कांग्रेस संस्थापनइतर समूहले अघि सार्‍यो छुट्टै महाधिवेशनको कार्यतालिका

कांग्रेस संस्थापनइतर समूहले अघि सार्‍यो छुट्टै महाधिवेशनको कार्यतालिका

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ। बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताको बैठकमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको हो।

जसमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ। यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावमाथि इतर पक्षमा छलफल भइरहेको छ।

कांग्रेसले आगामी असोज १६-१९ मा महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक काम थालेका बेला इतर पक्ष छुट्टै महाधिवेशनको दिशामा अगाडि बढेको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई भागमा विभाजित छ। कांग्रेस आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था दुवै पक्ष छुट्टाछुट्टै महाधिवेशन गर्ने गरि अगाडि बढेको देखिन्छ।