भारतको 'तगारो' हटाएपछि नेपाली महिला टोलीले उपाधि जित्ने सम्भावना कस्तो

भारतको 'तगारो' हटाएपछि नेपाली महिला टोलीले उपाधि जित्ने सम्भावना कस्तो

काठमाडाैं। नेपाली महिला फुटबलको इतिहास हेर्ने हो भने त्यहाँ उपाधिको ‘गहिरो भोक’ देख्न सकिने फुटबल विश्लेषकहरू बताउँछन्।

उपाधि जित्न महिला खेलाडीहरूले गरेको सङ्घर्ष र त्यस क्रममा देखिएका आशा, निराशा, ईख, छटपटी अनि विफलताको एउटा लामो शृङ्खला छ। अन्तर्राष्ट्रिय उपाधि हात पार्न नेपाल महिला टोली झन्डै डेढ दशदेखि सङ्घर्षरत छ।

यसअघि फाइनलमा ११ पटक पुगेको भए पनि नेपाली टोलीले कहिल्यै जित्न सकेको थिएन। फाइनलमा पुग्ने तर पराजित हुँदै आएकाले नेपाली महिला टोलीले सदाबहार उपविजेताको नै लागेको जस्तो हुन पुग्यो।

नेपाली महिला फुटबललाई नजिकबाट हेरिरहेका समर्थकहरू भन्छन्, “यो त पर्खाइको पनि हद भइसक्यो। महिला फुटबलले उपाधि जित्ने कहिले?”

बाह्रौँ पटक फाइनलमा पुग्न नेपालले जारी साफ महिला फुटबल च्याम्पिअनशिपमा भारतलाई सेमिफाइनलमा पराजित गर्‍यो। एक गोलले पछाडि रहेको अवस्थामा विवादका कारण खेल रोकिएपछि नेपाल अगाडि सम्भावना धूमिल देखिएको थियो।

खेल पुनः सञ्चालित भएपछि बराबरी गर्दै नेपालले भारतलाई पेनाल्टीमा पराजित गर्दै आफ्ना लागि फाइनलको ढोका खोलेपछि नेपाली टोली र समर्थकहरू उत्साहित देखिन्छन्।

दशरथ रङ्गशालामा बुधवार राति हुने फाइनलमा नेपालले बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्दै छ।

प्रतियोगिताको सातौँ संस्करणमा छैटौँ पटक फाइनल खेलिरहेको नेपालमाथिको प्रश्न चाहिँ उही छ - “के नेपालले यसपालि उपाधि हात पार्न सक्ला?”

नेपाली प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, “अब पालो नेपालकै हो।”

पहिलो साफ च्याम्पियनशिपको पुस्ताको प्रतिनिधित्व गरेकी भूतपूर्व कप्तान जमुना गुरुङ भन्छिन्, " उपाधिका लागि "हाम्रो पुस्ताले धेरै प्रयास गर्‍यौँ, सकेनौँ। विश्वास छ अहिलेको टोलीले उपाधि जित्ने छ र हामीले बेहोरेको चोटमा मलम लगाउने छ।”

नेपालको उपाधि यात्रामा प्रायः भारत सबैभन्दा ठूलो तगारो हुने गरेको थियो। त्यसैले भारतविरुद्धको खेल नेपालको लागि सधैँ विशेष हुने गर्छ।

भारतसँगको सेमिफाइनल खेल हेर्न दशरथ रङ्गशालाको दर्शकदीर्घा भरिने गरी आइतवार राति हजारौँ मानिस गएका थिए। महिला फुटबलमा त्यसलाई अभूतपूर्व मानिएको छ।

दर्शकहरूको उच्च सङ्ख्या र अपार समर्थनलाई नेपालले उपाधिविहीनताका कारण निरन्तर खेप्दै आएको पीडा मेट्ने अवसर खोजे जस्तो देखिन्थो। भारतसँगको खेलमा नेपाली टोलीमा पनि त्यो ईख प्रतिबिम्बित पनि भएको थियो।

एघार पटक फाइनल खेलेको नेपालले आठ पटक भारतसँग पराजय भोगेको थियो। साफ च्याम्पिअनशिपमा पाँच पटक र दक्षिण एशियाली खेलकुद (साग) मा तीन पटक भारत नेपालका लागि तगारो बनेको थियो।

सन् २०१० देखि महिला साफ च्याम्पिअनशिप र सागमा महिला फुटबल समावेश भएदेखि दुवै टोली फाइनलमा पुग्ने र नेपाल भारतसँग पराजित हुने सिलसिला चल्न थाल्यो।

यद्यपि दुई वर्षअघि काठमान्डूको दशरथ रङ्गशालामा आएर त्यो क्रम भङ्ग भयो। त्यस बेला भारतीय महिला टोली पहिलो पटक बाङ्ग्लादेशसँग र नेपाल दुवै टोलीसँग पराजित भएर फाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरिन पुगे।

दुई वर्षपछि इतिहास पुन: दोहोरियो। यसपालि सेमिफाइनलमा भारतलाई नेपालले नै हरायो।

सन् २०१० बाट भोगिरहेको लगातार हारको प्रतिशोध नेपालले लगातार दुई जितबाट लिएको देखिन्छ। विवाद र अन्योलका माझ घरेलु समर्थकका अगाडि भारतलाई आइतवार हराउँदा नेपाली टोलीमा अर्कै उमङ्ग र आत्मसन्तुष्टि देखिन्थ्यो।

फुटबल विश्लेषकहरूका अनुसार झन्डै चार घण्टा लगाएर सम्पन्न भएको यस्तो खेल विरलै देख्न पाइन्छ।

नेपाली महिला टोलीले खेलेका ११ फाइनल
साफ महिला च्याम्पिअनशिप

सन् २०१०ः कक्सबजार, भारत (१-०) नेपाल

सन् २०१२ः कोलम्बो, भारत (३-१) नेपाल

सन् २०१४ः इस्लामाबाद, भारत (६-०) नेपाल

सन् २०१९ः विराटनगर, भारत (३-१) नेपाल

सन् २०२२ः काठमाण्डू, बाङ्ग्लादेश (३-१) नेपाल

दक्षिण एशियाली खेलकुद - साग

सन् २०१०: ढाका,भारत (३-१) नेपाल

सन् २०१६: सिलिगुडी, भारत (४-०) नेपाल

सन् २०१९: पोखरा, भारत (२-०) नेपाल

अन्य फाइनल

सन् २०१९: भारतमा आयोजित हिरो विमिन्स गोल्डकप, म्यान्मार (३-१) नेपाल

सन् २०१९ः किर्गिस्तानमा आयोजित नादेज्दा कप, उज्बेकिस्तान (३-२) नेपाल

सन् २०२४ः साउदी अरबमा आयोजित, बिया-वाफ विमिन्स च्याम्पिअनशिप, ट्राइब्रेकरमा जोर्डन ( ५-३) नेपाल

काठमाण्डूको दशरथ रङ्गशाला किन हिलाम्य भइरहन्छ

१८ अगष्ट २०२४

भारतीय लीगको प्रभाव नेपाली महिला फुटबलमा कति?
 

२५ मार्च २०२४

सन् २०१९ मा नेपालले भारतमा हिरो विमिन्स गोल्डकप खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। त्यस खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन्।

तर नेपाल उक्त प्रतियोगिताको फाइनलमा म्यान्मारसँग ३–१ ले पराजित हुन पुग्यो।

सोही वर्ष सेप्टेम्बरमा नेपालले किर्गिस्तानमा गएर उज्वेकिस्तान, किर्गिस्तान र ताजकिस्तान सम्मिलित नादेज्दा कप खेलेको थियो।

तस्बिरको क्याप्शन,सावित्रा भण्डारी 'साम्बा'जस्ता खेलाडी रहेको नेपाली टोली उपाधिको बलियो दाबेदार मानिएको छ
राउन्ड रोबिन लीगमा शीर्ष २ भित्र रहँदै नेपाल प्रतियोगिताको फाइलनमा पुग्यो। तर उज्वेकिस्तानसँग ३–२ ले हार्दै उपाधिबाट विमुख हुनु पर्‍यो।

पश्चिम एशियाको फुटबल प्रतियोगिता वाफ विमिन्स च्याम्पिअनशिपको फाइनल त धेरै नेपाली समर्थकहरूको स्मरणमा ताजै छ।

यसै वर्षको फेब्रुअरीमा साउदी अरबको जेद्दाहमा भएको प्रतियोगितामा नेपाल सुन्दर खेल खेल्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर जोर्डन नेपालको तगारो बन्यो र टाइब्रेकरमा पराजित हुँदै नेपाल अर्को एक मौका गुमाउँदै घर फर्कियो।

अहिले नेपाली महिला टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बाह्रौँ पटक फाइनलमा पुगेको छ।

महिला खेलाडीहरूमा उपाधि जित्ने हुटहुटी र छटपटी देखिन्छ। घरेलु मैदानमा उनीहरूलाई नेपाली समर्थकहरूले अझ उत्साह थपिदिएका छन्।

यो नेपालका लागि उपाधि जित्ने सुनौलो अवसर रहेको पूर्वकप्तान जमुना गुरुङको धारणा छ।

“हामीले यस्तो घरेलु दर्शकमाझ कहिल्यै खेल्न पाएनौँ। पाएको भए उहिल्यै च्याम्पियन भइन्थ्यो होला कि? अहिलेको पुस्ताले गजब खेलिरहँदा गर्व लागेको छ। फाइनल जितोस् शुभकामना।”