संस्कार

बिहान उठ्नेबित्तिकै हेर्नुहोस् आफ्नै हात, हुनेछ यस्तो लाभ

बिहान उठ्नेबित्तिकै हेर्नुहोस् आफ्नै हात, हुनेछ यस्तो लाभ

हामीहरूमध्ये धेरैजसो व्यक्तिहरू राति अबेलासम्म बस्ने र बिहान पनि अबेरसम्म सुतिरहने गर्छौं । बिहान ढिलो उठे पनि हामीमध्ये कतिपयले आफ्नो बिस्तरामा नै चिया आइदिए हुन्थ्यो भन्ने चाहना पनि राख्छौँ र सुत्ने बेलासम्म होस् वा उठ्नेबित्तिकै हामीले सर्वप्रथम मोबाइलको दर्शन गरिरहन मन पराउँछौँ । वास्तवमा हामीले बिहान उठ्नेबित्तिकै पहिलोपटक के हेर्नुपर्छ ? भन्ने कुराको अझैसम्म ख्याल गर्न सकिरहेका छैनौँ ।

हाम्रा ऋषिमुनिहरूले हामीलाई बिहान उठ्नेबित्तिकै आफ्नै हात हेर्न र त्यसपछि पृथिवीको प्रार्थना गरेर पृथिवीलाई ढोग गरी आफ्नो दिनचर्या प्रारम्भ गर्ने निर्देशन दिएका थिए । जब मैले २०४० साल चैत्र महिनादेखि संस्कृत पढ्न थालेँ त्यतिबेलादेखि हालसम्म मैले बिहानै आफ्नो हात हेरेर पृथिवीलाई ढोग गरी पृथिवीमा पाइला टेक्ने अनुमति माग्दै आएको छु । मलाई शान्तभवन ललितपुरस्थित तत्कालीन महर्षि वेदविज्ञान विद्यापीठमा बिहानै आफ्ना हात हेर्नका लागि सिकाइएको मन्त्र यस्तो थियो :
कराग्रे वसते लक्ष्मी
करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा
प्रभाते करदर्शनम् ।।

भर्खर संस्कृत पढ्न थाल्दा मलाई दिइएको यो मन्त्रको अर्थ त्यतिबेला के हो ? भन्ने थाहा थिएन र सिकाउने गुरुले पनि यसको अर्थ भनिदिए जस्तो मलाई लाग्दैन । गुरुले दिएको मन्त्र गोप्य राख्नुपर्छ भनेर मैले मन्त्रलाई गोप्य राखी नियमित रूपमा बिहान उठ्नेबित्तिकै बिस्तरामा बसेर जप्तै जान थालेँ । पछि पछि बुझ्दै जाँदा त्यसको अर्थ पनि मलाई थाहा भयो । हातको अघिल्लो भागमा लक्ष्मी बस्छिन्, हातको बीच भागमा सरस्वती बस्छिन् र हातको मूल भागमा ब्रह्मा बस्छन्, त्यसैले बिहान हात हेर्नुपर्छ भन्ने त्यस मन्त्रको अर्थ रहेछ ।

प्रत्येक मान्छेलाई आफ्नो जीवनमा मूलभूत रूपमा धन, विद्या र दक्षता वा सृजनशीलता तीन चीजको आवश्यकता हुँदो रहेछ । लक्ष्मी, सरस्वती र ब्रह्मालाई आदर्श मानेर यी तीन चीज आर्जन गर्न प्रत्येक व्यक्ति आफै अग्रसर हुनुपर्छ भन्ने सिकाउनका लागि गुरुले आफ्ना प्रत्येक शिष्यलाई यो मन्त्र जप्न सिकाएका रहेछन् ।

जीवनमा पढ्नका लागि र दक्षता आर्जन गर्नका लागि सबैभन्दा पहिला धनको आवश्यकता पर्छ । बाल्यकालमा आफैले धन आर्जन गर्न नसक्ने भएकाले आमाबुबाले कमाएका धनले विद्या र दक्षता आर्जन गर्न अग्रसर हुनुपर्छ भने पछि गएर आफैले पनि धन आर्जन गर्दै जान सकिन्छ । प्रत्येक दिन बिहान आफ्ना हातहरू हेर्दा धन, विद्या र दक्षता आर्जन गर्न मेरा आफ्ना हातहरू नै सक्षम छन् भन्ने आत्मबल प्राप्त हुँदो रहेछ । पढेर सानोतिनो कुरा सिकियो भने त्यसको निरन्तर अभ्यास गर्दै जाँदा दक्षता पनि प्राप्त हुन सक्छ । ज्ञान र सीपको आर्जन गर्न सकेका खण्डमा त्यसकै आधारमा आफ्नो जीवन निर्वाहका लागि धनको आर्जन गर्न कुनै कठिनाइ हुँदैन ।

प्रत्येक दिन बिहान आफ्ना हातहरू हेरेर ज्ञान, धन र दक्षता मेरै हातमा वा आफैमा विद्यमान छन् भन्ने कुरालाई आत्मसात् गर्न सकेपछि हाम्रा कर्मशील हातहरू मगन्ते भएर कसैका सामु प्रस्तुत हुँदैनन् । आफ्नै पौरखमा बाँच्नका लागि पनि हामीले बिहानै आफ्ना दुवै हातको दर्शन गर्नुपर्दो रहेछ ।

बिहानै आफ्ना हातको दर्शन गरिसकेपछि पृथ्वीको प्रार्थना गरी ‘पादस्पर्श क्षमस्व मे’ अर्थात् हे पृथिवी तपाईंमाथि मैले पाउ राख्दै छु, मलाई क्षमा दिनुहोस् भनेर प्रत्येक दिन बिहान पृथिवीलाई ढोगेर दिनचर्या प्रारम्भ गर्न पनि मैले हालसम्म बिर्सिएको छैन । क्षमाशील पृथिवीलाई ढोगेर प्रत्येक दिन पाइला चाल्दै जाँदा त्यस कर्मले पृथिवीजस्तै क्षमाशील बन्न प्रेरित गर्दो रहेछ । क्षमाशील बनेर आफैले आर्जन गरेको ज्ञान र सीपका आधारमा जीवन निर्वाहका लागि चाहिने न्यूनतम धन आर्जन गर्न पनि हामीलाई आफ्नै हातको दर्शन गरेका कारण सहज हुँदो रहेछ । आफ्नै हातमा विश्वास गर्ने व्यक्ति स्वावलम्बी हुने र अरूका भरमा बाँच्न नचाहने भएकाले त्यस्ता व्यक्तिहरू कहिल्यै पनि दुःखी र निराश हुँदैनन् । तसर्थ हामीले आफूलाई आफ्नो परिवारलाई, समाजलाई र देशलाई पनि आफ्नै हात हेर्न सिकायौँ र हात हेर्ने बानी बसाल्न सक्यौँ भने निश्चय नै हामी पनि सदैव सुखी, आशावादी र जीवनवादी बन्न सक्नेछौँ ।