काठमाडौं महानगरका कर्मचारीलाई साइकल किन्न अनुदान

काठमाडौं महानगरका कर्मचारीलाई साइकल किन्न अनुदान

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीलाई साइकल किन्न अनुदान दिने भएको छ । नयाँ आर्थिक वर्षको नीतिमा मेयर विद्यासुन्दर शाक्यले  कोभिड-१९ महामारी र सामाजिक दूरी पालनाका लागि इच्छुक कर्मचारी र निर्वाचित वडा प्रतिनिधिलाई साइकलमा अनुदान घोषणा गरेका हुन् ।

तीन वर्षअघि मेयरमा निर्वाचित हुँदा शाक्यले काठमाडौंलाई 'सफा र बस्न लायक सहर' बनाउने वाचा गरेका थिए । उनको १०१ दिनमा गर्ने १०१ काममध्ये एक साइकल लेन बनाउनु थियो । तर तीन वर्षसम्म पनि उनले साइकल लेन निर्माण गरेनन् । त्यसैले सरोकारवालाले सडकलाई साइकलमैत्री नबनाईकन साइकल किन्न प्रोत्साहित गर्ने योजना बनाउनु कत्ति व्यावहारिक हो भनी प्रश्न गरेका छन् ।

“यो निर्णय एकदम हास्यास्पद छ । मेयरले आफ्नो तीन वर्षको कार्यकालमा एक लेन पनि बनाउन सकेनन् । अब वडा प्रतिनिधि र कर्मचारीलाई गाडी प्रयोग गर्ने सुविधा भएकाले साइकल किन्न अनुदान दिनुको कुनै अर्थ छैन,” नेपाल साइकल सोसाइटीका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ भन्छन्,  "मेयर शाक्यले पहिलो वर्षको अवधिमा बागमती कोरिडोरको पशुपतिदेखि टेकुसम्म साइकल लेनमा रूपान्तरण गर्ने वाचा गरेका थिए, त्यहाँ के भइरहेको छ ? कसैलाई थाहा छैन ।"

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने गत वर्षमा ललितपुरमा ३.१ किलोमिटर साइकल लेन उद्घाटन गरेलगत्तै काठमाडौं महानगरपालिकाले पनि माइतीघरदेखि नयाँ बानेश्वरमा साइकल लेनहरू पुनर्स्थापना गर्ने घोषणा गरे पनि कुनै काम हुन सकेन ।

"साइकल किन्न अनुदान दिनु राम्रो हो  तर के सहरका कर्मचारीहरूले ती प्रयोग गर्छन् ?" साइकलप्रेमी दिवस प्रधानको प्रश्न छ, "मेयरले बरु सहरमा साइकलमैत्री पूर्वाधारको विकासको घोषणा गर्नुपर्छ, सहरका कर्मचारीहरूले साइकल किने उनीहरूका बच्चाहरूले खेल्नेछन् ।"

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भने यसबारे निर्णय भइनसकेको बताउँछन् । भन्छन्, “हामीकहाँ १,८०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् । हामीले त्यस्तो अनुदानका लागि बजेटको निर्णय गरिसकेका छैनौं ।"