भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष

भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष

काठमाडौं। नेपाली कांग्रेसले रुपन्देहीमा कांग्रेसको भोटको अवस्था मजबुत रहेको कारण कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्ष निकालेको छ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मधेसवादी दलहरू एक भएर लडेमा चुनौती हुनसक्ने भएपनि भोटको अवस्था मजबुत भएको कारण चुनाव जित्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनले भने, ‘अहिलेको पोजिसन के छ भन्न गाह्रो छ। प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भएर लड्ने भन्ने छ उनीहरूको पनि राम्रै उपस्थिति हुनसक्छन्। तर त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो। प्राविधिक रूपले हामीले चुनाव हारेका हौँ। तर हाम्रो भोटको अवस्था मजबुत रहेको आजको निष्कर्ष छ।’

त्यस्तै, उनले रुपन्देहीमा गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै रहेको दाबी गरे।
उनले भने, ‘हामीले हेर्ने भनेको रुपन्देहीमा विभिन्न गठबन्धनहरू थिए गएको निर्वाचनमा, गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै थियो। जसले त्यतिबेला २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत प्राप्त गरेको थियो। त्यसपछि मधेसवादी दलहरू थिए।’

उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने सम्भावना रहेकोे पनि बताए। बैठकमा मन्त्री फेरबदलको विषय भने प्रवेश नै नगराएको उनले जानकारी गराए।