काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गरेर सही बाटोमा ल्याउने चेतावनी दिएका छन्।
संसद्मा रास्वपाका सांसदहरूले नै ग्यास अभाव, सर्भर समस्या र शासकीय कमजोरीलाई लिएर सरकारको कडा आलोचना गरेपछि तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले "कहिलेकाहीँ एक्लै लड्नुपर्छ" भन्दै आन्तरिक दूरीको सङ्केत दिएपछि सभापति लामिछानेको यो कडा प्रतिक्रिया आएको हो।
सरकारको कार्यशैली र स्थायित्वका विषयमा सार्वजनिक टिप्पणी गर्दै लामिछानेले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता रास्वपासँग सुरक्षित रहेको स्पष्ट पारेका छन्। यद्यपि, सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेतर्फ पार्टी सचेत रहेको उनले उल्लेख गरे।
सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले भने, “सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ। सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ।”
अहिले देखिएको राजनीतिक र शासकीय खिचातानीलाई ‘टर्बुलेन्स’ (अवरोध) को उपमा दिँदै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। “यो यात्रामा कहिलेकाहीँ टर्बुलेन्स आउँछन्। बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ। तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन। त्यसैले— ‘सिट ब्याक एन्ड रिल्याक्स’। हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ,” लामिछानेले भने।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले पार्टी तथा क्याबिनेटमा पर्याप्त सल्लाह र समन्वय नगरेको भन्दै रास्वपाभित्रै असन्तुष्टि चुलिएको छ। अर्कोतर्फ, मन्त्री र नागरिक-पार्टीबीचको दूरी घटाउन रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममार्फत मन्त्रीहरूलाई हरेक महिना पार्टी कार्यालयमा उपस्थित गराउने निर्णय गरिसकेको छ।
यी घटनाक्रमका बिच सभापति लामिछानेले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई नियन्त्रण र सन्तुलनमा राखेर सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।