काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली भाषाप्रेमी समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। .
राष्ट्रपति पौडेलले एक विशेष सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान तथा विकासमा आदिकवि भानुभक्तले पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गरेका हुन्। उनले भानुभक्तको साहित्यिक साधना र योगदानकै कारण नेपाली भाषा सर्वसाधारण जनताको साझा भाषाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गरेका छन्।
सन्देशमा राष्ट्रपति पौडेलले विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिका भानुभक्त आचार्यलाई नेपाली साहित्यको प्राथमिक कालका विशिष्ट प्रतिनिधि कविका रूपमा चित्रण गरेका छन्।
संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई अत्यन्तै सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा भावानुवाद गरेर भानुभक्तले नेपाली वाङ्मयको बलियो जग बसालेको उनको भनाइ छ। भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरूबीच भावनात्मक एकता मजबुत बनाउन तथा सामाजिक चेतना अभिवृद्धि गर्न दूरगामी भूमिका खेलेको राष्ट्रपति पौडेलले स्पष्ट पारेका छन्।
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा आदिकविले पुर्याएको गुन अतुलनीय रहेको चर्चा गर्दै विश्वभरका नेपालीभाषी समुदायलाई भाषिक रूपमा एकताबद्ध बनाउन यो योगदान महत्त्वपूर्ण रहेको बताए।
यसैगरी, उनले भानुभक्तको ऐतिहासिक जन्मस्थल चुँदीरम्घालाई एक प्रमुख साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा मात्र उहाँप्रति सच्चा सम्मान हुने र यसका लागि सबै क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिएका छन्।