तीन दिनअगावै भित्रियो मनसुन, १८ लाख मानिस प्रभावित हुने आँकलन

तीन दिनअगावै भित्रियो मनसुन, १८ लाख मानिस प्रभावित हुने आँकलन

काठमाडौं। यस वर्षको मनसुन नेपाल भित्रिएको छ। कोशी प्रदेशस्थित पूर्वी भागबाट सोमबार नेपालमा मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सरदर मितिभन्दा तीन दिन पहिले मनसुन भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।

पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तीमा पाँच दिन लाग्ने विभागको अनुमान छ। मनसुन विस्तारै पूर्वबाट पश्चिमतिर बढ्दै गएको विभागले जनाएकाे छ। पूर्व नेपालबाट भित्रिएको मनसुन केही दिनमा क्रमिक रूपमा देशका अन्य भेगमा प्रवेश गर्ने मौसमविद् सञ्जीव अधिकारीले बताए। ‘नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो। तर, वायुको वेगमा पनि यो भरपर्छ । हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भरपर्ने हुन्छ,’ उनले भने, ‘पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्नसक्छ।’

पूर्वी भूभागहरूबाट मनसुन भित्रिए पनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ। काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी भएको छ। पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको विभागले जनाएको छ । पश्चिम तराईमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको विभागले जनाएको छ। यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन छ।

सरदरभन्दा बढी वर्षा हुने
 

यसपालिको सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ। यसपालि देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जल तथा मौसम विज्ञान विभागले आँकलन गरेको छ।

सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेश प्रदेशको मध्यभूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।

गत वर्षको मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको थियो। गत वर्ष जेठ १८ देखि असोज १३ गते सम्मको अवधिमा एक हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो । चार महिनाको अवधिमा एक हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११.५ प्रतिशत कम मिलिमिटर वर्षा भएको विभागले बताएको थियो।

देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले आँकलन गरेको छ। त्यस्तै, कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्यभूभाग र कोशी प्रदेशको उत्तर-पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ ।

यस्तै, देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रशितशत रहेको छ । सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ।

१८ लाख मानिस प्रभावित हुने आँकलन
 

यसपालि मनसुनजन्य विपद्बाट नेपालमा १८ लाख मानिसहरू प्रभावित हुने आँकलन छ । मनसुनजन्य विपद्बाट कुनै न कुनै रूपमा चार लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए ।

१८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने प्राधिकरणको आँकलन छ । मनसुनजन्य विपद्बाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान छ । कोशी प्रदेशमा चार लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ ।

एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । मधेशमा चार लाख २९ हजार ४०४ जना र ९८ हजार २६२ घरधुरी प्रभावित हुने आँकलन छ । लुम्बिनी प्रदेशमा पनि मनसुनजन्य विपद्बाट तीन लाख ३६ हजार ५५८ जना प्रभावित हुने आँकलन छ ।

बागमतीमा एक लाख ४५ हजार ८८३ जना प्रभावित हुने अनुमान गरिएको छ । गण्डकीमा एक लाख १० हजार ५५४ जना र २५ हजार २९८ घरधुरी प्रभावित हुने आँकलन छ । कर्णाली प्रदेशमा ५० हजार ४६४ जना प्रभावित हुने प्रक्षेपण छ भने सुदूरपश्चिममा मनसुनजन्य विपद्बाट दुई लाख ३३ हजार १९० जना र ५३ हजार ३६२ घरधुरी प्रभावित हुने आँकलन छ ।