काठमाडौं। नयाँ वर्षको सुरुवातसँगै मुलुकको राजनीतिले नयाँ दिशा लिने परिस्थिति निर्माण हुने देखिएको छ । मुलुकका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको नौ महिना पूरा भएको छ ।
संविधान संशोधनलाई मूल कार्यभार बनाएर गठन भएको कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको नौ महिना बितिसक्दा पनि त्यसका लागि एउटा कार्यदलसमेत बनेको छैन । दुई दलबीच भएको सहमतिमा मुलुकको आर्थिक अवस्था उकास्ने, जनताका आवश्यकता पूरा गर्नुका साथै राजनीतिक स्थिरता दिने उल्लेख छ । तर, मूल कार्यभार बनाएका विषय पूरा हुनुको सट्टा झन् अन्योलता सृजना हुँदै गएको छ ।
सरकारले यसबीचमा राजनीतिक स्थिरता, प्रणालीको विकास र सुशासनको दिशामा थप चुनौती बढाउने काम गरेको भन्दै सत्तारूढ दलको मुख्य घटक कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । सरकारले बिताएको नौ महिनाको कार्यकालले आम नागरिकमा आशाभन्दा बढी निराशा बढाउने काम गरेको छ ।
सरकारले अपेक्षाकृत काम गर्न नसकेको, सरकारका काम कारबाहीप्रति जनतामा बढ्दो असन्तुष्टि, सत्तारूढ दलभित्रकै असन्तुष्टि र बाहृय परिस्थितिका कारण मुलुको सत्ता राजनीति नयाँ परिवेशमा प्रवेश हुनसक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकबाट गत पुस महिनामै संविधान संशोधनको लागि कार्यदल बनाउने घोषणा गरिएको थियो । तर, अहिलेसम्म पनि संविधान संशोधनका लागि कार्यदल गठन भएको घोषणा भएको छैन ।
सहमतिअनुसार सरकारले काम नगरेको भन्दै कांग्रेसभित्र धेरैअघि देखिनै नेता शेखर कोइरालाले असन्तुष्ट पोख्दै आउनुभएको छ । उहाँले सरकारका काम कारबाहीबारे असन्तुष्टि मात्रै नभएर गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउँदै आउनुभएको छ । सरकारले सुशासन दिन नसकेको, संविधान संशोधनको काम अघि नबढाएको, राम्रो काम गर्ने कर्मचारीलाई हटाएर राज्य प्रणालीलाई थप कमजोर बनाउने काम गरेको र दण्डहीनता बढाएको कोइरालाको टिप्पणी छ । कांग्रेसभित्र वर्तमान गठबन्धन सरकारको मेरुदण्ड जस्तै बनेर उभिनुभएका कांग्रेस महामन्त्री गगन थापा पनि पछिल्लो समय सरकारका काम कारबाहीप्रति असन्तुष्ट बन्नुभएको छ । आफूहरूले दिएको सुझावअनुसार सरकारले काम नगरेपछि थापा बालुवाटारको घेराबाट बाहिर निस्कन खोजिरहनु भएको निकट नेताहरूको दाबी छ ।
अर्कोतिर, विपक्षी दलहरू मोर्चा नै बनाएर सरकारलाई घेराबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनका लागि निसर्त सहयोग गर्ने सार्वजनिक उद्घोष गरिसकेका छन् । प्रचण्डले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न आहृवान गरिरहेका बेला कांग्रेसभित्र पनि यसबारेको बहस भुसको आगो जसरी सल्किएको छ । सरकारका काम कारबाहीप्रति असन्तुष्ट नेताहरू सरकार गठनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै पार्टी सभापति शेरबहादुर देउवासमक्ष लविङ गरिरहेका छन् । सरकारकै काम कारबाहीलाई लिएर कांग्रेसभित्रको एउटा खेमाले सशक्त आलोचना गरिरहेको बेला प्रमुख प्रतिपक्ष दलका नेताको उद्घोषले सरकारकै भविष्यमाथि समेत आशंका बढाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन्। आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरू विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा नयाँ सरकार बन्ने कुरा गरेको बताएका हुन्।
नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ। वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि झण्डै झण्डै सडकमा रहेको अवस्था छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’ ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने दोहोर्याउँदै अध्यक्ष प्रचण्डले भने, ‘आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको छ । अब देश त्यतैतिर जाने अनुमान छ । पछिल्लोपटक घटनाक्रमहरू नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो मैले । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको काम गर्ने क्षमता दोब्बर बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै महामन्त्री शर्माले सडकको प्रदर्शन छाडेर सरकारको काम गर्ने क्षमतामा वृद्धि गर्न सुझाव दिएका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँगको सत्ता साझेदारीले पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेता कोइरालाले एमालेसँगको सहकार्यले कांग्रेस अप्ठ्यारोमा नपरोस् भन्नेमा नेतृत्व सचेत हुनुपर्ने बताएका हुन्। कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले रहेकाले पनि ओली नेतृत्वको सरकारलाई पार्टीले खबरदारी गरिरहनुपर्ने जिकिर गर्दै कोइरालाले भने, ‘यो सरकारमा हामी पनि सरकारमा छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । किनभने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिरहनुपर्छ । त्यो नगरे कांग्रेस अप्ठ्यारोमा पर्छ ।’ सरकारले सुशासन दिन नसकेको समेत आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘सुशासन वास्तवमा छैन भने पनि हुन्छ, सुशासन दिलाउनलाई कन्जुस्याइँ नगरौँ । भ्रष्टाचारको म कुरा गर्दिनँ । दण्डहीनता बढेको बढ्यै छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जान सक्छौँ भन्ने मलाई विश्वास छ।’