संसद्का प्रमुख तीन दल उपनेताविहीन

संसद्का प्रमुख तीन दल उपनेताविहीन

काठमाडौं। मुलुकका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलको उपनेता हालसम्म चयन गर्न सकेका छैनन्। नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको उपनेता पद निर्वाचनदेखि नै रिक्त छ भने नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङको निधनपछि अर्को व्यक्ति तोकिएको छैन।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार संघीय संसद् र प्रदेश सभामा कम्तीमा दुई स्थानमा निर्वाचित हुने दलले संघ र प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था छ। निर्वाचित सांसदहरू मध्येबाट एकजना दलको नेता हुने र दलको नेताले उपनेता छनोट गर्ने अधिकार छ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान संसद्का लागि उपनेता हालसम्म तोकेका छैनन्। ०७९ पुस ६ मा संसदीय दलको नेता चुनिनुभएका देउवाले डेढ वर्षसम्म उपनेता चयन गरेका  छैनन्। ०७४ सालको निर्वाचनपछि संसदीय दलका नेता बनेका देउवाले तत्कालीन समयमा पार्टी उपसभापति विजयकुमार गच्छदार दलको उपनेता तोकेका थिए।

पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका उपसभापति पूर्णबहादुर खड्का दलको उपनेताको आकांक्षी भए पनि देउवाले मनोनीत गर्न चासो दिएका छैनन्। कांग्रेसका संसदीय दलको उपनेतामा इच्छा राख्नेमा नेताहरू विमलेन्द्र निधि, डा.शशांक कोइरालालगायत छन्।

१३ साउनमा संघीय संसद् भवनबाहिर पत्रकारसँग कुरा गर्ने क्रममा नेता कोइरालाले सभापति देउवालाई उपनेता चयन गर्न ध्यानाकर्षण गराएका थिए। दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय बागडोर सम्हाल्ने भएकाले छिटो तोक्न आग्रह गर्दै डा.शशांकले भनेका थिए, ‘उपनेता बनाउनुपर्छ। तर, किन त्यो भएको छैन। शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला ।’

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै एमाले संसद्मा उपनेताविहीन छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको निर्वाचन सकिएको करिब चार महिनापछि २०७९ फागुन २९ गते नेम्बाङलाई उपनेता तोकेका थिए।

पार्टी पदीय वरीयताले उपनेताका लागि स्वाभाविक पात्र उपाध्यक्षद्वय विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ देखिए पनि ओलीले उक्त पद रिक्त राखेका छन्। एमालेको बिहीबार बसेको बैठकले पार्टी केन्द्रीय कमिटीमा उपाध्यक्षलगायत कतिपय मनोनयन गरे पनि संसदीय दलका बैठकहरूमा उपनेता चयनको विषय उठान भएको छैन।

संसद्को तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष एवं पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि दलको उपनेता चयन गर्न चासो देखाएका छैनन्। संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका प्रचण्डले १८ महिनासम्म दलको उपनेता चयन गरेका छैनन्।

माओवादी केन्द्रबाट संसदीय दलको उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी रहेका छन्। संसदीय दलको उपनेताको जिम्मेवारीमा दलको नेता अनुपस्थिति हुँदा संसदीय दल बैठकको अध्यक्षता गर्ने हुन्छ। दलको नेता अनुपस्थिति बैठकबाट निर्णय गर्नुपरे समन्वय गर्ने अधिकार उपनेतालाई रहेको हुन्छ।

संसदीय दलको नेता माथिको अविश्वास प्रस्ताव आएको अवस्थामा छलफल गर्नुपर्दा उक्त बैठकमा अध्यक्षता उपनेताले गर्नुपर्ने व्यवस्था छ। १४ दल रहेको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनमतले भने दलको उपनेता चयन गरेका छन्। संसद्को चौथो ठूलो शक्ति रास्वपाले उपनेतामा विराजभक्त श्रेष्ठलाई चयन गरेको छ।

राप्रपामा बुद्धिमान तामाङलाई संसदीय दलको उपनेता बनाएको छ। एकीकृत समाजवादीमा दलको उपनेता राजेन्द्रप्रसाद पाण्डे रहेका छन्। जनमत पार्टीमा अब्दुल खान दलको उपनेता छन्।