काठमाडौं । २०७२ सालको भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण मुलुकको शिथिल अर्थतन्त्र अहिले मजबुत देखिएको छ ।विगतमा चालू खाता र शोधनान्तर स्थिति घाटामा रहने गरेकामा अहिले भने बचतमा देखिएकाले मुलुकको अर्थतन्त्र मजबुत देखिएको छ । यद्यपि, सर्वसाधारण र व्यापारी भने आर्थिक मन्दीको चापमा नै रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिनुसार आर्थिक वर्ष २०८०–०८१ मा चालू खाता २ अर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालू खाता गत आवमा १ अर्ब ६६ करोड डलरले बचतमा रहेको छ ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति संस्थाबीच भएका चालू प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालू खाता सन्तुलन हो । चालू खाता घाटा वा बचतमा रहन सक्छ ।
चालू खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालू खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् । आव २०७३–०७४ देखि चालू खाता नोक्सानमा रहँदै आएको थियो । चालू खातालाई मुलुकको खुद आम्दानीका रूपमा समेत हेरिन्छ ।
गत आवमा पुँजीगत ट्रान्सफर २२ दशमलव ९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड मात्र रहेको थियो ।
यसैगरी, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ३ अर्ब ७७ करोडले बचतमा रहेको छ । मुलुकबाट रकम बाहिरिने भन्दा भित्रिने बढी हुँदा शोधानान्तर बचतमा हुने गर्छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२ दशमलव ६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८१ असार मसान्तमा ३० दशमलव ४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
आव २०८०–०८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव ६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८ दशमलव ८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ रहेको छ । फलस्वरूप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १ खर्ब ७७ अर्ब २ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अघिल्लो आवको असारसम्म ७ दशमलव ४४ प्रतिशतमा पुगेको बिन्दुगत उपभोक्ता मूल्यवृद्धि गत असारसम्म घटेर ३ दशमलव ५७ प्रतिशतमा सीमित भएको छ । औसतमा वार्षिक उपभोक्ता मूल्यवृद्धि पनि ५ दशमलव ४ प्रतिशतमा ओर्लिएको छ । अघिल्लो वर्ष यस्तो दर ७ दशमलव ७४ प्रतिशतमा थियो ।
रेमिट्यान्स वृद्धिका कारण अहिले मुलुकको अर्थतन्त्र बलियो देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आव २०८०–०८१ मा रेमिट्यान्स आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
१९ महिनादेखि निरन्तर रूपमा मासिक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । असार महिनामा मात्रै १ खर्ब १७ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आव २०७९–०८० मा १२ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
गत आवमा पर्यटकहरूबाट ८२ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ भने नेपालबाट विद्यार्थी र घुम्न जानेलगायतले १ खर्ब ८९ अर्ब रुपैयाँ लगेका छन् । यसमध्ये अध्ययन गर्न जानेले मात्रै १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेका छन् । नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीले ६ अर्ब १ करोड भित्र्याएका छन् ।
आव २०८०–०८१ मा सरकारको वित्त स्थिति भने ३ खर्ब ८२ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।
गत आवमा सरकारले १० खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि, यस अवधिमा सरकारी खर्च १४ खर्ब ८ अर्ब रुपैयाँ भएको छ । अघिल्लो आव २०७९–०८० मा ९ खर्ब ५७ अर्ब ३५ करोड राजस्व संकलन गरेको सरकारले १४ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेको थियो ।
आव २०८०–०८१ मा सरकारले २ खर्ब ३४ खर्ब ४२ करोड आन्तरिक ऋण परिचालन गरेको छ । यस अवधिमा १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसअनुसार गत आवमा ५१ अर्ब ८० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । जुन कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ९ प्रतिशत हो ।
गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो आव २०७९–०८० को भन्दा ५ दशमलव ८ प्रतिशत मात्रै बढी हो ।
प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव ३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ७ दशमलव ७ प्रतिशतले बढेको छ ।
– वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत
– आयातमा १ दशमलव २ प्रतिशतले र निर्यातमा ३ प्रतिशतले कमी
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव ५ प्रतिशतले वृद्धि
– शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा
– कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर
– १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले वृद्धि
– बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ