काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि वडा अधिवेशन कार्यातालिका फेरि परिवर्तन गरेको छ।
मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन कार्यतालिका परिवर्तन गरिएको जनाएका छन्। भोटेकोसी बाढीका कारण वडा अधिवेशन कार्यतालिका परिमार्जन गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले आउँदो असोज ३ र ४ गते वडा अधिवेशन गर्न निर्देशन दिएको छ। विज्ञप्तिमा ‘ गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)’ भनिएको छ।
कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र गर्न भनेको छ। यस्तै, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते तोकिएको छ। केन्द्रीय महाधिवेशनभने असोज १६ देखि १९ गतेसम्म हुने जनाएको छ।