काठमाडौं। सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आन्दोलन घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोधको शैली बदल्ने भएको छ ।
कास्की प्रहरीको हिरासतमा रहनुभएका सभापति लामिछानेलाई बाहिरै राखेर छानविन हुनुपर्ने माग गर्दै यसअघि आन्दोलन घोषणा गरेको रास्वपाले तत्काललाई सडक प्रदर्शन नगर्ने निर्णय गरेको हो । काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा नै सडक आन्दोलनको विरोध भएपछि रास्वपाले विरोधको नयाँ शैली अपनाउने भएको छ ।
केन्द्रीय समिति बैठकमा नेताहरूले प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग राखेपछि रास्वपाले शैली बदलेर विरोध गर्ने निर्णय गरेको हो । सडक आन्दोलन गर्दा न्यायालयलाई प्रभाव पार्न पार्टी अगाडि बढेको हो कि ? भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । यसअघि आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राख्दै मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
यसैगरी, आसन्न स्थानीय तह उपनिर्वाचन पनि नजिकिएकोले प्रचारप्रसारलगायत काम गर्न पनि आन्दोलन स्थगित गर्नुपरेको नेताहरूले बताएका छन् । बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्य र केन्द्रीय सदस्य गणेश कार्की लगायतले सडकमा विरोध प्रदर्शनको महत्व कम हुने बताउनुभएको थियो । कार्कीले यसअघि सामाजिक सञ्जालबाटै लामिछानेको पक्राउको विरोधमा पोखरामा पार्टीले गरेको विरोध प्रदर्शन कमजोरी भएको बताउनुभएको थियो ।
बैठकपछि रास्वपाले दोस्रो चरणको आन्दोलन कस्तो बन्ने ? भन्नेबारे कुनै उल्लेख नगरी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न राष्ट्रिय मुद्दाहरूलाई स्थानीयकरण गर्नेतर्फ लाग्नुपर्ने उल्लेख छ । ‘पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरूप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णयबमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याजपीडित, भ्रष्टाचारका काण्डहरूको छानविन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधनलगायत राष्ट्रिय मुद्दाहरूको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचन हुने क्षेत्रहरूमा केन्द्रीय नेता खटाएर मंसिर ८ र ९ मा भेला गरिने रास्वपाले जानकारी गराएको छ । रास्वपाले उम्मेदवारी दिएका स्थानमा केन्द्रीय नेताहरू पुगेर भेला गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । २ कात्तिकमा सभापति पक्राउ परेपछि १३ कात्तिकसम्म रास्वपा सडक प्रदर्शनमा थियो । ८ कात्तिकसम्म पार्टीको सिंगो शक्ति पोखरामा केन्द्रित गरेको त्यसपछि काठमाडौंमा प्रदर्शन सुरु गरेको थियो ।
१३ कात्तिकमा बालुवाटारमा विरोध प्रदर्शन स्थगित भएको प्रदर्शनलाई दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने निर्णय पार्टीले लिएको थियो । रास्वपाभित्र सडक प्रदर्शनको प्रभावकारितालाई लिएर नेता कार्यकर्ताले प्रश्न उठाएका थिए । साथै, सडक प्रदर्शनको औचित्यप्रति जवाफ खोजेका थिए ।
रास्वपाले स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न सर्कुलर गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार ८ र ९ मंसिरमा रास्वपामा उम्मेदवार भएका स्थानहरूमा सरकारको विरोधमा कोणसभा गर्न निर्देशन दिएको हो । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी संरचनालाई सर्कुलर गर्दै भ्रष्टाचार, बेथिति र प्रतिशोधविरुद्ध आन्दोलनस्वरूप कोणसभा गर्न निर्देशन दिएका हुन्। कार्यवाहक महामन्त्री बुर्लाकोटीले बिहीबार सबै प्रदेश समिति, जिल्ला समितिहरू, निर्वाचन क्षेत्र समिति, पालिका समिति, वडा समिति, केन्द्रीय/प्रादेशिक/पालिका विभाग र निर्वाचन परिचालन समितिलाई केन्द्रीय समितिको निर्णयको सर्कुलर पठाएका हुन् ।
‘आसन्न स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचार, बेथिति र प्रतिशोधविरुद्धको अभियानको आन्दोलनकै रूपमा अगाडि बढाउने केन्द्रीय समितिको निर्णय भएकोले आगामी मंसिर ८ र ९ गते देशभरका उपनिर्वाचन हुने स्थानहरूमध्ये हाम्रो उम्मेदवारी रहेको २७ स्थानमा कोणसभा आयोजना गर्न/गराउन निर्देशानुसार अनुरोध गरिन्छ,’ बुर्लाकोटीले पठाएको सर्कुलरमा उल्लेख छ ।
मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदै छ । रास्वपाले २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने ४४ पदमा १८ स्थानमा रास्वपाले उम्मेदवार बनाएको छैन । वर्तमान सरकारले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पटक-पटक म्याद थप गरी षड्यन्त्रपूर्वक हिरासतमा राखेको पनि सर्कुलरमा उल्लेख छ ।
यसैबीच सहकारी ठगी प्रकरणमा पूर्व-डिआइजी छविलाल जोशीको काठमाडौंमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जोशीको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उहाँको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । पोखरा रहनुभएका उहाँलाई स्वर्ण लक्ष्मीको अनुसन्धानका लागि मंगलबार काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका जोशीको बयान सकिएपछि पोखरा फर्काइने छ ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए। पूर्व-डिआइजी जोशी गोरखा मिडियाका सञ्चालकसमेत हुन्। उनीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसै प्रकरणमा रविलाई पनि काठमाडौं ल्याउने तयारी छ । पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व-डिआइजी छविलाल जोशी बञ्जाडेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।