५१ दिनपछि सरकारले निगमलाई चीनको वुहानबाट ल्याइएका १ सय ७५ नेपालीको भाडा तिर्‍यो

५१ दिनपछि सरकारले निगमलाई चीनको वुहानबाट ल्याइएका १ सय ७५ नेपालीको भाडा तिर्‍यो

काठमाडौँ: चीनको वुहानबाट एयर लिफ्ट गरेर ल्याइएका १ सय ७५ नेपालीलाई चार्टर उडान गर्ने नेपाल वायुसेवा निगमलाई सरकारले सोमबार ५१ दिनपछि  भुक्तानी गरेको छ । 

स्रोतका अनुसार उक्त उडानको भाडा वापत् अर्थ मन्त्रालयले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई रकमान्तर गरेको ४ करोड ३५ लाख ९७ हजार ६ सय ११ रुपैयाँ निगमको खातामा पठाइएको हो ।

‘अर्थ मन्त्रालयले हामी (पर्यटन मन्त्रालय) लाई रकमान्तर गरेको रकम निगमको खातामा हालिदियौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने,‘हामीले निगमको हिमालयन बैंकको खातामा चार्टर उडानवापत उसले बिल गरेको सबै रकम भुक्तानी गरिदियौं ।’

कोराना भाइरसको उद्धगम थलो मानिने चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याउन सरकारको अनुरोधमा निगमको वाइडबडी विमान फागुन ३ गते त्यसतर्फ गएको थियो । त्यहाँ १ सय ८६ नेपाली थिए । तीमध्ये १ सय ७५ जनालाई बोकेर वाइडबडी त्यसैरात काठमाडौं फर्केको थियो । सरकारले उनीहरुबाट भाडा भने उठाएको थिएन ।

उक्त चार्टर उडानको भाडा दर सरकारले प्रति घन्टा १८ हजार १ सय डलरका दरले निगमलाई ४ करोड ३५ लाख रुपैयाँ तिरेको हो । निगमको नियम अनुसार चार्टर उडानमा अग्रमी भुक्तानी गरेपछिमात्रै जहाज उडाउनुपर्ने हुन्छ । तर, सरकारले नै चार्टर रकम दिने ग्यारेन्टी गरेको अवस्थामा निगमले भुक्तानी ढिलाइ हुने भएपनि उडान गर्छ । निगमका निमित्त महाप्रबन्धक गणेश बहादुर चन्दका अनुसार, सरकारलाई कमिसनबापत ५ प्रतिशत रकम भने छुट हुँदैन ।

यसैबीच चैत १५ गते स्वास्थ्य सेवा विभागले चार्टर गरेको उडानको भाडा भने निगमले पाएको छैन । यो क्रेडिट उडानमा पनि सरकारी निकायलाई ५ प्रतिशत कमिशन नहुने नायब महाप्रवन्धक चन्दले बताए ।

तर, निजी क्षेत्रका व्यापारीहरुका लागि औषधि लगायतका स्वास्थ्य सामाग्री ल्याउन जहाज चार्टर गर्ने फ्ल्यास फ्रेइट लजेस्टिक लिमिटेडलाई भने निगमले आर्थिक विनियम अनुसार ५ प्रतिशत कमिसन दिनुपर्ने उनले बताए । ‘निजी एजेन्टलाई आर्थिक वर्षको अन्तिममा निगमको आर्थिक नियम अनुसार कमिसन दिनुपर्छ,’ उनले भने ।