काठमाडौं। विद्यार्थी राजनीतिको औचित्य र संगठनहरूको भूमिकाकै बारेमा प्रश्न उठिरहेका बेला विद्यार्थी राजनीतिलाई पुनः जागृत गर्ने विभिन्न उपायहरूको खोजी भइरहेको छ। जसमध्ये उमेर हदलाई मुख्य औजार मान्न थालिएको छ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागेको दुई वर्षपछि नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा पनि ३२ वर्षे उमेर हद लाग्ने भएको छ। अनेरास्ववियु क्रान्तिकारीको हालै सम्पन्न महाधिवेशनमा उमेर हदको विषयमा विवाद भएपछि निर्वाचनबाटै उमेर हदबारे निर्णय लिइएको छ ।
अखिल क्रान्तिकारीका विद्यार्थीहरूले उमेर हद लगाउने पक्षमा बहुमत प्रकट गरेसँगै ३२ वर्षे उमेर हद लाग्ने भएको हो । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनमा यसअघि नै २८ वर्षे उमेर हद लगाइसकेको छ। विद्यार्थी राजनीतिमा उमेर हदको अभ्यास उन्नत हुँदा राजनीतिक दलमा भने ‘वृद्धहरूको रजाइँ’ कायमै छ। उमेरका हिसाबले मूलधारका मुख्य दलहरूमा ‘वृद्धभत्ता’ लिने उमेर भइसकेकाहरूको नेतृत्व विद्यमान छ।
संसारभर राजनीतिमा उमेर हद लगाइनुपर्छ र लगाइनुहुन्न भन्ने दुईखाले मतहरू छन्। राजनीतिलाई उमेरभन्दा अनुभव र जनमतको रूपमा बुझ्नेहरू उमेर हदको विपक्षमा देखिन्छन्। राजनीतिलाई पनि व्यवस्थित गर्नुपर्छ र सबै भूमिकाका लागि उपयुक्त उमेरले अर्थ राख्छ भन्नेमा विश्वस्त हुनेहरू उमेर हदको पक्षमा छन्। नेपालमा लामो समयदेखि शीर्ष राजनीतिक अनुहार एकै छ।
खासगरी २०४६ सालको राजनीतिलाई नेतृत्व गर्नेहरूले नै अहिले २०८१ को राजनीतिलाई पनि नेतृत्व गरेकै छन् । आफ्ना विद्यार्थी संगठनमा उमेर हद लगाउने पार्टीहरूले आफ्ना लागि भने कुनै उमेर हद लगाएका छैनन्।
नेकपा एमालेले विगतमा पार्टीभित्र ७० वर्षको उमेर हद लगाएको थियो। यद्यपि, गत महाधिवेशनमा केपी शर्मा ओलीसहितका नेताहरूको व्यवस्थापन गर्न उमेर हद हटाइयो । अहिले एमालेमा मात्रै होइन उसको विद्यार्थी संगठन अनेरास्ववियुमा पनि उमेर हद छैन । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाएका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं आठ दशक उमेर पुगिसक्दा पार्टीको नेतृत्वमा छन्।
सत्ताको नेतृत्वका लागि अझै केही वर्ष कुर्ने स्थिति देखिन्छ । हालै अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागे पनि मातृपार्टी नेकपा माओवादी केन्द्रमा ३२ वर्षदेखि प्रचण्डकै नेतृत्व जारी छ । राजनीति र उमेर हदको यो विरोधाभासले विद्यार्थी संगठन र पार्टी राजनीति दुवैको सुधार नगराउने देखिन्छ ।
विद्यार्थी राजनीतिमा उमेर हद लगाइनुको अर्थ सक्रिय विद्यार्थीले नै संगठनको नेतृत्व गरोस् भन्ने उद्देश्य हो । उमेर हद नहुँदा पढाइ छाडिसकेका, अध्ययनमा निरन्तरता नभएकाले पनि विद्यार्थीको नेतृत्व दाबी गर्ने अवस्था विद्यमान रहन्छ । उमेर हदकै कारणले विद्यार्थी संगठनहरूको सार्वजनिक छविमा तात्विक सुधार आएको भने देखिँदैन ।
३२ वर्षको उमेर हद लागेको नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशन गराउन सकिरहेको छैन । पार्टी नेताहरूकै निगाहको प्रतीक्षा गर्ने क्रमले नेविसंघमा ७५० भन्दा बढीको केन्द्रीय समिति छ ।
उमेर हदभित्रै विद्यार्थी राजनीतिमा स्थापित भएकाले उमेर छँदै पार्टीमा भूमिका पाउने सम्भावना पनि कम छ । विद्यार्थी राजनीतिमा छोटो समयमै केन्द्रीय नेतृत्व पाउने तर पार्टी नेतृत्वमा आउन समय लाग्ने अवस्था बन्दा नेतृत्वको क्षयीकरण हुने सम्भावना बढी रहन्छ ।
राजनीतिमा उमेर हद लगाउने वा नलगाउने बहस आफ्नो ठाउँमा छ तर विद्यार्थीलाई मात्रै उमेर हद लगाएर वृद्धहरूले राजनीति हाँक्ने प्रचलन भने अस्वाभाविक छ । राजनीतिमा उमेरभन्दा विचार र क्रियाशीलता नै निर्णायक हुन्छ ।
नेपालमा भने बाचुन्जेल राजनीतिको केन्द्रमा रहने, राजनीतिबाट स्वभाविक अवकाश नमिल्ने र पटकपटक नेतृत्वमा एकै व्यक्ति आइरहने प्रवृत्ति हावी छ । यस्तो विरोधाभास चिर्नु आज राजनीतिक दलहरूको मुख्य जिम्मेवारी हो । त्यसका लागि विद्यार्थी संगठनको खबरदारी उत्तिकै जरुरी छ ।
विद्यार्थी संगठनमा उमेर हदको प्रभाव के कस्तो रहला भन्ने समीक्षा गर्न अझै केही समय पर्खनैपर्ने हुन्छ तर विद्यार्थी राजनीतिको गिर्दो शाख उमेर हदबाट मात्रै सुधार होला भन्न सकिँदैन । विश्वविद्यालयमा विद्यार्थीको संख्या बढ्दै जानु, पढ्नकै लागि लाखौँ विद्यार्थी पलायन हुनु तथा स्वदेशी शैक्षिक संस्थाको गुणस्तरप्रति सधैँ प्रश्न उठिरहनु जस्ता कारणले नेपालको विद्यार्थी राजनीतिलाई गिज्याइरहेको छ ।
विगतमा नेपालको राजनीतिक, सामाजिक र शैक्षिक रूपान्तरणका लागि विद्यार्थी संगठनले गरेको योगदान निश्चय प्रशंसनीय छ । तर, इतिहासको ब्याजले मात्रै विद्यार्थी राजनीति धानिँदैन ।
उमेरको हदले मात्रै विद्यार्थी राजनीतिको पुनःजागरण पुष्टि हुँदैन । यसर्थ विद्यार्थी र पार्टी राजनीति दुवैप्रति जनविश्वास बढ्ने उपायको खोजी उमेर भएका विद्यार्थीदेखि उमेर ढल्केका पार्टी नेतासम्मले गर्नुपर्ने देखिन्छ ।