अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता, सभामुख नबनाउन माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभाको सभामुखपदमा निर्वाचिन हुने प्रकृयामा रहेका सापकोटा विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

त्रिपाठीले दायर गरेको रिट निबेदनमा कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको माग गरीएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गरेका छन् ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवारी परेपछि उनि सभामुख हुने पक्का भएको थियो । माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ ।

सर्वोच्च अदालत स्रोतले त्रिपाठीद्वारा दायर रिट दर्ता भइसकेको जनाएको छ । सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकताविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।