आयो मनसुन

आयो मनसुन
फाइल फोटो ।

काठमाडौँ । अरु समयमा जुन १० मा भित्रिने मनसुन यो बर्ष दुई दिन ढिलो गरेर नेपाल प्रवेश गरेको छ । हिजो पूर्वी भागबाट मनसुन नेपाल प्रवेश गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा सामान्य हुने विज्ञहरुले आँकलन गरेका छन् । दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न एक महिना अघि एको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्वन्धि मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।

विश्व मौसम संगठन (डब्लूएमओ) को दिल्लीस्थित क्षेत्रीय जलवायु सेन्टरले संयोजन गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१६०) मा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी थिए ।

उक्त छलफलमा नेपालबाट जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद् तथा जलवायु शाखाकी प्रमुख इन्दिरा कँडेलले भाग लिएकी थिइन् ।

हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि नै सम्मेलन आयोजना गरेर दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सास्कोफ १६ बंगलादेशको ढाकामा हुने तय भएकामा कोरोना संक्रमणका कारण यसै साता भर्चुअल छलफल भएको हो । छलफलमा जलवायु विज्ञानका जापान, कोरिया, बेलायतलगायत अन्तर्राष्टिय विज्ञहरुसमेत थिए ।

तीन दिन चलेको छलफलमा मौसम विज्ञान आँकलनमा विश्वमा प्रयोगमा ल्याइएका मोडलको माध्यामबाट सम्भावित मनसुन प्रक्षेपण गरिएको हो ।

त्यस्ता मोडलहरु सबै देशका आ(आफ्नै छन् । सबैका मोडलहरुको विश्लेषण गर्दै विशेषज्ञहरुले एउटै प्लेटफर्मबाट विश्वसनीय मनसुन प्रक्षेपण गर्दै आएका छन् । मनसुन प्रक्षेपणका लागि जापान, बेलायतलगायतका विकसित मुलुकहरुले प्रयोग गर्दै आएका मोडलकोसमेत प्रयोग गरिएको छ ।

छलफलमा सहभागी वरिष्ठ मौसमविद् कँडेलले नेपालमा सरदर वर्षा आँकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भेगमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको बताइन् । तराई क्षेत्रमा पनि अलि कम वर्षा हुने आँकलन गरिएको छ ।

नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ । सामान्यतया जेठ २७, २८ ९जुन १०० देखि नेपालमा मनसुन सुरु हुन्छ ।

नेपालमा असोज पहिलो सातासम्म ९सेप्टेम्बर २३० मनसुनी गतिविधि जारी हुन्छ ।

सास्कोफ १६ को प्रतिवेदन अनुसार पाकिस्तानको धेरैजसो भाग, भारतको दक्षिणी भाग, बंगलादेश र श्रीलंकाको केही भागमा भने सरदरभन्दा केही प्रतिशत बढी वर्षा हुने देखिन्छ । अफगानिस्तान, पाकिस्तान, भारत र भुटानको उत्तरी भागमा भने सरदर भन्दा पनि कम वर्षा हुने देखिन्छ ।

मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अहिलेको वर्षा प्रि मनसुन गतिविधि हो । चैतदेखि जेठसम्म प्रि मनसुनको समय हो ।

अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र त्यसमा बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले छिन छिनमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।