नेगेटिभ न्युज हेर्दै हेर्दिनँ: उषा खड्गी

नेगेटिभ न्युज हेर्दै हेर्दिनँ: उषा खड्गी

मीस नेपाल २००० तथा फेसन डिजाइनर उषा खड्गीले लकडाउनको समय बिरगञ्जमा बसेर बिताइरहेकी छिन् । खड्गीसित विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस, यस्ले पारेको प्रभाव र आगामी उनको योजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

लकडाउन सकिने बित्तिकै के गर्नुहुन्छ ?
बिरगञ्जबाट काठमाडौं जान्छु । अनि बुटिक हेर्न जान्छु ।

दिनभर घर भित्रै  रहादाको अनुभव कस्तो भइरहेको छ ?
सुरुको दुई साता आनन्दै भयो । सुतेरै समय बिताए । त्यसपछि दिनहरु काट्न मुस्किल भइरहेको छ । काम, पैसाको चिन्ताले सताउन थाल्यो । क्रमश: आफ्नो मात्रै तनाव होइन भनेर चित्त बुझाइ रहेको छु ।

कुनै सिर्जनात्मक गतिविधि गर्नुभएको छैन ?
एक महिनादेखि इन्स्टाग्राम मार्फत् हरेक दिन लाइभ कार्यक्रम चलाइरहेको छु । एक घण्टाको सो कार्यक्रममा सेलिब्रेटी, मनोचिकित्सकलगायत व्यक्तिसंग अन्तरवार्ता गरिरहेको छु । १४ वर्षदेखि अन्तरवार्ताको कार्यक्रम चलाएको थिएन । 

यसलाई निरन्तरता दिने सोच बनाउनु भएको छ कि ?
कुनै टेलिभिजन च्यानल वा युट्युबमा भएपनि ‘उषाज शो’ नामक अन्तरवार्ताको कार्यक्रम चलाउने प्लान बनाएको छु । लकडाउन पछि स्टुडियो सेटअप गरेर लाइभ शो गर्ने सोच छ ।

कोरोनासँग कतिको डराउनु भयो ?
सुरुमा त एकदमै डराए । नेपालमा एक जनालाई लाग्यो भन्नासाथ डर लाग्यो । २,३ जना हुँदै गए पछि झनै डराए । खाना खाएपनि नपचेको जस्तो, बच्चाहरुलाई हेऱ्यो कि रुन मन लाग्ने, खोकीमात्र लाग्दा पनि मर्छु कि भन्ने डर लाग्थ्यो । त्यसमा पनि बिरगञ्जमा लाग्यो भने पछि झनै डराए । तर पछिल्लो पटक निको भएकाहरु देखेर सकरात्मक हुन थालें । डराउनु भन्दा लड्नु पर्छ भन्ने सोच आयो । त्यस पछि नेगेटिभ न्यूजहरु हेर्दै हेरिना । अहिले खासै डरै छैन ।

डराएर होइन लडेर भन्नु भयो, कोरोनासंग कसरी लड्ने त ?
राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शारीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासँग लड्न सकिन्छ होला ।

अब तपाईंको बिजनेशलाई पनि असर गर्ला नि !
पहिला जस्तो राम्रो हुन त समय लाग्ला । तर बुटिकको व्यापार भएकाले बिहे, ब्रतबन्धको सिजनमा राम्रै हुने अपेक्षा छ । पहिला भन्दा सस्तो दरमा काम गर्नुपर्ला । अनलाइन सपिङ बढी चल्ला, त्यहीं अनुसार तयारी गर्ने सोचेको छु ।

लकडाउनले केही सिकायो पनि कि ?
परिस्थिति अनुसार बााच्न सक्नुपर्ने चेतना भयो ।
नारीबाट