आइजिपी बन्न चार एआइजीबीच तीव्र प्रतिस्पर्धा, यस्तो छ ट्रयाक रेकर्ड

आइजिपी बन्न चार एआइजीबीच तीव्र प्रतिस्पर्धा, यस्तो छ ट्रयाक रेकर्ड

काठमाडौं। नेपाल प्रहरीको ३३औँ आइजीपीको प्रतिस्पर्धीका रुपमा चार एआइजी देखिएका छन्। प्रहरी प्रमुखका लागि पहिलो नम्बरका दाबेदार एआईजी दानबहादुर कार्की हुन्। उनी वरीयताका कारण पहिलो दाबेदार बनेका हुन्।

डीआईजी बढुवादेखि एआईजीसम्म नै कार्की बढुवा सूचीको एक नम्बरमा छन्। भदौ २४ गते जेनजी प्रदर्शनको कमाण्ड सम्हाल्न आकस्मिक रूपमा कार्की उपत्यकाको कमान्ड सम्हाल्न पुगेका थिए। एआईजीको सरुवाको अधिकारी मन्त्रिपरिषद्ले गर्ने भए पनि कार्कीलाई विशेष परिस्थितिमा रानीपोखरीको कमान्ड सम्हाल्न पठाइएका थिए।

यसअधि उनी डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रमुख र एआईजी बढुवालगत्तै प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख भएर काम गरेका थिए। एसएसपी हुँदा पनि उनले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हालेका थिए। कार्कीकै कार्यकालमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा सरकारका बहालवाला सचिव तथा पूर्वगृहन्त्रीसमेत पक्राउ परेका थिए।

आईजीपीको सचिवालयमा समेत बसेर अनुभव लिएका कार्की संगठनमा नरम शैलीमार्फत मातहतका कर्मचारीलाई प्रभावमा राख्ने अधिकारीका रूपमा परिचित छन् । उनले प्रहरी सम्बन्धी केही गीतहरूसमेत लेखेका छन् ।

कार्कीपछि वरीयताको दोस्रो नम्बरमा रहेका एआईजी राजन अधिकारी हुन । अधिकांश समय प्रहरी प्रधान कार्यालयकै विभिन्न युनिटहरूमा काम गरेका छन् । उनी आफैमा भद्र प्रहरी अधिकारी हुन् ।

डीआईजी हुँदा भने अधिकारी कोसी प्रदेश प्रमुख भएर कमान्ड सम्हालेका थिए । हाल हेडक्वार्टरस्थित मानव स्रोत साधन विभाग प्रमुख छन् । डीआईजी हुँदा प्रधान कार्यालयकै अपराध अनुसन्धान विभाग प्रमुख थिए । उनले सहसचिव चुडामणी शर्मा, दीपक मनाङे, दूर्गा प्रसाई, सञ्जय टक्लाको अपराध अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेका थिए ।

अधिकारीपछि आईजीपीका रूपमा चर्चामा रहेका अर्का एआईजी हुन्, डा. मनोज केसी । हाल प्रहरीको मेरुदण्डका रूपमा रहेको सीआईबीको कमान्ड सम्हालेका केसी आफूलाई अनुसन्धानमा दख्खल राख्ने अधिकृतको रुपमा दावी गर्दै आएका छन् ।

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रमुख मध्येका एक हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए ।

वरीयतामा तेस्रो नम्बरका उनी डीआईजी हुँदा प्रहरीको विशेष ब्युरो प्रमुख थिए । एआईजीमा बढुवापछि भने केसी प्रदेश समन्वय विभाग तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख भए । आईजीपीका अर्का दाबेदार एआईजी शाह हुन् । उनले सिआइबीमा आएपछि कृष्णबहादुर महरालाई पक्राउ गर्दा सबैभन्दा कमजोर पात्र छानेको भन्दै आलोचना भैरहेको छ ।

हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह यसअघि प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख थिए । वरीयतामा चौथो नम्बरमा परे पनि उनी जेष्ठताका आधारमा भने पहिलो नम्बरमा छन् ।

उनले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा शुरु गरेका हुन् । जेनजी प्रदर्शनका क्रममा अराजक समूहले प्रहरी प्रधान कार्यालयमाथि आक्रमण गर्दा शाह नेतृत्वकै टोलीले प्रहरी प्रधान कार्यालय जोगाएका थिए । शाह यसअघि डीआईजी हुँदा विशेष ब्युरो प्रमुख थिए ।

सरकारले उनीहरुलाई प्रहरी नियमावली २०७१ को दफा ४१ अनुसार बढुवा गर्नेछ । जसमा आईजीपीमा बढुवाका लागि एआईजीपीहरू सिफारिस गरिने तथा एआईजी नभएको अवस्थामा डीआईजीपीमध्येबाट समेत बढुवा गर्न सकिने उल्लेख गरिएको छ । तर, हाल आईजीपीका लागि एआईजी नै प्रतिस्पर्धामा छन् ।

बढुवा गर्दा भने ‘जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उमेदवारलाई आईजीपी पदमा बढुवा गर्ने सक्ने उल्लेख गरिएको छ ।