्रविधि अन्तर्राष्ट्रियस्तरको बनाइने बताउँदै मन्त्री अर्यालले अन्तर्राष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नवीनतम प्रविधि एवम् अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन् ।

मन्त्री अर्यालले नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न आग्रह गरेकी छन् । ।त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो ।

गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।