अपाङ्गताको गुनासो:राहतमा मुखले ठीक्क, कामले दिक्क

अपाङ्गताको गुनासो:राहतमा मुखले ठीक्क, कामले दिक्क

काठमाडौँ: १९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा अपाङ्गता भएका व्यक्तिले जीवन धान्न अप्ठ्यो परेको गुनासो गरेका छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं. २, ४, ५, ६ र ७ एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.–५ मा धेरै अपाङ्गता भएका व्यक्ति बसोवास गर्दछन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं.–२ मा अपाङ्ग सेवा सङ्घ–आशा केन्द्र, वडा नं.–४ मा अपाङ्ग पुनस्र्थापना केन्द्र छ भने वडा नं.–६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.–५ स्थित थली ओरालोमा पनि नेपाल अपाङ्ग सङ्घ छ । सो सस्थाले अपाङ्गता भएका ३५ जना बालबालिकालाई संरक्षण दिइएको छ । यी संस्थामा आवासीय रुपमा पनि अपाङ्गता भएकालाई राखिएको छ । यी संस्थाले स्वरोजगार लगायत कार्यक्रम समेत सञ्चालन गर्ने भएकाले पनि यस क्षेत्रमा धेरै अपाङ्गता भएकाको बसोवास रहेको हो । अपाङ्ग सेवा सङ्घ–आशा केन्दका अध्यक्ष तिलककुमार श्रेष्ठ संस्थाले आवासीय रुपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभएपनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको जानकारी दिनुभयो ।

अपाङ्गता भए पनि केही आयआर्जन गरी खानेका लागि बाहिर निस्कन नपाउँदा अप्ठ्यारो हुने भएकाले यस्ताका लागि स्थानीय सरकारले प्राथमिकतामा राहत दिनुपर्ने उहाँको भनाई छ । गोकर्णेश्वर नगरपालिका वडा नं.–६ नारायणटारमा बसोवास गर्नुहुने दृष्टिविहीन दिवस विष्ट बन्दाबन्दीको १७ औँ दिनसम्म पनि नगरपालिकाबाट राहत पाउन नसकिएको गुनासो गर्नुहुन्छ । “नगर प्रमुखलाई भन्यो भने वडा अध्यक्षलाई भन्नुस् र वडा अध्यक्षलाई भन्यो भने नगर प्रमुखलाई भन्नुस् भन्ने गर्नुभएको छ, हामीले राहत भने पाउन सकेका छैनौँ”–उहाँले भन्नुभयो । नगरपालिकाले घरमा राहत पु¥याएका छौँ, खाद्यान्नको अभाव भई किनेर खान चाहनेका लागि पनि घर घरमै ढुवानीको व्यवस्था गरिएको छ भनी प्रचारप्रसार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको अपाङ्गता भएकाको भोगाइ छ ।

तीनै तहका सरकारले सञ्चारमाध्यममा सबै सेवा उपलब्ध गराएका छौँ भनी प्रचार गर्ने तर व्यवहारमा जनताले केही नपाउने अवस्था आएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.–५ थलीमा बसोवास गर्दै आउनुभएकी सावित्री बस्नेतको गुनासो छ । “मुखले ठिक्क, कामले दिक्कको अवस्था तीनै तहका सरकारबाट हामीले भोगेका छौँ”–उहाँले भन्नुभयो । कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं.–५ का अध्यक्ष राजाराम पुडासैनी राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुको रोग भएकालाई प्राथमिकतामा राखिएको बताउनुहुन्छ । अपाङ्गता भएकालाई आवासीय रुपमा राख्ने संस्थालाई पनि सहयोग दिने वचन दिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेको छ । पूर्णरुपमा अपाङ्गता भएकालाई ‘क’ वर्गमा राखिएको छ । ‘क’ वर्गमा राखिएकालाई सामाजिक सुरक्षा स्वरुप मासिक भत्ताको समेत व्यवस्था गरिएको छ । आंशिक रुपमा अपाङ्गता भएकालाई ‘ख’ वर्गमा राखी मासिक रुपमा आधा भत्ता दिइन्छ । ‘ग’ र ‘घ’ वर्गकाको भने सामान्य अपाङ्गता मात्र हुने भएकाले भत्ता दिइँदैन । कागेश्वरी नगरपालिकामा ‘क’ वर्गका २०० र ‘ख’ वर्गका ६० जना रहेको नगरपालिकाले जनाएको छ ।