काठमाडौं। वामपन्थी नेता भीम रावलले ‘नयाँ राजनीतिक यात्रा’ थाल्ने तयारी गरेका छन्। कम्युनिष्ट आन्दोलनमा झण्डै पाँच दशक बिताएका रावललाई नेकपा (एमाले)ले निष्कासन गरेपछि ‘राजनीतिक जीवनको उत्तरार्ध’मा नयाँ राजनीतिक यात्रा थाल्ने तयारी गरेका हुन्। पछिल्लो तीन वर्षदेखि ‘जिम्मेवारीविहीन’ रहेका रावललाई एमालेले गत १० पुसमा पार्टीको संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो।
उमेरले सात दशक नजिक पुगेका रावलले आफ्नो पछिल्लो राजनीतिक अभियानबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दै छन्। पत्रकार सम्मेलनमार्फत उनले आगामी योजना सार्वजनिक गर्ने तयारी गरेका छन्। पत्रकार सम्मेलनमै उनले नयाँ पार्टी घोषणा गर्ने चर्चासमेत उनी निकटै नेताहरूले गरिरहेका छन्। तर, उनले यसबारे औपचारिक घोषणा भने गरेका छैनन्।
रावलका स्वकीय सचिव गोविन्द दुलालले पछिल्लो घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको बताए। बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए। ‘पछिल्लो घटनाक्रम र आगामी योजनाबारे उहाँले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ,’ उनले भने, ‘सबै कुरा त्यही जानकारी दिइनेछ।’
एमालेले निष्कासन गरेपछि अब के गर्ने ? भन्ने विषयमा रावल आन्तरिक छलफलमा लागेका हुन्। सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बिपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
तत्कालीन नेकपा विवादअघि राजनीतिको केन्द्रीय पात्र रहेका रावल २०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनपछि भूमिकाविहीन थिए। दशौँ महाधिवेशनमा रावलले केपी शर्मा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा लड्ने रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष निर्वाचित हुने ओलीको चाहनामा ठेस लागेको थियो। त्यसपछि एमालेले उनलाई कुनै जिम्मेवारी दिएको थिएन।
२०४६ सालदेखि नै शक्तिको वरिपरि रहेका रावल २०४६ सालमै झलनाथ खनालको स्वकीय सचिव बनेका थिए। त्यसयता एमालेबाट निष्कासन हुनुअघि उनले राजनीतिमा पछाडि फर्केर हेर्नुपरेको थिएन।
२०५२ सालमा पर्यटन राज्यमन्त्री बनेका रावल २०५५ सालमा पर्यटनमन्त्री भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएका रावल २०६६ सालमा गृहमन्त्री बनेका थिए। सुदूरपश्चिममा राम्रो प्रभाव जमाएका रावल २०७२ सालमा उपप्रधान एवं रक्षामन्त्री बनेका थिए। त्यसपछि एमालेमा किनारमा परेका रावल ओलीले संसद् विघटन गरेदेखि नै विपक्षमा लागेका थिए। माधव नेपालको एमाले विभाजन गराउँदा अन्तिममा ब्याक भएका रावल एमालेमा बसे पनि रावल ओलीको नजिक हुन भने सकेनन्।
एमालेबाट निष्कासनपछि अरू कुनै पार्टीमा नजाने स्पष्ट पारिसकेका रावलले नयाँ पार्टी खोल्ने निश्चित छ । तर, कस्तो पार्टी र कहिले घोषणा गर्ने ? यकिन भइसकेको छैन । सम्भवतः बुधबारकै पत्रकार सम्मेलनमा यसको जवाफ मिल्नेछ।
उनले नयाँ पार्टीमा एमाले अध्यक्ष ओलीको पेलानमा परेका इमानदार नेता/कार्यकर्तालाई आकर्षित गर्ने रणनीति अपनाएको बताइन्छ। एमालेसँग असन्तुष्ट मतलाई तान्नेगरी माहोल बनाउने रावलको तयारी छ।
यसमा वाम र प्रजातान्त्रिक समेटेर गैरकम्युनिष्ट पार्टी बनाउनेतिर पनि उनले जोड दिएको नेताहरू बताउँछन्। कांग्रेसबाट निष्कासित कर्ण मल्लसँग सोमबार भेटेका उनले आफूले परम्परागत ढाँचाका कम्युनिष्ट पार्टी गठन नगर्ने बताएका थिए।
हाल नेपाली कांग्रेस (बिपी)का उपसभापति रहेका मल्लका अनुसार रावलले सबैलाई समेट्ने गरी अगाडि बढ्ने बताएका थिए। आफूहरूबीच सकारात्मक छलफल भएको मल्लले बताए। मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन्।
‘एउटा सम्भावना बोकेको नेतालाई उहाँको पार्टीले निष्कासन गरेपछि म नै भेट्न गएको थिएँ । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भयो,’ मल्लले भने, ‘एकदमै सकारात्मक कुराकानी भएको छ । नयाँ ढंगले जाने भए जाने भए भविष्यमा सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुरा भएको छ ।’ त्यसो भए रावलले गैरकम्युनिष्ट पार्टी खोल्ने वचन दिनुभएको हो ? भन्ने प्रश्नमा मल्लले स्पष्ट जवाफ दिनुभएन । ‘होइन मैले माथि पनि भनेँ । हामीबीच सकारात्मक कुरा भएको छ।’
यसैगरी, रावलले सोमबारै एकीकृत समाजवादीका नेता एवं स्वतन्त्र प्रदेश सांसद डा. ताराप्रसाद जोशीसँग पनि भेटवार्ता गरेका थिए। भेटमा जोशीलाई पनि रावलले आफूले नयाँ पार्टी बनाउन लागेको भन्दै मिलेर जान प्रस्ताव राखेका थिए।
रावलले मिलेर जाऔँ भन्ने प्रस्ताव गरे पनि आफूले जवाफ नदिएको उनले बताए। जोशी पार्टीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेशसभा-२ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए।