काठमाडौँ : नेपालमा कोभिड १९ को अहिले संम १३ हजार जनामा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड१९ को सङ्क्रमण देखिएको छ ।
अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा र ५६ जिल्लामा आरडिटीमाध्यमबाट परीक्षण भइरहेको छ । पिसिआरबाट छ हजार २९९ जना र आरडिटी छ हजार ६०६ जनाको परीक्षण गरिएको छ । आजै मात्र पिसिआरबाट ५८४ र आरडिटीबाट एक हजार ३१६ जनाको परीक्षण गरिएको छ । प्रवक्ता डा देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडिटी प्रयोग गरिएको बताउनुभयो । अहिलेसम्म आइसोलेशनमा ९९ रहेका छन् । तीमध्ये १२ जना काठमाडौँ र ८७ जना उपत्यका बाहिर रहेका छन् । मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये आज नौ जना ‘रेड जोन’मा रहेका छन् । अहिलेसम्म २२८ रेडजोनमा रहेका छन् ।
यसैगरी प्रवक्ता डा देवकोटाले सोमबार कैलाली र रौतहटमा देखिएका कोभिड१९ सङ्क्रमितका आफन्त, नातेदार र नजिकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिनुभयो । यसैगरी आज पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका दुई जनामा सङ्क्रमण देखिएको छ । उनीहरुको पनि कन्ट्याक ट्रेसिङ्ग भइरहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म पाँच हजार ७७१ क्वारेन्टाइनमा बसेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले पिसिआरको दायरामा ल्याउन नसिकने व्यक्तिमा आरडिटी गरिएको जानकारी गराउनुभयो ।
उहाँले पिसिआरभन्दा आरडिटीबाट नमूना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको बताउनुभयो । आरडिटी प्रत्यक्ष फिल्डमा गएर रगत लिई नमूना परीक्षण गरिन्छ । रगत लिएको १५ मिनेटमा नै नजिता देखाउछ । आरडिटीले कोभिड१९ को सम्भावित सङ्क्रमण देखाउने र पिसिआरले त्यसको यकिन गर्ने गर्दछ । प्रयोगशालाका निर्देशक डा झाले पिसिआरले छ घण्टामा नमूनाको नतिजा दिने बताउनुभयो ।