ट्रेकिङ व्यवसायमा मासिक १० अर्बको क्षति, हातमुख जोड्नै नसक्ने अवस्थामा पुगे टुरिष्ट गाइड

ट्रेकिङ व्यवसायमा मासिक १० अर्बको क्षति, हातमुख जोड्नै नसक्ने अवस्थामा पुगे टुरिष्ट गाइड

काठमाडौं । पर्यटकलाई नेपालको प्राकृतिक सुन्दरताको वर्णन गरी नेपाल चिनाउँदै हिड्ने काठमाडौंका अशोक सिलवाल अहिले भने घरभित्रै छन् । डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट देखिएको कोभिड-१९ ले उनका व्यस्त दिनहरु खोसिदिएको हो । कोराना महामारीले पर्यटकसँग उनले विताएका रोमाञ्चक पल त खोस्यो नै, अब कहिलेसम्म नेपाल चाहार्ने मौका नजुर्ने हो ? त्यो पनि थाहा छैन ।

'चार-पाँच महिना काम गरेर वर्षभरिका लागि खर्च पुर्याउने पेशा अँगालियो । धेरै काम पाउने समयमै खाली बस्नुपरेको छ,' उनले भने । नेपालका विभिन्न क्षेत्रमा सरकारले लकडाउन घोषणा गरेपछि कोराना कहर शुरु भयो । तर पर्यटन क्षेत्र र त्यसमा पनि टुर गाइडको पेशा भने चीनमा कोरोना देखिने वित्तिकैदेखि नै सुस्ताउन थालेको उनले बताए ।

पर्यटनसँग जोडिएका विभिन्न संस्थाहरुमा सम्बद्ध अशोक सिलवालले करिब एक दशकदेखि विभिन्न देशका पर्यटकलाई नेपाल घुमाउँदै आएका थिए । ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवाल टूर तथा ट्रेकिङ गाइडलाई नै मुख्य पेशा बनाएकालाई कोराना महामारीले गम्भीर असर पारेको बताउँछन् ।

उनी भन्छन्, 'कोरानाको हल्ला चलेदेखि नेपाल घुम्न आएका पर्यटक धमाधम आफ्नो देश फर्कन थाले, अब कोरोनाको रोकथाम भए नै पनि तत्कालै घुम्न आउने कोही हुँदैन । यस पेशाकै भरमा गुजारा गर्नेहरुको जीवन दिनहुँ गरिबीको जोखिमतर्फ धकेलिँदै जाने अवस्था आएको छ ।'

कोरोना महामारी नभएका भए तनहुँ, बन्दीपुरका रेशम थापा विदेशी पर्यटकको भारी बोकेर पदयात्रामा खटिएका हुन्थे । कामको चापाचाप पर्ने याममै काम नपाएपछि उनी दिनभर मोबाइल चलाएर बस्छन् । चीनमा कोराना फैलिएको महिना डिसेम्बरदेखि नै उनी फुर्सदिला छन् । न त भारी पर्यटकसँग भारी बोकेर पदयात्रामा जान पाए, न त घरमा बस्दा ढुक्क छन् । उनले भने, 'केही महिना त महामारी रोकिएला र पुरानै काम फेरि पाइएला भन्ने थियो तर अ त त्यो आशा पनि हरायो ।'

'पर्यटनका लागि उपयुक्त समयमा समेत महिनौं काम पाइने छाँटकाँट नदेखिएपछि उनको मनको हुटहटी झन बढेको छ,' भन्छन्, 'सिजनको बेला त काम पाइएन, अब वर्षभरको घर खर्च कसरी पो चलाउने हो ?' कोरोना भाइरसको महामारीले अशोक र रेशमजस्ता पर्यटनमा आश्रित हजारौंको दैनिकीलाई नराम्ररी चिमोट्न थालेको छ । यिनीहरुको जस्तो समस्या अहिले लाखौं टुरिष्ट गाइड तथा ट्रेकिङ गाइडमा परेको छ । कोराना महामारीले यस पेशामा संलग्न कयौंको गरिखाने मेलो गुम्यो ।

विश्वभर नै कोरानाको असर समाप्त भएर सामन्य अवस्थामा फर्के पनि एक त घुमघाम गर्ने अवस्था भने तत्कालै हुदैन । अर्को फेरि संक्रमण हुने जोखिम रही नै रहन्छ । यस पेशामा आश्रित रहेकाहरु कहिलेसम्म संकटको भुमरीमा पर्ने हुन अहिले केही भन्ने अवस्था छैन ।
 
सबैभन्दा पहिले संकटमा परेको व्यवसाय
पर्यटन व्यवसायीको एउटै चिन्ता छ, कोभिड-१९ को शुरुको असर पनि पर्यटनमै परेर थलिंदै गयो, महामारी नियन्त्रण भएपछि पनि लामो समयसम्म उठ्न नसक्ने क्षेत्र यही नै हुनेछ । नेपालको सन्दर्भमा कोरोना कहर गत चैतदेखि शुरु लकडाउनपछि मात्रै देखिएको हो । तर पर्यटन क्षेत्रमा त चीनमा कोरोना देखिएयता नै परेको हो ।

चीनमा कोरोना फैलिन थालेपछि लाखौं पर्यटक आआफ्नो देश फर्किए । अरु पर्यटक नेपाल घुम्न आउने त कुरै हरायो । त्यस यतादेखि नै पर्यटन आश्रित पेशाकर्मी र उनीहरूका परिवारले कोरोना कहर भोगिरहेका छन् । यस क्षेत्रमा संगल्न भएकाहरु एकाएक बेरोजगार हुन थालेपछि उनीहरुका परिवार गरीबीतर्फ धकेलिने जोखिम बढ्दै छ ।

नेपाल टुरिष्ट गाइड एसोसिएसनका पूर्वअध्यक्ष हरेराम बरालका अनुसार पर्यटकहरु नेपाल आएर खर्च गरेमा नै टुर गाइडको पेशा चल्ने हो, अहिले त खर्च गर्ने पर्यटकलाई नै ज्यान जोगाउने चिन्ता छ । यस अवस्थामा पर्यटक तत्काल घुम्न आउने र टुर गाइडले काम पाउने अवस्था छैन । उनले भने, 'अहिले सबै टुर गाइडहरु बेरोजगार भएका छन् । हातमुख जोड्नै धौधौ हुने अवस्था आएको छ । उनीहरुको लागि सरकारले सहुलियत कर्जा दिएर केही गर्ने वतावरण बनाइदिनुपर्छ ।'

कोराना महामारीको सबैभन्दा धेरै असर परेको तर सरकारले हालसम्म सम्वोधन नगरेको पेशा नै यही भएको उनले जनाए । सरकारी तवरबाट बेरोजगार भएका टुर तथा ट्रेकिङ गाइडको समस्या संवोधन गरियोस् भनेर नेपाल टुरिष्ट गाइड एसोसिएसनले सरकार समक्ष ११ बुँदे माग राखेको बरालले जानकारी दिए ।

लकडाउनका अवधिभर पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति भएको पर्यटन बोर्ड र नागरिक उड्ययन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चैत ११ देखि हालसम्म मासिक १० अर्बका दरले क्षति भएको छ । लकडाउन साउन ७ सम्म लम्ब्याइएको छ । यस अवस्थामा थप ७ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१८ पर्यटन क्षेत्रले नेपालमा करीब ५ लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको आकलन गरेको थियो । तर कोराना महामारीले सो पनि अधुरै रह्यो । आर्थिक वर्ष २०७५, ७६ मा होटल र रेस्टुरेन्ट क्षेत्रले अर्थतन्त्रमा रु ६२ अर्ब ८१ करोड योगदान दिएको थियो । कुल गार्हस्थ्य उत्पादनमा होटल र रेस्टुरेन्टले मात्रै २.०५ प्रतिशत योगदान गरेको छ ।

लगानी आकर्षक, प्रतिफल निराशाजनक
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेसँगै पर्यटन क्षेत्रले गति पाउने अपेक्षा गरिएको थियो । यही कारण बितेका पाँच वर्षमा नेपाली पर्यटन उद्योगमा आर्कषक लगानी पनि गरिएको छ । राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार, पर्यटन क्षेत्रमा ब्याङ्क तथा वित्तीय संस्थाको रु। १ खर्ब ३७ अर्ब लगानी भएको छ । सरकारी र निजी क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्रको व्यवसाय संकटमा परेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अन्य क्षेत्रमा भन्दा पर्यटन क्षेत्रमा धेरै असर परेको अधिकारीहरु बताउँछन् । कोरोना त्रासका कारण अर्बौं लगानीका होटलसहितका पूर्वाधार तथा व्यवसाय सङ्कटमा धकेलींदै गएका छन् । कोरोना त्रासका कारण देशभित्रको आन्तरिक पर्यटन, आवागमन, सभा सम्मेलन, खेलकुद जस्ता गतिविधि ठप्प छन् । कहिलेदेखि स्थिति समान्य हुने र पहिलेकै लय समात्लान्न भन्ने पनि अत्तोपत्तो छैन ।

कोरानाकै कारण, होटल तथा रेस्टुराँको व्यवसाय त खस्किएकै छ । ग्रामीण भेगका होमस्टे पनि संकटको भुमरीमा भासिँदै छन् । पर्यटक आवागमन घटेका कारण देशको विदेशी मुद्राको स्रोतमा पनि धक्का लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिना पुषसम्म मात्र नेपालले पर्यटन क्षेत्रबाट ३७ करोड ५७ लाख डलर आम्दानी गरेको थियो । पुषको अन्तिममा फैलिएको यस महामारी पछि भने भने व्यवसाय नै चौपट भएको छ ।

मार्च शुरू भएसँगै पर्यटक ह्वात्तै घट्न थाले । त्यस पछिका लागि गरिएका बुकिङ समेत धमाधम रद्द भएको व्यवसायीहरू बताउँछन् । पर्यटक नहुँदा त्यसले यस व्यवसायमा मात्र होइन होटल तथा उपभोग्य सामग्रीका आपूर्तिकर्तासँग हुने कारोबार पनि खलबलिएको छ । पर्यटनसँग जोडिएका अरु क्षेत्रमा पनि यसको प्रतिकूल असर बढ्दै गएको छ ।

एसियाली विकास बैंकका अनुसार कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई रु ४ अर्ब नोक्सान पुग्ने छ । यो वर्ष आन्तरिक हवाई वायुसेवा कम्पनीलाई रु ४ अर्बभन्दा बढीको नोक्सान हुने वायुसेवा सञ्चालक संघको अनुमान छ । ३ महिना अघिसम्म झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेका थिए भने ३ महिनाभन्दा अघिदेखिको लकडाउनका कारण आन्तरिक उडान ठप्प नै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइमा कोरोनाको कारण पर्यटन क्षेत्र त धरासायी बनेकै छ, यति ठूलो लगानी रहेको क्षेत्रमा परेको असरले सम्पूर्ण क्षेत्रलाई त्यतिकै असर परेको छ । उनले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उल्लेख गरे ।

मन्त्री भट्टराईले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल तथा तयारी गरिरहेको जनाकारी दिए । लकडाउन सुरु भएदेखि आजसम्म पर्यटन क्षेत्रमा ३४ अर्ब क्षति भएको बताइएको छ । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ ।

मन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको बताए । पर्यटन क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने भनेर अहिले सरकारले २० करोडको एउटा कोष बनाएको जनाएको छ ।