परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि मलाई बेलायती महारानी एलिजाबेथको स्वागत समितिमा पठाइयो । राजा महेन्द्रका भाइ हिमालय सो समितिका अध्यक्ष थिए भने एक जना सहायक रथी र एक जना उपसचिव समितिका दुई सचिव थिए । मैले आर्मीबाट आएका र परराष्ट्रका कर्मचारीहरुबीच समन्वय गर्नुपर्थ्यो । स्वागत समितिले के–के काम गर्ने भन्ने निर्णय त्यहीँ हुन्थ्यो ।
त्यही निर्णयअनुसार सडक विभागसँग समन्वय गरेर अञ्चलाधीश कार्यालयले राजदरबार दक्षिण ढोकाअगाडिको बाटो खुलायो । बागबजार सडकछेउका सबै घर सरकारी खर्चमा सिँगार्यो । टुँडिखेलदेखि शीतल निवाससम्म जाने बाटो चौडा बनायो । चौडा बनाउन बाटाका रुखहरु काटियो । तर, राजदरबार पश्चिमपट्टिका रुखहरु काठमाडौँस्थित बेलायती राजदूतकी श्रीमतीले अँगालो हालेर काट्न रोकिन् र राजा महेन्द्रलाई बिन्ती चढाइन् । ती रुख अहिले पनि सडकपेटीमा जस्ताको तस्तै छन् ।
स्वागत समितिको निर्णयबिनै टुँडिखेलको ऐतिहासिक खरीको बोट ढालियो र पहिलेका प्रधानमन्त्रीहरुका सालिकहरु उखेलेर दक्षिण कुनामा राखियो । एलिजाबेथ आउने सन्दर्भलाई एउटा ठूलो उत्सवका रुपमा प्रस्तुत गरियो । शीतल निवासलाई उनकै लागि भनेर पूरै नयाँ बनाइयो ।
महारानी एलिजाबेथका लागि भनेर विशेष रुपमा बनाइएको बाथरुम कस्तो रहेछ भनेर म पिसाब फेर्न गएँ । पिसाब फेरिसकेर धारा खोल्न लाग्दा कमोडबाट फोहोराजस्तो पानी आएर मेरो सबै लुगा भिज्यो । लुगा भिजेको कसैले नदेखून् भनेर हतारहतार गाडीमा चढी घर आएँ । लुगा फेरेर तत्कालै शीतल निवास हान्निएँ ।
एलिजाबेथसँग आएका दुई महिला सहयोगीको आग्रहमा मैले उनीहरुलाई सुन्दरीजलको पानीपोखरीतिर लगेँ । उकालोमा दुई जनाले मेरा दुई कुममा भर परेर थिच्दा जवान नै भए पनि मलाई निकै सकस परेको थियो । धन्न ! उनीहरु उकालोको बीचबाटै फर्किएकाले ठूलो राहत पाएँ । उनीहरुले सुनको सिक्रीमा झुन्ड्याइएको क्यामरा बोकेका थिए ।
त्यति बेला एलिजाबेथलाई भनेर मगाइएको नम्बर वान डेलिसियस रातो कास्मिरी स्याउ खान पाइयो । घरमा आएर त्यो विवरण के–के न भएकोजस्तो गरी सुनाएँ ।
एलिजाबेथका लागि भनेर बेलायतबाटै अस्टिन प्रिन्सेस गाडी र बाथरुमका सामान लन्डनबाटै मगाइयो । बाँकी अरु सामान कोलकाताको न्यू बिल्टबाट मगाइयो ।
त्यही बहानामा मलाई कोलकाता जाने इच्छा भयो । म सानोमा एकपटक मात्र कोलकाता गएको थिएँ । मैले कोलकाता पठाइदिन हाकिमहरुलाई भनेँ । त्यहाँ गएर मैले गर्नुपर्ने काम केही पनि थिएन । दरबारको डकोटा प्लेनले सबै सामान ओसाथ्र्यो । तर, मलाई सरकारी भत्ता खाएर कोलकाता जाने मौका दिइयो ।
कोलकाता जाँदा दरबारको डकोटा प्लेनमा सूर्यबहादुर थापाका भाइ क्याप्टेन हरेन्द्रबहादुर थापा पनि थिए । उनी आर्मीका कटलरी सामान किन्न गएका रहेछन् । त्यहाँ उनीसँग राम्रै दोस्ती भयो । उनीसँग गएर कोलकाता न्यू मार्केटको नीरा रेस्टुरेन्टमा खाएको क्रिमसहितको फ्रुट सलाद अहिलेसम्म पनि मेरो जिब्रोमै झुन्डिरहेको छ । पछि कोलकातासहित भारतका विभिन्न सहरमा गएर खाँदा पनि त्यो स्वाद पाइनँ ।
वर्षौंपछि प्रधानमन्त्री सूर्यबहादुर थापासँग खटपट भएर जागिर छाडेपछि नयाँ सडकको पान पसलमा दुई–चार जना पछि लगाएर पान खान आएका हरेन्द्रबहादुर थापासँग भेट भयो । ‘के छ मदनजी हालखबर ?’, उनले सोधे ।
‘तिम्रो दाजुको कृपाले म नोकरबाट मालिक भएँ ।’
मैले त्यसो भन्दा उनले बुझे कि बुझेनन् ? केही जवाफ नदिई फरक्क फर्के ।
परराष्ट्र मन्त्रालय लाभको स्थान नभएकाले सबै शाखाका प्रमुख निर्णय गर्न स्वतन्त्र थिए । लेखा शाखाबाहेक अन्यत्र आवश्यक लाग्यो भने मात्र टिप्पणी उठाएर निर्णय गराइन्थ्यो ।शाखालाई स्वतन्त्र भएर निर्णय गर्न दिइएकाले जिम्मेवार भएर काम गर्ने र आवश्यक निर्णय आफैं लिने चलन थियो । राम्रो काम गर्न डराउनु पर्थेन ।
कुरैकुरामा एलिजाबेथ स्वागत समितिका सचिव ब्रिगेडियर जर्नेल सिंहबहादुर बस्नेतले भने, ‘दुई–चार वर्षपछि तिमी के हुन्छौ, म कहाँ पुग्छु ?’
‘तपाईं रिटायर्ड हुनुहुन्छ, म जागिरमै हुन्छु ।’
मैले यति मात्र के भनेको थिएँ, रिसाएर पटकैपिच्छे ‘म रिटायर्ड हुन्छु’ भन्दै टेबलमा तीन मुक्का हाने ।
‘आर्मीको नियम नै त्यस्तै छ,’ मैले फेरि थपेँ ।
उनी मसँग सात दिनसम्म बोलेनन् ।
मसँग रिसाए भन्ने सोचेर मैले मखन लगाएर खुसी पारेँ, ‘तपाईं त कमान्डर इन चिफ हुनुहुन्छ ।’
एलिजाबेथ बेलायत फर्केपछि म स्वागत समितिबाट मन्त्रालयमै फर्कें । जर्साब पनि आर्मी हेडक्वार्टर फर्किए ।
केही महिनापछि नयाँ सडकमा मेजर दीप्तप्रकाश शाह(पछि जर्नेल र राष्ट्रिय सभाका सांसद भए) र म कुरा गर्दै थियौँ ।
दुईतारे जर्साबको गाडी आएर रोकियो । हातले आउन इसारा गरे । मेजर आपूmलाई बोलाएको ठानी जर्साबतिर लम्के । जर्साबको इसारा मतिर जारी थियो । म बिस्तारै गाडीतिर लम्किएँ ।
नजिक पुगेपछि उनले यति मात्र भने, ‘तिमी के भयौ ?’
‘म जस्ताको तस्तै छु, हजुरको प्रमोसन भएछ । बधाई !’
अरु केही नबोली उनी त्यहाँबाट गए ।
उनी प्रमोसन भएर मेजर जर्नेल भएका रहेछन् ।
फेरि त्यसको केही महिनापछि ठमेलको सञ्चयकोषअगाडि भेट भयो । त्यसै गरी गाडी रोकियो ।
उनले इसारा गरेर मलाई बोलाए । फेरि पनि त्यसरी नै यति मात्र सोधे, ‘तिमी के भयौ ?’ उनी त्यति बेला प्रमोसन भएर लेफ्टिनेन्ट जर्नेल भइसकेका रहेछन् ।
फेरि केही समयपछि कमान्डर इन चिफ भएर मोटरमा पाँच तारा राखेर झन्डा फरफराउँदै आए । यसपटक पनि मलाई बोलाउँछन् भनेर सोचेँ । तर, उनी मतिर हेरेर मुसुक्क हाँसेर मात्र गए ।
उनले तीन तह प्रमोसन खाँदा पनि म जहाँको तहीँ थिएँ ।
एलिजाबेथ स्वागत समितिमा रहँदा धेरै आर्मी अफिसर्ससँग मेरो चिनजान भयो । उनीहरुले कुरा गर्दा बीपीसँग रिसाएको भान हुन्थ्यो ।
‘दाइसँग आर्मी रिसाएका छन्, विचार गर्नुपर्ला,’ मैले बीपीकहाँ गएर भनेँ ।
उनले सुने । तर, कुनै प्रतिक्रिया जनाएनन् ।