परिणाम नदिए फेरि ‘भदौ २३’ दोहोरिन सक्छ: रवि लामिछाने

परिणाम नदिए फेरि ‘भदौ २३’ दोहोरिन सक्छ: रवि लामिछाने

काठमाडौं।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई परिणाममा बदल्न नसके फेरि ‘भदौ २३’ जस्तै राजनीतिक उलटपुलटको परिस्थिति आउन सक्ने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री लामिछानेले युवा नेतृत्व र उनीहरूको सहभागितामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन सरकार र जनप्रतिनिधिले काम गरेर देखाउनुपर्नेमा जोड दिए।

गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई स्मरण गराउँदै उनले रातारात राजनीतिक समीकरण बदल्न सक्ने जनआक्रोशप्रति सतर्क गराए। “गत वर्षको भदौ २१, २२ गतेसम्म दुईतिहाइको शक्तिशाली सरकार थियो। तर भदौ २३ मा रातारात परिस्थिति बदलियो,” लामिछानेले भने, “हामीले आफ्ना कामबाट गलत भाष्य चिर्न सकेनौँ भने हेर्दाहेर्दै फेरि त्यस्तै जोखिमपूर्ण डिलमा पुग्न सक्छौँ।”

अहिले रास्वपा दुईतिहाइ नजिकको बहुमतसहित सरकारमा रहेको र गत पुसमा पार्टी प्रवेश गरेका वालेन्द्र शाह प्रधानमन्त्रीको भूमिकामा रहेका छन्। वालेन्द्र नेतृत्वको सरकारले सोचेजस्तो नतिजा दिन नसकेको आलोचना भइरहेका बेला सभापति लामिछानेको यो अभिव्यक्ति आएको हो।

युवाहरूले पाएको जिम्मेवारी पूरा गर्न नसके समाजमा नयाँ भाष्य निर्माण हुने र त्यसको प्रत्यक्ष असर भावी पुस्तामा पर्ने उनको भनाइ थियो। “यदि हामीले जिम्मेवारी पूरा गर्न सकेनौँ भने केही वर्षभित्रै ‘युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने भाष्य बन्ने छ। त्यसको सबैभन्दा ठूलो सिकार अहिले परिवर्तनका लागि अघि सरेका युवा नै हुनेछन्,” उनले स्पष्ट पारे।

लामिछानेले अहिलेको राजनीतिक अवसरलाई व्यक्तिगत प्रशंसा वा पदमा रमाउने माध्यम नबनाउन आग्रह गर्दै युवा सांसद तथा मन्त्रीहरूलाई जिम्मेवारीको गम्भीरता बुझ्न निर्देशन दिए।

आफूहरू ‘फ्रेस’ मात्र भएको र ‘तगडा’ हुन अझै बाँकी रहेको उल्लेख गर्दै उनले प्राप्त प्रतिष्ठामा अलमल्ल नपरी इमानदार र सुझबुझपूर्ण ढंगले काम गर्न रास्वपाका नेता-कार्यकर्ताहरूलाई आह्वान गरे।

छुटाउनुभयो कि ?