रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा रोहिणी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ।

विजयादशमी महोत्सव २०८३ अन्तर्गत संगम सहारा युवा क्लबले आयोजना गरेको दुईदिने प्रतियोगितामा नेपाल र भारतका ४४ पहलमानले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा भारतको मध्यप्रदेशबाट आएका रामकान्त मिश्र प्रथम भएका छन्।

प्रथम भएका मिश्रले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो र गुल्मी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका विशाल थापा तेस्रो भए। उनीहरूले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीले जानकारी दिए।

प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रका पहलमान सहभागी थिए। नेपालका रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाबाट पनि पहलमानहरूले प्रतिस्पर्धामा भाग लिएका थिए।

स्थानीयस्तरमा लोकप्रिय कुस्ती खेलको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतका खेलाडीबीच आपसी सद्भाव र खेलकुद सम्बन्ध बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कुस्ती दंगलसँगै बृहत् सांस्कृतिक कार्यक्रम र मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ।