काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर पुगी भगवान् श्रीकृष्णको पूजाआराधना र दर्शन गरेका छन्। प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले पूजाआराधनापछि पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।
मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतका जनप्रतिनिधि तथा उच्च अधिकारीहरूले राष्ट्रपतिलाई स्वागत गरेका थिए। पूजापछि उनले ऐतिहासिक मङ्गलहिटीको समेत अवलोकन गरे।
भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। १७ औँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको कृष्ण मन्दिरमा जन्माष्टमीका दिन राष्ट्राध्यक्षले विशेष पूजाआराधना गर्ने पुरानो परम्परा रहँदै आएको छ। गणतन्त्र स्थापनापछि पनि राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले सोही परम्परालाई निरन्तरता दिँदै आएका छन्।