१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग

१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिइ बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् । 

असोज ५ गते राती ८ः३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए । अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन् । 

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ । 

अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको वृद्धवयका  बाजे लक्ष्मण सिंहले बताए ।

नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन् । 

बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान , खोज तलास र उद्धारका लागि सकृय भएको छ । घटनास्थलमा भेटिएका प्रहरी निरीक्षक गोविन्द साहले अनुसन्धान र खोज तलास सुरु गरिएको बताए । 

हराइ रहेका बालक जनता माध्यमिक विद्यालय बलहीमा कक्षा ७ मा पढदा पढदै पढाई छाडेको र आफ्नै स्वामित्वमा रहेको  सिटी रिक्सा तथा ट्रयाक्टर चलाउने गरेको छिमेकीहरुले बताए । 

बालक अभिषेकको अपहरणको खबर गोलबजार नगरपालिकामा डढेलो झैं फैलिएको छ । गोलबजार चोकदेखि ६ किलोमिटर दक्षिणमा रहेको डंग्राहा गाउँमा यो खबरले त्रास फैलिएको छ । स्थानीयहरु असुरक्षित महसुस गर्दैछन् ।  

समाचार संकलन गर्न गएका पत्रकारहरुलाई समाचार नलेखि दिन परिवारजनले आग्रह गरेका छन् । समाचार लेखेकै कारण बालक अभिषेकको ज्यान झन् खतरामा पर्ने भयले परिवारजनले आफ्नो नाम र घटनाको नालीबेली बताउन चाहदैनन् ।