काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकबाट चिनियाँ नागरिक अपहरण गरी भारत लैजाने भारतीयको प्रयास असफल भएको छ । यस प्रकरणमा चार जना भारतीय नागरिक र एक जना चिनियाँ पक्राउ परेका छन् । एक जना भारतीय नागरिक भने फरार छन् ।
ठमेलस्थित होटल काठमाडौं स्क्वायरबाट मंगलबार दिउँसो ३ बजे एक जना चिनियाँ नागरिक अपहरणमा परेको सूचना आएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालन भएकामा मंगलबार राति र बुधबार बिहान गरी उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको सत्रक महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस शेख तथा अहमद नगर पुनेका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अम्बादस जग्गनाथ सिरसत रहेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार पक्राउ परेका चारैजना भारतीय पनि महाराष्ट्र प्रहरीबाट वारेन्ट जारी भएका आरोपी हुन् । उनीहरूकै आफन्तले उजुरी हालेकामा अहिले पनि मुद्दा चलिरहेको छ । पक्राउ परेका भारतीय नागरिकलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
यस्तै, उद्धार गरिएका चिनियाँ नागरिकमा वु हुवान रहेका छन् । प्रहरीलाई सुरुमा चिनियाँ नागरिक वान जिमिन अपहरणमा परेको सूचना प्राप्त भएको थियो । प्रहरीको कन्ट्रोल रुमले सो नामको चिनियाँ नागरिक अपहरणमा परेको जानकारी गराएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली क्षणभरमै परिचालन भएको थियो । सुरुमा प्रहरी टोली मंगलबार अपराह्न ३ बजे अपहरण गरिएको भनिएको होटल काठमाडौं स्क्वायर पुगेको थियो । त्यहीँबाट अनुसन्धान थालेको प्रहरी टोली त्यतिबेला आश्चर्यमा प¥यो, जतिबेला अपहरणमा परेका भनिएका चिनियाँ नागरिक वान जिमिन सोही होटलकै कोठामा भेटिए ।
काठमाडौंबाटै चिनियाँ नागरिक अपहरण भएको सूचना आएपछि अपराध महाशाखाबाट डीएसपी अनिल घिमिरेको टोली परिचालन भएको थियो । सो टोलीले होटल आसपासका सीसीटिभी फुटेजको अनुसन्धान गर्दा पाँच जना भारतीय नागरिकले एक चिनियाँलाई जबर्जस्ती गाडीमा हालेर लैजाँदै गरेको देखिएको थियो । त्यसपछि सुरु भएको थियो, अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार र अपहरणमा संलग्न भारतीय नागरिकको खोजी । तर, सीसीटिभी फुटेजमा गाडी नम्बर नखुलेपछि प्रहरीलाई केही समस्या भयो । लगत्तै प्रहरी टोलीले अन्यत्रका सीसीटिभी फुटेज अध्ययन गर्न थाल्यो । त्यसपछि भने अपहरणमा भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग भएको देखियो । अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको सवारीसाधन थियो एमएच१६डीजी ४९०४ नम्बरको कियाको सेरेन्सका कार । लगत्तै प्रहरीले सो गाडीको व्यापक खोजी ग¥यो तर काठमाडौंमा सो कार कतै देखिएन ।
यहीबीचमा अपराध महाशाखाको टोलीले सो कार मंगलबार अपराह्न १ बजेर ४६ मिनेट जाँदा फर्पिङबाट बाहिरिइसकेको पत्ता लगायो । सो कार यति छिटो हुइँक्याइएको थियो कि अपहरण भएको २१ मिनेटमै कार फर्पिङ पुगिसकेको थियो । अपराह्न १ बजेर ४६ मिनेटमा सो कार फर्पिङबाट दक्षिणकाली हुँदै सिस्नेरीतर्फ अगाडि बढेको पनि देखियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र नजिकका सबै प्रहरी बिट र कार्यालयलाई सो कार रोक्न र कारमा भएका सबैलाई नियन्त्रणमा लिन निर्देशन दिइयो भने काठमाडौंबाट अपराध महाशाखाको टोली सोही बाटो पछ्याउँदै त्यसतर्फ लाग्यो ।
मंगलबार अपराह्न करिब ३ बजेर ५० मिनेटमा मकवानपुरको सिस्नेरीस्थित प्रहरीले ब्लकेट राखेर सो कारलाई नियन्त्रणमा लिन खोज्यो । तर, सो कार ब्लकेट छल्दै अघि बढ्यो । सिस्नेरी प्रहरीको प्रयास सफल नभएपछि त्यसभन्दा अगाडिको भीमफेदीस्थित प्रहरी टोली अझै ठूलो ब्लकेट राखेर बस्यो । यतिखेर साँझ ५ बज्न लागिसकेको थियो । सिस्नेरीबाट भागेको करिब १ घण्टा १० मिनेटमा सो कार भीमफेदी पुगेको थियो । तर, बाटोमा ठूलो संख्यामा प्रहरीको तैनाथी र ब्लकेट देखेपछि अपहरणकारी टोली अगाडि बढ्न नसकिने निष्कर्षमा पुग्यो । त्यसपछि उनीहरू बाटैमा गाडी रोकेर चिनियाँ नागरिकलाई साथै लिएर जंगलतर्फ भागे । त्यसपछि भीमफेदी प्रहरी टोलीले तत्कालै कारका चालकलाई नियन्त्रणमा लियो । अनि अपहरित र अपहरणकारीको खोजी थाल्यो ।
मंगलबार साँझ करिब साढे ५ बजेदेखि प्रहरीले भीमफेदीको जंगलमा सर्च अभियान सञ्चालन ग¥यो । यस बेलासम्म अपराध महाशाखाबाट गएको प्रहरीको टोली पनि त्यहाँ पुगिसकेको थियो । त्यसपछि संयुक्त रूपमा भीमफेदीको जंगलमा सर्च अपरेसन चलाइयो ।
सोहीक्रममा राति करिब ८ बजे भीमफेदी जंगलबाट एक जना भारतीय नागरिक पक्राउ परे । खोजीकै क्रममा राति करिब १० बजे थप दुई भारतीय नागरिक पनि पक्राउ परे । अब पक्राउ पर्न बाँकी थिए अपहरणमा संलग्न एक जना भारतीय नागरिक र अपहरणमा परेका चिनियाँ नागरिक ।
एकातिर प्रहरीसँग उनीहरूको खोजीका लागि आवश्यक साधनको अभाव थियो भने थकान पनि बढ्दै थियो । तर, प्रहरी टोलीले हिम्मत हारेन । प्रहरी टोली मोबाइलको फल्यास लाइट बालेरै खोजीमा जुट्यो । सोहीक्रममा प्रहरी टोलीले राति ११ बजे एउटा भिरनजिकै चिनियाँ नागरिक र एक भारतीय नागरिक देख्यो । तर, प्रहरीलाई देख्नेबित्तिकै दुवै जना भिरबाट फाल हाने । भिरबाट फाल हानेका भारतीय नागरिक भिरमै अड्किए । उनलाई प्रहरी टोलीले नियन्त्रणमा लियो । तर, जति खोज्दा पनि चिनियाँ नागरिक भने फेला पर्न सकेनन् ।
यहीबीचमा खोजीमा जुटेको प्रहरी टोलीले नयाँ क्लु फेला पा¥यो । प्रहरीलाई आएको क्लु थियो, चाइनिजजस्तो देखिने मान्छे ट्रक चढेर काठमाडौंतर्फ गएको भन्ने सूचना । त्यतिबेला रातको १२ बजिसकेको थियो । त्यसपछि महाशाखाको टोलीले काठमाडौं प्रहरीसँग समन्वय गरेर विभिन्न नाकामा चेकजाँच अघि बढायो । राति साढे १२ बजे काठमाडौं प्रहरीले फर्पिङबाट चिनियाँ नागरिकलाई उद्धार ग¥यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अपहरणमा संलग्न भारतीय नागरिकहरूले दिएको प्रारम्भिक बयानमा चिनियाँहरूले आफूहरूमाथि स्क्याम गरी ठगी गरेपछि रकम उठाउने प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिइएको बताएका छन् । यद्यपि, यस विषयमा थप अनुसन्धान भइरहेको एसएसपी भट्टराईको भनाइ छ ।
२ प्रतिशत कमिसनको लोभमा भएको थियो ठगी
चिनियाँ नागरिकको ठगी र स्क्याममा परेका भारतीयहरू २ प्रतिशत कमिसनको लोभमा समस्यामा परेको अपहरणमा संलग्न भारतीयले प्रारम्भिक बयानमा बताएका छन् । उनीहरूका अनुसार करिब तीन महिनाअघि इन्स्टाग्राममा यो गिरोहको विज्ञापन आएको थियो । घरमै बसेर पैसा कमाउन सकिने लोभमा उनीहरू लोभिएको र चिनियाँ गिरोहको सम्पर्कमा पुगेको उनीहरूको भनाइ छ । चिनियाँ नागरिकले २ प्रतिशत कमिसनको लोभ देखाएपछि भारतीय नागरिकहरू करिब तीन महिनाअघि काठमाडौं आएर आफूहरूको बैंक खाताको विवरण, अनलाइन कारोबारको विवरण र ओटीपी आउने सिमकार्डलगायतका सबै विवरण दिएर गएका थिए ।
आफूहरूको बैंक खाता प्रयोग गरेर चिनियाँ नागरिकले भारतका विभिन्न व्यक्तिसँग स्क्याम गरेर ठगी गरेपछि भारतका विभिन्न स्थानमा उनीहरूमाथि उजुरी प¥यो । भारतीय प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा उनीहरूले सबै विवरण बताएपछि उनीहरूलाई केही सर्तमा छाडेको बुझिएको छ ।
आफूहरू समस्यामा पर्ने भएपछि भारतीय नागरिकले चिनियाँलाई नै समात्ने योजना बनाएर नेपाल आएको बुझिएको छ । त्यसपछि उनीहरू चिनियाँ नागरिकसँग राम्रोसँग छलफल गर्ने र रकम माग गर्ने, नभएमा चिनियाँलाई नै अपहरण गरेर भारत पु¥याउने योजनाका साथ २९ पुसमा काठमाडौं आएका पाइएको छ ।
काठमाडौं आएकै दिन दुई जना भारतीय नागरिक होटल काठमाडौं स्क्वायरमै बसेका थिए भने अन्य दुई जना भने अन्य होटलमा बसेका थिए । त्यसको भोलिपल्ट बिहान छलफल गर्दा पनि चिनियाँले रकम नदिने भनेपछि भारतीयले चिनियाँ नागरिकलाई नै अपहरण गरेको बुझिएको छ ।
भारतीयको अपहरणमा परेका चिनियाँ नागरिकले नेपालमा बसेर भारतीयसँग स्क्याम गरी करिब ५ करोड रुपैयाँ ठगी गरेको आशंका गरिएको छ । पक्राउ परेका दुई जना भारतीय नागरिकको खाता प्रयोग गरी एक जनाको खाताबाट २ करोड र अर्का एक जनाको खाताबाट १ करोड ५० लाख भारतीय रुपैयाँबराबरको ठगी गरेको उजुरी रहेको छ । त्यसैगरी, अन्य व्यक्तिहरूको खातासमेत प्रयोग गरी कुल ५ करोड रुपैयाँ ठगी गरेको उजुरी भारतमा रहेको पाइएको छ ।
प्रहरीले उद्धार गरेका चिनियाँ नागरिकले भने ठगी वा अन्य काममा आफ्नो कुनै संलग्नता नरहेको, आफू केबल एक जागिरे रहेको बयान दिएका छन् । उनले आफू छाया सेन्टरको दोस्रो तलामा रहेको एक चिनियाँ रेस्टुरेन्टको म्यानेजर रहेको बताएका छन् । आफूलाई थाइल्यान्डमा रहेका एक चिनियाँ नागरिकले भारतबाट मानिसहरू आउँदै छन् उनीहरूलाई होटलमा राखिदिनु भनेकाले होटलमा लगेर राखिदिएको तर उनीहरूले आफूलाई त्यही व्यक्ति भन्ने ठानेर अपहरण गरेको हुनसक्ने बयान दिएका छन् ।
काठमाडौंबाट दिउँसै भारतीय नागरिकले चिनियाँको अपहरण गरेपछि यतिबेला काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ । मुलुककै राजधानीमा भारतीय नागरिक आएर चिनियाँलाई अपहरण गरेको २ घण्टापछि मात्रै जानकारी पाउनुले पनि सुरक्षा व्यवस्थामा प्रश्न खडा भएको हो । भलै, अपहरणमा संलग्न एक जनाबाहेक सबै पक्राउ परेका छन् । अपहृत चिनियाँ नागरिक पनि फेला परेका छन् । यदि, नेपालबाट अपहरण गरी भारतसम्म पु¥याएको भए नेपालको सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न आउने नै थियो ।
यस विषयलाई लिएर नेपाली सेनाले पनि चासो व्यक्त गरेको छ । राष्ट्रिय सुरक्षाको विषय भन्दै चासो देखाएको नेपाली सेनाले यस सम्बन्धमा आन्तरिक अनुसन्धान सुरु गरेको पाइएको छ । चिनियाँ दूतावासले समेत आफ्ना नागरिकको सुरक्षाका सम्बन्धमा चिन्ता जाहेर गरेको छ ।