विध्वंसको स्थितिबाट हामी सबै गुज्रिदै गर्दा कसको के स्थिति हुने हो ? सबभन्दा बढी त नेतृत्व सुरक्षित छ कि छैन ? कहाँ होला के होला भन्ने दुई दिन तीन दिनसम्म निकै अन्योलको स्थितिबाट सिंगै देश र हामी सबै गुज्रियौं ।
म पहिलो पटक सार्वजनिक हुँदा पेरिस डाडामा हाम्रा कमरेडहरूको अभिव्यक्ति जे मैले त्यहाँ सुनेको थिएँ, देखेपछि मात्रै धेरै भन्नै नपर्ने, अगाडि उभिएपछि प्रशिक्षण जस्तै हुने अवस्था थियो ।
हामी अहिले साँच्चै एउटा चुनौतीपूर्ण स्थितिबाट गुज्रेका पनि छौं । फेरि, साथसाथै हामी खुशी र गर्वको स्थितिबाट पनि गुज्रेका छौं।
हामी पार्टी केन्द्रको निर्णय अनुसार मध्य पहाडी लोकमार्ग अभियानमा थियौं । हामी २२ गते लमजुङ र २३ गते गोर्खा जिल्लामा बडो उत्साहको साथ हजारौं जनतासँग अन्तरसंवाद गर्दै अगाडि बढ्दै थियौं।
काठमाडौंमा जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने कुरा पनि थियो। हामीले त सरकारलाई लगातार खबर खबरदारी गर्दै नै आएका थियौं। चाहे पहिलो चोटी कांग्रेस र एमाले गठबन्धन बन्दै गर्दा र अन्तिम विश्वासको मतको निम्ति मैले सदनबाट सिंगो राष्ट्रलाई सम्बोधन गर्दै भनेको थिएँ-
‘तपाईहरूले जे गर्नुभएको छ गलत गर्नुभएको छ र यसको परिणाम धेरै गम्भीर आउने निश्चित छ । तपाईहरूले संविधान, लोकतन्त्रको मूल्य मान्यता, प्रतिनिधिसभाको परम्परालाई पनि तपाईहरूले मिच्नु भएको छ र कथित संख्याको बलमा जे गरे पनि हुन्छ भन्ने तपाईहरूले सोच्नु भएको छ, गलत सोच्नु भएको छ।’
तराई मधेसमा झन्डै एक महिनाभन्दा बढी लामो अभियानका क्रममा पनि लाखौं जनता जनताको अगाडि यी कुराहरू राख्यौं ।
दमन नगर्न गोर्खाबाटै भनेको थिएँ
मध्यपहाडी लोकमार्ग अभियानमा लमजुङबाट गोर्खा हुँदै हामी घ्याम्पे सालबाट आरुघाटतिर जाँदै गर्दा जसरी घटनाक्रम अगाडि बढ्यो, मैले त्यही अभियानकै बीचबाट जेन्जी युवाहरूले उठाएका भ्रष्टाचारका विरुद्ध भ्रष्टाचारीहरूलाई कारबाही गरिनुपर्छ, सामाजिक संजाल माथि लगाइएको प्रतिबन्ध हटाउने र देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्छ भन्ने माग थिए ।
यी हामीले झन्डै १० वर्ष देखि लगातार उठाउँदै आएको र संविधानसभामा रिजर्भेसन राखेको माग थिए । मैले छोटो स्ट्याटस लेखेँ- जेन्जी युवाहरूले उठाएको माग जायज छन् र सरकारले उनीहरूको आन्दोलनमा बल प्रयोगको दृष्टता नगरोस् ।
मैले त्यो स्ट्याटस २३ गते आन्दोलन अगाडि बढ्नुभन्दा पहिले नै राखेको थिएँ यद्यपि त्यसबारे विभिन्न कमेन्टहरू भए । तर हामीले राखेका कुराको ऐतिहासिक महत्व थियो।
हामी सरकारमा हुँदा वा बाहिर रहँदा उठाउँदै आएका मुद्दाहरूलाई युवाहरूले सामाजिक संजाल मार्फत एउटा विशेष एप्प्स बनाउँदै हजारौं हजार युवाहरूलाई त्यही मागमा एकत्रित गर्ने कुरा हाम्रो लागि खुशी र गर्वको कुरा थियो । त्यसकारण हामीले यी हाम्रा पनि माग हुन् । हामीले उठाउँदै आएका मागहरू अहिले जेन्जी युवाहरूले उठाउनु माओवादी केन्द्रको निम्ति खुशीको कुरा हो । मैले आरुघाटमा यही स्पिरिटमा कुरा राखेको थिएँ ।
ओली अपमानले युवा उत्तेजना बढ्यो
तर २३ गते सरकारले निकै ठूलो सुरक्षा लापरबाही, कमजोरी गर्यो । जनताका आवाजहरूलाई सही आवाजहरूलाई बेवास्ता त गर्दै आएकै थियो । सरकारले भ्रष्टाचारीहरूलाई बचाउने र राम्रा मान्छेहरूलाई कारबाही गर्ने उपक्रम त अगाडि बढेकै थियो ।
युवाहरूले यी विषयहरू उठाउँदै गर्दा त्यसलाई यति धेरै मिनिमाइज र अपमानित गर्ने कुरा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरे, त्यसले झन् ठूलो उत्तेजना थप्ने काम आगोमा घिउ हालेको जस्तै मात्रै काम गर्यो र २३ गते सरकारको यति गैरजिम्मेवार र लापरबाहीपूर्ण गतिविधि भयो ।
युवाहरूले शान्तिपूर्ण आन्दोलन भनिराखेका थिए । बानेश्वर चोकसम्म आउँदा विशुद्ध त्यो शान्तिपूर्ण युवा आन्दोलनको रूपमा नै थियो । सरकारले आफ्नो सुरक्षा संयन्त्रलाई राम्रो तयारीका साथ ब्यारिकेड खडा गरेको भए र युवाहरूलाई सम्झाएको भए शान्तिपूर्ण ढंगले नै ती मागहरू अगाडि बढ्ने पूरै सम्भावना थियो ।
अहिले देश भित्रका देश बाहिरका सबै सुरक्षा विशेषज्ञहरूले भनेका छन्, सरकारको लापरबाहीको कारणले नै अन्ततः आईसीसीको गेटसम्म मास जाने स्थिति बन्यो र एउटा नरसंहारको स्थिति बन्यो । स्कुल र कलेजको ड्रेसमा भएका युवाहरूलाई टाउको र छातीमा ताकेर गोली हानेको कुरा अहिले विश्वभरि स्थापित भयो ।
यो नेपालको निम्ति, नेपालका राजनीतिक दल हामी सबैको निम्ति पनि लज्जाको विषय बन्न गयो र यति ठूलो घटना अगाडि आयो ।
हामीले त्यो बीचमा अभियान तुरुन्तै रोकेर २३ गते राति नै काठमाडौं आएर पदाधिकारीको बैठक बस्यौं।
जेएनजीका माग सही छन् भन्ने पहिलो पार्टी पनि हामी नै भयौं। औपचारिक र आधिकारिक ढंगले पार्टीको बैठक बसेर तीन निर्णय गर्यौं- जेएनजी आन्दोलनका मृतकहरूलाई सहिद घोषणा गर्ने, यहाँ भएको नरसंहारको उच्चस्तरीय छानबिन गरेर दोषीलाई कारबाही गर्ने र अबिलम्ब प्रधानमन्त्रीले राजीनामा दिने ।
सिंहदरबारबाट खुमलटार जान चाहन्थेँ
राति साढे दस बजे नै हामीले त्यसलाई प्रसारित गर्यौं । यसो गर्ने पनि पार्टी हामी नै भयौं । यसको विशेष अर्थ छ ।
२४ गते बिहान हाम्रो नै त्यस्तो पार्टीको रूपमा देखा पर्यो जसले सबै प्रतिपक्षहरूलाई पनि बैठक बसेर एउटै आवाज बनाउनपर्छ भन्यो । हाम्रो संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिपक्षीहरूको बैठक ११ बजे राति बोलायौं । हामीले अघिल्लो दिन गरेको पार्टीको निर्णय अनुसार नै प्रतिपक्षबाट पनि बाहिर मेसेज पठायौं ।
त्यसो गर्दागर्दै स्थिति तनावपूर्ण हुँदै गयो । ११ बजे वरिपरि जाँदा सिंहदरबारका चारैतिरका गेटहरूमा पनि भिड बढ्दै गयो । त्यो अलि अस्वाभाविक खालको देखिंदै पनि गयो । मसँग भएको सुरक्षाकर्मीहरूले अहिले बाहिर जाने स्थिति छैन । अन्त भन्दा सुरक्षित हुने त बरू सिंहदरबार नै छ भन्ने सुझाव दिए । अब यो कहिलेकाहिँ बडो विचित्रको संयोग पनि हुँदो रहेछ । मेरो त विचार थियो- प्रतिपक्षको बैठक सकेर खुमलटारमै जाने र त्यहाँ गएर खाना खाएर फेरि अरू बैठकतिर लाग्ने योजनाको साथ गएको थिए मँ।
सिंहदरबारमा मसँग अरू साथीहरू पनि हुनुहुन्थ्यो। खासगरी त्यतिबेला प्रतिपक्षको बैठकमा कमरेड वर्षमान पुन लगायतका अरू नेताहरू पनि हुनुहुन्थ्यो। हामी घर फर्किने हिसाबले नै थियौँ त्यहाँ।
बस्दाबस्दै दक्षिण गेटको पुलिस बिट जल्यो र अब भिडभित्र पस्न बल गर्दैछ भन्ने भयो । संयोग कहिलेकाहिँ कस्तो बडो विचित्रको हुँदो रहेछ। मसँग दुई ढाई वर्ष सँगै बसेको डीएसपी सिंहदरबार परिसरको पुलिस प्रमुख हुनुभएको थियो।
भर्खरै मबाट छुटेर जानु भएको थियो । उहाँ आउनु भयो हस्याङफस्याङ गर्दै र यहाँ पनि सुरक्षित छैन भन्नुभयो उहाँले । अहिले अर्को तयारी पनि गर्न सकिंदैन । तत्काल मान्छे अरू ल्याएर उता र प्रतिवाद गर्न पनि सकिंदैन। यो ठाउँमा पनि आउँछन् भनेर उहाँले सूचना गर्नुभयो।
अरू अरूको र हाम्रो फरक के भयो?
२४ गतेको दिन अरू पार्टीका नेताहरू, पूर्व प्रधानमन्त्री सबैलाई र प्रधानमन्त्रीसम्मलाई पनि सेनाले कोहीलाई हेलिकप्टरमा, कोहीलाई समातेर गाडीमा हालेर विभिन्न ठाउँमा, ब्यारेकमा लाने काम भएको थियो त्यो दिन । हाम्रो मात्रै र मेरो मात्रै स्थिति के भने हामी खोज्दै गयौं सेनालाई ।
त्यस्तो पार्टी । अब यो इतिहासमा यसको त धेरै अर्थ मूल्यांकन हुँदै जाला भोलि । तर हामी त्यस्तो भयौं कि अब सिंहदरबार भित्र पनि सेनाको संरक्षणमा गएर मात्रै सुरक्षित हुन सकिन्छ भन्ने सुझाव मसँग भएका सेक्युरिटीले दिइसकेपछि हामी त्यही अनुसार सेनासँग सम्पर्क गरेर उहाँहरूको सहमति लिएर हामी सुरक्षामा गयौं । सिंहदरबार भित्रै ।
सिंहदरबारभित्र । बाहिर होइन फेरि । कोहि कोहिले सिंहदरबार बाहिर होला कोहिले शिवपुरी होला कोहिले हेटौडा होला अथवा कोहिले कहाँ भन्ने पनि कल्पना गरे । हामी कहिँ थिएनौं सिंहदरबार परिसरमै थियौं ।
सिंहदरबारमै बसेर सबैसँग संवाद गरिरहेँ
अरूको र हाम्रोमा फरक के हो ? हामीलाई कसैले लिएर गएको या कसैले यहाँ आउनुस् यहाँ सुरक्षित हुन्छ भनेको होइन । हामीले नै सुरक्षाको खोजीमा त्यहाँ जाने वातावरण बन्यो । हामी त्यहाँ गयौं । बडो सुरक्षित ढंगले नै बस्यौं हामी । पहिलो दश बुँदे वक्तव्य त्यहीँ ड्राफ्ट गरियो र त्यहीँबाट प्रसारित गरियो।
राष्ट्रपति, प्रधानसेनापति, राजनीतिक दलका नेताहरूसँग लगातार-लगातार नै छलफल भइ नै राख्यो मेरो। सम्पर्क भई नै राख्यो र परिस्थितिलाई कसरी सहज गर्न सकिन्छ भन्ने कुरामा राजनीतिक दलहरूको बीचमा, राष्ट्रपतिजीसँग र अन्य सुरक्षा निकायका प्रमुखहरूसँग पनि लगातार छलफल भइ नै राख्यो ।
यो हाम्रो लागि सौभाग्य को कुरा पनि भयो । अवसर को कुरा पनि भयो र त्यसले अन्तत २६ गतेको दिन राष्ट्रपति भवनमा गम्भीर छलफल सहित अहिले जे स्थिति बनेको छ त्यो स्थिति बन्यो ।
खतरा के थियो त २४ र २५ गते र २६ गते दिउँसोसम्म पनि स्थिति के हुने भन्ने कुराको अन्योल देशभरि छाएको थियो । तपाई हामी सबैको मनमा छाएको थियो । २६ गते रातभरि नै हामी बस्यौं र रातभरिको छलफल पछि अन्तरिम सरकार गठन गर्ने र अन्तरिम सरकारको प्रधानमन्त्रीलाई निवर्तमान भनौं कामचलाऊ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र राष्ट्रपतिले संविधानको संरक्षकको नाताले ‘डक्ट्रिन अफ नेसेसिटी’ भन्ने एउटा सिद्धान्त जो विश्वभरि प्रचलित हुन्छ त्यही डक्ट्रिन अफ नेसेसिटी अर्थात् आवश्यकताको सिद्धान्तमा टेकेर राष्ट्रपतिजीलाई हामीले यो गरेर जाँदा हुन्छ भन्ने सुझाव दियौं ।
यद्यपि प्रधानमन्त्री नियुक्त भइसकेपछि त्यसको अनुमोदन सदनबाट होस् र निर्वाचनको मिति सदनबाट नै घोषणा होस् भन्ने हामी चाहन्थ्यौं।
हामीले त्यो सुझाव पनि राखेका थियौं तर त्यो सम्भव भएन। अन्तिममा राष्ट्रपतिले मैले जति गर्न सके मैले मैले यति गरेँ। अब यो भन्दा अगाडि स्थिति हुने वाला छैन भनेपछि हामीले हाम्रो असहमति त रहन्छ यो प्रक्रियामा, तर तपाईले जे गर्नुहुन्छ अन्तरिम सरकार गठन गरेर निर्वाचनको मिति घोषणा गर्ने बारेमा त्यसमा हाम्रो फेरि समर्थन हुन्छ। विधि प्रक्रियामा हाम्रो असहमतिका बाबजुद भनेपछि नै यो निर्णय भयो।
द्विविधा नराख्नुस्, चुनाव हुन्छ
अन्तरिम सरकार गठन भएपछि सबभन्दा पहिला पार्टीको केन्द्रीय समितिको बैठक बसेर यो परिस्थितिको सामना पार्टीले कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने बहस गर्ने र एउटा निष्कर्ष दिने पहिलो पार्टी पनि हाम्रो पार्टी नेकपा माओवादी केन्द्र नै भयो । यसको पनि विशेष अर्थ र महत्व छ ।
पार्टी भित्रै के हुने हो भन्ने चिन्ता पनि धेरैलाई थियो तर हामीले पूरै जनवादी र लोकतान्त्रिक तरिकाले साथीहरूका केहि असहमति आलोचनालाई पनि औपचारिक ढंगले प्रस्तुत गरेर बहस गराएर र अन्तिममा केहि मूलभूत निर्णयहरू सर्वसम्मत रूपले हामीले गर्यौं ।
अबको परिस्थिति परिस्थितिमा हामीले निर्वाचनमा सहभागी हुनुपर्छ र निर्वाचनको तयारी गर्ने कुरालाई नै प्राथमिकता दिनुपर्छ भन्ने कुरामा हाम्रो सर्वसम्मत निर्णय केन्द्रीय समितिबाट हामीले गर्यौं र पार्टीलाई मूलभूत रूपमा एकताबद्ध गर्ने काम पनि हामीले गर्यौं ।
पहिलो सार्वजनिक रूपमा अगाडि आउने पार्टी र नेतृत्व हामी नै हुने अवस्था अवसर भयो।
पेरिस डाँडामा सफाई अभियानको क्रममा र संविधान दिवसको दिन मैले मन्तव्य दिएँ । संविधान दिवसको दिन राष्ट्रपति भवनमा गएर त्यहाँको कार्यक्रममा सहभागी हुने कुरासम्म हामी सबभन्दा अगाडि भयौं।
यसरी हामीले हरेक घटनामा पहिला पहल लिइरहेका छौं । देशको राजनीतिक परिस्थितिलाई सहज बनाउनेतिर हामी अगाडि बढी नै राख्यौं । अब मुख्य कुरा त जेन्युन जेन्जी अर्थात् सक्कली जेन्जीसँग संवाद गरेर उहाँहरूमा रहेको विभ्रम बारे क्लियर गर्ने काम यो बीचमा धेरै भएको छ । यसबारे अहिले धेरै व्याख्या गर्न सायद उचित हुँदैन।
अब ती हिजो को हुन् को हुन् जस्ताको पनि माओवादी केन्द्र र प्रचण्ड नै हाम्रो अभिभावक हो भन्ने ठाउँमा आउँदैछन् ।
कतिपयले भन्ने गरेको सुनेको छु- नेपालको राजनीति बुझ्नलाई महाभारत र रामायण पढ्न पर्दो रहेछ र प्रचण्ड पढेपछि पुग्ने रहेछ। यो चेतना बिस्तारै बढ्दैछ ।
राष्ट्र त अहिले संकटमा छ । प्रतिक्रियावादीहरूले तीनवटा ठूला पार्टी एउटै हुन् भन्ने बनाउन खोजिरहेका थिए । अझै पनि छ एक थरीले एउटै हुन् भन्ने गरेको बेलामा हामीले जेन्जीको भावनालाई पनि सम्बोधन गर्ने गरी तुरुन्तै केन्द्रीय समितिलाई विघटन गर्ने, आयोजक समितिमा रुपान्तरण गर्ने, अध्यक्षलाई संयोजकको रूपमा प्रस्तुत गर्ने र विशेष महाधिवेशनमा गएर पार्टीको यो सबै परिस्थितिको साङ्गो पाङ्गो विश्लेषण गर्ने निर्णय गर्ने पहिलो पार्टी पनि हामी नै भयौं ।
यी सबै कुराले आन्दोलनकारी युवाहरूमा बिस्तारै बिस्तारै सबै एउटै होइन रहेछन् एउटै भन्ने गलत रहेछ भन्ने चेतना आउँदै छ। आइरहेको छ र यो हामी सबैको निम्ति सन्तोषको कुरा पनि हो।
अब निर्वाचन होला कि नहोला? हामी सबैको मनमा एउटा प्रश्न उब्जिने नै कुरा हो। अहिलेको सबै परिस्थिति त के होला भन्ने थियो तर म भन्न चाहन्छु- भने निर्वाचन हुन्छ। अब द्विविधामा नबसीकन निर्वाचनको तयारी, मतदातालाई अपग्रेड गर्ने, नयाँ मतदाता कोही नछुटुन भनेर तयारी गर्ने कामलाई बिल्कुल गम्भीरता र जिम्मेवारीका साथ लिएर लाग्नुस् । चुनाव हुन्छ।
के सोच्दैछ छिमेक ?
राष्ट्रपतिकोमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीका कुरा र यो बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुसँग भएका विभिन्न किसिमका सम्पर्क संवाद सबैले पनि अहिले हाम्रा दुइटै छिमेकीहरु पनि र पश्चिमा सबै पनि नेपालमा अब चुनावको विकल्प छैन भन्ने तिर आएको मैले नजिकबाट हेरेको छु ।
सरकार पनि अर्को विकल्प छैन भन्नेतिर नै गएको हुनाले चुनाव हुन्छ चुनाव हुनै पर्छ ।
हिजो मात्रै सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा पनि एमाले नेतृत्व बाहेक सबै नै अब चुनावै हो र चुनावमै जानुपर्छ । संसद पुनर्स्थापना स्थापनाको विकल्प त छ तर अहिलेको प्राथमिकता पुनःस्थापना होइन, निर्वाचन नै हो भन्नेमा सबै दलहरु पुगेको अवस्था छ ।
एमालेको पनि सचिवालयको बहुमत चुनावमा जानुपर्छ भन्ने मा नै भएको स्थिति छ । ढिलो छिटो सबै नै चुनाव मा आउनुको विकल्प छैन । कता कता अब केपीजीको तपाईंले अभिव्यक्ति सुनिराख्नु भएको छ । मलाई त अनौठो लाग्छ । मलाई लाग्छ- एमालेकै ठूलो पंक्तिलाई पनि अचम्म लागेको होला ।
यत्रो विध्वंस भयो । उनकै नालायकीका कारणले यति ठूलो जनधनको क्षति भयो तर रतिभर पनि पश्चाताप छैन । आत्माआलोचना छैन । आत्मसमीक्षा छैन । मैले त केही गरेकै थिइनँ भनेर अन्यत्र दोष देखाउने जो हर्कत भएको छ, मलाई त शंका के हुन्छ उनको यो गतिविधिबाट ?
पहिला उनी संसद विघटन दुई दुईपटक संविधान मिचेर संसद विघटन गर्ने पात्र । हामी विघटन गर्न हुँदैन भनेर आन्दोलन गर्ने वाला । अहिले फेरि संसद विघटन भएर निर्वाचन घोषणा भइसकेको स्थितिमा फेरि पुनर्स्थापना भन्ने । यसबाट कहिँ उनी निरंकुशतन्त्रतिर, सामन्ती निरंकुशतन्त्रतिर फर्कने रणनीतिले काम त गरेको छैन ? तपाई हामी सबैले सोच्नु पर्ने स्थिति छ ।
तर मलाई लाग्छ- एमाले भित्रका सबै इमानदार देशभक्तहरूले यो राष्ट्र संकटमा भएको बेलामा उनको यो अहंकारमाथि विजय प्राप्त गर्ने छन् भनेर म विश्वास व्यक्त गर्छु चाहन्छु।
चुनावको बारेमा देश भित्र र बाहिरका विज्ञहरुको पछिल्लो आकलन सुनाउन चाहन्छु ।
यो विज्ञहरूको भनाइ हो- कांग्रेस र एमाले त अहिले तल जान्छ, माओवादीको चाहिं बढ्छ है यो पटक, माओवादी चाहिं तीनमध्ये एक नम्बरमा आउने सम्भावना छ भन्ने विश्लेषण सुनाएका छन् । तपाईहरुले के बुझ्नु भएको छ हिसाब गर्नुहोला । तपाई हामी सबै एक भएर अगाडि बढ्यौं भने त्यो स्थिति स्थिति बन्न सक्छ।
एकता के हुन्छ ?
हामी वामपन्थीहरू खासगरी समाजवादी मोर्चाको बीचमा पार्टी एउटै बनाउने भनेर लामो समयदेखि छलफल चलेको छ। अब त्यो एकता अन्तिम चरणमा छ। हामी चाहन्थ्यौं- आज र भोलि नै एकताको घोषणा गरौं । तर अन्य पार्टीहरुको आफ्नो आन्तरिक तयारी पूरा नहुँदा केही दिन ढिलो भएको छ। म व्याख्या नगरिकन भन्छु- एकता हुन्छ।
पहिलो एकता हामी समाजवादी मोर्चा भित्रबाट गर्छौं। हाम्रो टार्गेट एमालेसम्म छ । हामी यति भएपछि पुग्छ भन्नेमा छैनौं। एमाले किनभने त्यही एमाले हो जसलाई मैले नै प्रस्ताव गरेर एकता भएको थियो, तीन वर्षसम्म चलेको पनि थियो, चुनावमा अत्यधिक बहुमत आएको पनि थियो।
केपीकै कारणले यो सबै भताभुंग भएको हो। अहिले केपीलाई एमालेको नेताहरुले पनि बुझिसक्नु भएको हुनाले ढिलोछिटो वामपन्थीहरुको बृहत्तर एकता हुन्छ।
तर पहिलो कदम समाजवादी मोर्चा भित्रका पार्टीहरुको एकताबाट हुन्छ र त्यो एकता केही दिनभित्र हुने नै वाला छ । त्यसले फेरि नयाँ राजनीतिक ध्रुवीकरणको सुरुवात, नयाँ शक्ति संचयको सुरुवात, समाजवादी क्रान्तिको नयाँ अभियानको सुरुवात गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
(विहीबार प्रचण्डले चितवनमा राखेको मन्तव्यको सम्पादित अंश)