एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

 काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।यो वर्ष महँगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो । त्यस्तै आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

शोधान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । आर्थिक वर्ष २०८०/८१ मा कुल विदेशी विनिमय सञ्चिती ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड कायम भयो । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ । फलस्वरुप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोडले बचतमा छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १ खर्ब ७७ अर्ब २ करोडले घाटामा थियो ।

यस्तै सरकारको वित्तीय घाटा (बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति) ३ खर्ब ८२ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोडले घाटामा थियो ।

२०८१ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड पुगेको छ । जसमध्ये बाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ ।