प्रधानमन्त्रीबाहेक सबै अलमलमै !

प्रधानमन्त्रीबाहेक सबै अलमलमै !

काठमाडौं।  सरकारको समीक्षाका लागि तीन साताको समय पर्याप्त होइन तर भनिन्छ बिहानीले दिनको संकेत गर्छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन साता पूरा भएको छ। प्रधानमन्त्री स्वयंले आफू दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बन्ने घोषणा संसद्को रोष्ट्रमबाट गरिसकेका छन्। यस्तोमा सरकारका लागि हरेक दिन प्रभावकारी र परिणाम केन्द्रित हुनुपर्ने हो। तर, प्रधानमन्त्री ओलीबाहेक सबै मन्त्रीहरू अलमलमै रहेको तीन साताको समीक्षाले देखाउँछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने क्रममा नै विगतमा भन्दा आफू बदलिएको प्रस्तुति दिन खोजेका थिए। यतिबेला प्रधानमन्त्रीका रूपमा दैनिक कार्यव्यवहारमा पनि विगतभन्दा बदलिएको व्यवहार ओलीले देखाएका छन्।

मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान सुधार गर्ने, प्याराफिट बनाउने र फ्लडलाइट जोड्ने काम तीन सय दिनमा गरिसक्ने महत्वकांक्षी निर्णय ओलीले गराएका थिए।

सो काम सम्पन्न गर्न त्रिवि पदाधिकार र क्यान पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरिसकेका प्रधानमन्त्री ओलीले आफैँ अग्रसर भएर त्रिवि क्रिकेट मैदानलाई रंगशालाको रूपमा दिन चाहेका छन्।

प्रधानमन्त्री भएलगत्तै मन्त्रीहरूलाई कार्ययोजना माग गरेका ओलीले मन्त्री र सचिवहरूसँग संयुक्त छलफल गरिसकेका छन् भने मन्त्रालयगत कामका बारे आफैँले तदारुकता देखाएका छन्।

आफ्नो सरकार बनाएसँगै सेयर बजारमा उछाल देखिएको दाबी प्रधानमन्त्री स्वयंले गरेका छन्। सेयर बजारमा उत्साह भर्न प्रधानमन्त्रीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमै हस्तक्षेप गरे। दीर्घकालिक नभए पनि मौद्रिक नीतिको जगमा अहिले सेयर बजार र निजी क्षेत्र उत्साहित देखिएका छन्।

राजदूत नियुक्तिको सैद्धान्तिक पाटोमा बहस भए पनि प्रस्तावित राजदूतहरूबारे व्यक्तिगत रूपमा सवाल नउठ्नुमा प्रधानमन्त्रीकै चासोले काम गरेको जानकारहरू बताउँछन्।

विगतमा घण्टौँसम्म औपचारिक कार्यक्रम र वक्तव्यबाजीमा रमाउने आरोप चिर्दै प्रधानमन्त्रीले यसपटक आफूलाई चुस्त बनाउने प्रयास गरेका छन्। बालुवाटारमा पार्टी बैठक नराख्ने भन्दै ओलीले हालै एमाले बैठक बालुवाटारबाहिर नै सम्पन्न गरे।

राजनीतिक विश्लेषक शंकर तिवारी अघिल्ला कार्यकालमा भन्दा यसपटक प्रधानमन्त्री ‘सिरियस’ देखिएको बताउँछन्। यसपटक दुई वर्षका लागि मात्रै प्रधानमन्त्री भएको स्वघोषणा गरिसकेकाले दुई वर्षभित्रै मानक कामहरू गर्ने र आफ्नो छवि बदल्ने प्रयत्न प्रधानमन्त्रीले गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्री पहिलेभन्दा बदलिनुभएको छ। उहाँ संयमित देखिनुभएको छ। परिणाम दिनेगरी काम गर्न खोजेको देखिन्छ । प्रधानमन्त्रीका रूपमा उहाँको सु्रुआत ठीक छ तर मूल्यांकन गर्न अझै केही समय कुर्नुपर्छ’, तिवारीकाे भनाइ छ।

उनले प्रधानमन्त्रीले सत्ता सहयात्री दललाई विश्वासमा लिन खोज्नु पनि सकरात्मक भएको बताए। ‘राज्यमन्त्री दुई कांग्रेस र एक नागरिक उन्मुक्तिलाई दिनुभयो । यसले पनि सत्ता गठबन्धनको विश्वास हासिल गर्न उहाँले प्रयास गरेको देखिन्छ’, तिवारीको भनाइ छ।

तीन साता बितिसक्दा कुनै पनि मन्त्रीले न ठोस कार्ययोजना सार्वजनिक गरेका छन् न कुनै काम । मन्त्रालयमा लाइन लगाएर खादामाला, उपहार र बधाई लिनमै मन्त्रीहरू व्यस्त देखिन्छन् । एकाध मन्त्री बाहेकले मन्त्रालयको नियमित काम चासोसाथ सुरुसमेत गर्न भ्याएका छैनन् । पार्टी, जिल्ला र क्षेत्रका बधाई र कार्यक्रममा मन्त्रीहरू व्यस्त हुन थालेको देखिन्छ ।

उपप्रधान एवं शहरीविकास मन्त्री प्रकाशमान सिंहले पहिलो साता नै तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएपछि सामाजिक सञ्जालमा आलोचना खेप्नुपर्याे । निर्माणाधीन संसद् भवन छिटो सक्न निर्देशन दिने र मन्त्रालयमा आएका राजदूत भेट्नेमै सिंहको दैनिकी केन्द्रित छ । त्यसबाहेक बिहान बेलुका चाक्सीबारी र दिउँसो मन्त्रालयमा बधाई लिनेदिनेको कमी छैन ।

अर्का उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल केही समय मौद्रिक नीतिलाई सरकारअनुकूल बनाउन केन्द्रित भए। निजी क्षेत्रका ज्ञापनपत्र बुझ्ने र कार्यक्रममा जानेबाहेक ठोस योजना उनले सार्वजनिक गर्न भ्याएका  छैनन्। अन्य मन्त्रीहरूको स्थिति पनि उस्तै छ। ‘मन्त्रीलाई बधाई लिँदै ठिक्क छ । कतिपय मन्त्रीले राम्रोसँग ब्रिफिङ लिन पनि भ्याउनुभएको छैन’, सिंहदरबारका एक उच्चपदस्थ कर्मचारीको भनाइ छ।