काठमाडौं । नेपाल–भारत वाणिज्य सन्धिविपरीत भारत मात्रै हैन, तेस्रो देश निकासी हुने अर्थोडक्स चियासमेत पूर्ण रूपमा रोकिएको छ । लकडाउनका बाबजुद पनि उत्पादित चिया निकासीको पखाईमा गोदाममै थन्किएको छ । पश्चिम बंगाल सरकारको एकलौटी निर्णयका कारण लकडाउनयता कुनै पनि नेपाली उत्पादन निर्यात गर्न सकिएको छैन । तर, भारतबाट आयात धमाधम भइरहेको छ ।
पूर्वी नाकाबाट निकासी हुने सीमित नेपाली उत्पादनमध्ये चिया पनि एक हो । मेची भन्सार कार्यालयका अनुसार वार्षिक करिब ४ देखि ५ अर्ब रुपैयाँको चिया भारत निकासी हुँदै आएको छ । त्यसमा पहाडी जिल्लामा उत्पादित अर्थोडक्सको निकासीसमेत उच्च छ । तराईमा उत्पादित सीटीसी चियाको माग भारतमा अत्यधिक छ ।
नेपाली चियाको आयात रोक्न दार्जिलिङले पटकपटक प्रयत्न गरेको थियो । भारतीय व्यापारीहरुका कारण नेपाली चियाप्रति भारतमा अनावश्यक भ्रम सिर्जना भएको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष सुरेश मित्तलको भनाइ छ । भन्छन् ‘नेपाली चिया गुणस्तरहीन र अखाद्य छैन । भारतको केन्द्रीय खाद्य प्रयोगशालामा जाँच हुँदै आएको छ । बरु भारतकै चियामा विषादीको समस्या छ ।’
यसअघि पश्चिम बंगाल राज्यसभामा दार्जिलिङकी सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न माग गरेकी थिइन् । दार्जिलिङ टी एसोसिएसनले पनि तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ भ्रमणमा आएका बेला ज्ञापनपत्रमार्फत नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो ।
केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ चियाको ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्दै आएका छन् । दार्जिलिङ र इलामको भौगोलिक बनोट र हावापानी करिबन उस्तै भएकाले इलामलगायतका माथिल्लो भेगमा उत्पादित अर्थोडक्स चिया दार्जिलिङको भन्दा मीठो छ । त्यही कारण दार्जिलिङलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो चियाको छवि बिग्रिने त्रास छ ।
खासमा नेपाली चियाले दार्जिलिङ र डुवर्सको चिया समस्यामा परेको केही व्यापारीको बुझाइका कारण सिंगो नेपाली चियाको बद्नामी भइरहेको व्यवसायीको दाबी छ । नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले पूर्वी नाकाबाट नेपाली उत्पादन निकासीमा भारतको पश्चिम बंगालको प्रतिबन्धबारे करिब महिना दिनअघि नै वाणिज्य मन्त्रालयलाई लिखित जानकारी गराइसकेका थिए । तर अहिलेसम्म मन्त्रालयबाट ठोस पहल भएको देखिँदैन ।
सरकारले निर्यातजन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चिया, अदुवा, अलैंची, कुचो, दाल, भेनियरजस्ता वस्तुमा भन्सार मिनाहा गरेको छ । भन्सार सेवा दस्तुरबापत प्रतिकन्साइन्टमेन्ट सय रुपैयाँ र भ्याटबापत १३ रुपैयाँ अतिरिक्त शुल्क मात्रै लाग्छ ।
भारतले झापा र इलाममा उत्पादित चियालाई आफ्नो ब्रान्ड बनाएर युरोप, अमेरिकाजस्ता मुलुकमा समेत पठाउने गरेको छ । भारतले कौडीको भाउमा खरिद गरेर महँगो दरमा तेस्रो देश पठाउँछ तर नेपालको आफ्नै ब्रान्ड नहुँदा भारतबाहेकका मुलुकमा निर्यात गर्न असहज छ ।
लकडाउनका बेलासमेत भारतको केन्द्र सरकारले नेपाल, भुटान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सीमा व्यापारलाई निरन्तरता दिन पानीट्यांकी भन्सारलाई निर्देशन गरे पनि बंगाल प्रहरीले मानेको छैन ।
भारतीय अवरोधका कारण नेपाली उत्पादन बोकेका ट्रक चार दिनदेखि मेची पुलमै अलपत्र परेका छन् । मेची पुलमा १४ चिया, १० अलैंची र एउटा अम्रिसो लोड भएका गाडीमध्ये अम्रिसो र २ वटा अलैंचीको गाडी मात्रै छाडिएको छ ।
‘नेपाली सामानचाहिँ नपठाउनू भन्ने बंगाल सरकारकै आदेश रहेको भारतीय प्रहरीले जनाएको छ,’ मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्मा भन्छन्, ‘राज्य सरकारको आदेशलाई प्रहरीले कार्यान्वयन गरेको हुन सक्छ ।’