सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं। सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर रुपमा चलिरहेको छ। दिन दिनै सुनको मुल्यमा रेकर्ड कायम हुँदै गत हप्ताभरी पनि सुनले नयाँ रेकर्ड बनाइरह्यो।

अहिले सुन तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचाइमा पुगिसकेको छ।

गत बुधबार रेकर्ड कायम गरेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको थियो । गत साताभरमा भने सुन ४ हजार २०० रूपैयाँले महंगिएको थियो।

गत आइतबार सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँ रहेको सुनको मुल्य सोमबार र मंगलबार बढेर प्रतितोला एक लाख ५२ हजार ४०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको भाउ सामान्य घटेर तोलाको एक लाख ५३ हजार ३०० रूपैयाँमा झरेको थियो । शुक्रबार पुनः अर्को रेकर्ड कायम गर्दै एक लाख ५६ हजार ३०० रूपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढिरहेको एक थरीको भनाइ छ । कच्चा तेलको मुल्यमा भएको वृद्धि तथा डलरको विनिमय दरमा देखिएको स्थिरताले पनि सुनको मुल्य वढेको सुन व्यवसायीहरुको भनाइ छ ।

अहिले निरन्तर सुनको भाउ उकालो लाग्नुमा खासगरि अमेरिकी नीति तथा विश्वका विभिन्न भागमा जारी अशान्ति कारक रहेको विश्लेषण गरिएको छ।

जुन देशको ब्याज घट्छ त्यसको मुद्राको आकर्षण पनि घट्ने भएकाले सुनप्रति लगानीकर्ता झुम्मिएको विश्लेषण रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव किरणभाइ बज्राचार्य अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको बताउँछन् ।

उनका अनुसार नेपालमा आन्तरिक बजारको मुल्य भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउलाई डलरको विनिमय दरले गुणन गरेर अनि त्यसमा भन्सार शुल्क तथा सञ्चालन खर्च जोडेर तय गरिने जानकारी उनले दिए ।

सुनको भाउ बढ्दै गएपछि आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारिसकेको व्यवसायीहरूको भनाइ छ ।

लगनको समयमा पनि दिनको १५–२० किलोग्रामको कारोबार नभएको र अहिले सिजन पनि नभएकाले खासै कारोवार नभएको व्यवसायीहरुले बताए । विगतमा ४०–४५ किलो दैनिक कारोवार हुनेमा अहिले त्यसको ४० प्रतिशत पनि कारोवार भइरहेको छैन ।

अहिले नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । भन्सार विभागको दिएको पछिल्लो आँकडामा पनि सुनको आयात घटिरहेको देखिएको छ ।

पछिल्लो समय रुस–युक्रेन र इजरायल–इरान युद्धले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पर्ने असरलाई मध्यनजर गरेर लगानीकर्ताहरू सुनमा लगानी बढाइरहेकाले अन्तराष्ट्रिय बजारमा सुनको मुल्य वढेको आंकलन पनि रहेको छ ।

विशेष गरी विभिन्न देशका केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति ल्याएपछि सुनको मूल्य बढ्न थालेको पनि एकथरीको भनाइ छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा ‘डी–डलराइजेशन’ शुरू भएमा सुनको भाउ अझै बढ्न सक्ने अनुमान व्यवसायीको छ ।

पछिल्लो समय कतिपय देशले वैदेशिक व्यापारका क्रममा अमेरिकी डलरको विकल्पमा आआफ्नै मुद्राको प्रयोग गर्न थालेका छन्। यसले गर्दा अझ सुनको मुल्य बढ्ने अनुमान गरिएको छ ।

छुटाउनुभयो कि ?